प्रहरी हिरासतमै मृत्यु प्रकरण : जाहेरी लिन मान्दैन प्रहरी, आन्दोलनको चेतावनी



 

 

बाँकेका राम मनोहर यादवको प्रहरी हिरासतमै मृत्यु भएको विषयलाई लिएर मधेसमा आक्रोश बढ्दै गएको छ । मृत्यु भएको नौ दिन बित्न लाग्दा पनि यादवको शव पोस्टमार्टम पनि हुन सकेको छैन ।प्रहरीले जाहेरी समेत लिन नमानेपछि आक्रोश झनै बढेको छ । दिनहुँजसो मधेसका विभिन्न जिल्लामा श्रद्धाञ्जली सभा हुन्छन् ।

 

प्रहरीले जाहेरी लिन नमानेपछि पीडित पक्षको तर्फबाट मानवअधिकार आयोगमा उजुरी परेको छ । सिरहा गोलबजारका मेकानिकल इञ्जिनियर रामेश्वरप्रसाद सिंह लगायतले २० भदौमा जाहेरी दर्ता तथा शव परीक्षण गर्नका लागि पहल गरिदिन भन्दै आयोगमा निवेदन दिएका हुन् ।

 

‘प्रहरी हिरासतमा मृत्यु भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गरी पाउँ भनी जाहेरी दर्ता गर्न जाँदा प्रहरीले जाहेरी दर्ता गर्न इन्कार गरी हालसम्म पनि मृतकको शव परीक्षण नगरिएकाले अन्तिम संस्कार समेत हुन सकेको छैन । मृतकका आमाबुवा, श्रीमती, छोराछोरी खाना समेत खाइरहेका छैनन्,’ आयोगमा दर्ता गराइएको निवेदनमा उल्लेख छ ।

 

पक्राउ परेका बेला गरिएको स्वास्थ्य परीक्षण रिपोर्टमा उनको स्वास्थ्य अवस्था ठीक रहेको देखिन्छ । तर एक्कासि उनको मृत्यु भएपछि परिवार र आफन्तजन गहिरो शोकमा छन् । प्रहरीको चरम यातनाले मृत्यु भएको हुनसक्ने उनीहरूको अनुमान छ ।

 

सिंहका अनुसार पीडित परिवार महानगरीय प्रहरी परिसर काठमाडौं, प्रहरी हेडक्वार्टर नक्साल तथा जिल्ला प्रहरी कार्यालय बर्दियामा पनि जाहेरी सहित पुगेका थिए । तर प्रहरीले जाहेरी लिन मानेन ।

 

सामान्य रूपमा शवको पोष्टमार्टम गरियोस् भन्ने खालको जाहेरी लिएर आए मात्र दर्ता हुने प्रहरीको जीकिर छ । छानबिन गरी दोषीलाई कारवाही गरिनुपर्ने भन्ने बेहोरा सहितको जाहेरी दर्ता गराउन खोज्दा पीडित घटना भएको १० दिन हुँदा पनि शवको पोस्टमार्टम हुन नसकेको सिंह बताउँछन् ।

शव जति पुरानो हुँदै जान्छ त्यति नै यातना दिइएको भन्ने प्रमाण नष्ट हुनसक्ने भएकाले शव पोस्टमार्टममा ढिलाइ गरिएको उनको आरोप छ ।

 

यादवको शव काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । मृतकका माइला भाइ विष्णुप्रसाद यादव शव बुझ्नका लागि काठमाडौंमै छन् ।

 

बाँकेको जानकी गाउँपालिका– ६ गनापुर कपासी घर भएका ३० वर्षीय यादवको प्रहरी हिरासतमा रहेका बेला १६ भदौमा मृत्यु भएको थियो । प्रहरी हिरासतमा रहँदा स्वास्थ्यमा गडबडी देखिएपछि काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रप्रसाद मैनालीले बताएका छन् ।

 

‘हिरासतमा रहेका बेला स्वास्थ्यमा समस्या देखिएपछि शुरूमा स्थानीय जिल्ला अस्पताल गुलरियामा लगिएको थियो । त्यहाँबाट नेपालगञ्ज नर्सिङहोम हुँदै काठमाडौं पुर्‍याइयो,’ एसपी मैनालीले भने, ‘स्वास्थ्यमा पहिले खासै समस्या त देखिएको थिएन । मृत्युको कारण रिपोर्ट आएपछि स्पष्ट होला । तर उच्च रक्तचाप मृत्युको कारण हुन सक्ने सम्भावना छ ।’

 

यता सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनले प्रहरीले यादवलाई हिरासतमा चरम यातना दिएका कारण मृत्यु भएको भन्दै घटनाको उच्चस्तरीय छानबिन समिति गठन गरी घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग गरेको छ ।

 

मृतक यादवलाई शहीद घोषणा गरिनुपर्ने, मृतक परिवारलाई क्षतिपूर्ति स्वरूप राहत वितरण गर्नु पर्ने, प्रहरी उपरीक्षक तथा प्रमुख जिल्ला अधिकारीलाई कारवाही गरिनु पर्ने लगायतका माग राखेका छन् ।

 

प्रहरीको भनाइ 

१७  भदौमा गृह मन्त्रालय  १३ भदौको राति  हिरासतमा यादवको हातखुट्टा नचल्ने भएको थियो । यादवलाई जिल्ला अस्पताल गुलरियामा भर्ना गरेपनि उपचार सम्भव नभएपछि थप उपचारका लागि बिहीवार भेरी अञ्चल अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो । भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले यादवलाई आईसीयूमा राख्न निर्देशन दिएका थिए । त्यसपछि यादवलाई काठमाडौं पठाइएको थियो ।

 

किन पक्राउ परेका थिए ?

यादवसहित हरपाल सिंह, इरफान शेख र राजितराम बर्मालाई प्रहरीले भदौ ७ गते बिहीवार जिल्ला समन्वय समिति बर्दियाको सभा कक्षमा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको उपस्थितिमा भएको एउटा कार्यक्रमबाट पक्राउ गरेर राज्य विप्लवको मुद्दा लगाइ हिरासतमा राखेको थियो । पक्राउ परेकामध्ये हरपाल सिंह, इरफान शेख र राजितराम बर्मा जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमै छन् ।

 

उपप्रधानमन्त्री यादवलाई स्वतन्त्र मधेस गठबन्धनका ती कार्यकर्ताहरूले कार्यक्रममा अवरोध पुर्‍याउन सक्ने, यादवलाई कालो झण्डा देखाउन सक्ने, शहीदहरूको शहादत तथा तिनको बलिदानीबारे प्रश्न गर्नसक्ने पूर्व तयारीका साथ कार्यक्रममा सहभागी भएका कारण उनीहरूलाई पक्राउ गरिएको थियो ।

उक्त घटनापछि मधेसमा उपेन्द्र यादवको समेत आलोचना भइरहेको छ ।

 

उच्चस्तरीय छानबिन गर्न सांसदहरूको माग 

राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका सांसद जीतेन्द्रनारायण देवले बर्दियामा मन्त्रीलाई कालो झण्डा देखाउँदा राम मनोहर यादव मारिनु र शव परीक्षण समेत नगरिनु आपत्तिजनक भएको बताएका छन् । त्यसैगरी प्रतिनिधि सभाको बैठकमा समेत विभिन्न सांसदहरूले घटनाको छानबिन गरी दोषीलाई कारवाही गरिनुपर्ने माग गरेका छन् ।

 

नेपाली कांग्रेसका सांसद डा. अमरेश कुमार सिंहले गत बुधबारको बैठकमा विशेष समय लिएर घटनाको विभागीय होइन, न्यायिक छानबिन हुनुपर्ने माग राकेका थिए । ‘कस्टडी भनेको सरकारले जिम्मा लिनु हो । जिम्मा लिएको अवस्थामा मान्छे मारिएको छ । घटनाको छानबिन गरी दोषीलाई कारवाही गरिनुपर्छ,’ सिंहले भनेका थिए ।

 

त्यसैगरी कांग्रेसकै अन्य सांसदहरू तेजुलाल चौधरी, भारत साह, संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक उमाशंकर अरगरिया, राजपा नेपालका सांसद प्रमोद साह लगायतले प्रतिनिधि सभाको बैठकमा घटनाको उच्चस्तरीय छानबिन हुनुपर्ने माग गरेका थिए ।

 

गृह मन्त्रालयको जवाफ 

हिरासतमा रहेको समयमा अस्वस्थ्य भएका राम मनोहर यादवको उपचारका लागि अधिकतम प्रयत्न गर्दा गर्दै पनि निजको मृत्युको विषयलाई लिएर प्रहरीको हिरासतमा मृत्यु भएको, यातना दिइएको, मानवोचित व्यवहार नगरिएको जस्ता विषयहरू समाचार माध्यममा आएकोमा यसमा कुनै सत्यता नरहेको गृह मन्त्रालयले जनाएको छ ।

 

 

१७ भदौमै गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीद्वारा जारी विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ । ७ भदौमा बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ५ स्थित जिल्ला समन्वय समिति बर्दियाको सभा कक्षमा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव सहभागी रहेको कार्यक्रममा अवरोध पुर्‍याउने उद्देश्यले हुलहुज्जत गरी कालो झण्डा देखाउने र विखण्डनसम्बन्धी नारा लगाउने राम मनोहर यादव समेत चार जनालाई प्रहरीले  नियन्त्रणमा लिएको गृह मन्त्रालयले खुलाएको छ ।

 

जिल्ला अदालत बर्दियाबाट प्रथमपटक ७ दिनको म्याद थप भई अनुसन्धान भइरहेको अवस्थामा १४ भदौमा बिहान ६ः१५ बजेको समयमा एक्कासि बिरामी भई बेहोस भएका थिए । प्रहरीले तत्कालै जिल्ला अस्पताल गुलरिया पुर्‍याएकोमा सो अस्पतालले भेरी अञ्चल अस्पताल नेपालगञ्ज लैजान सिफारिश गरेको थियो ।

 

उक्त अस्पतालमा सघन उपचार कक्ष नहुँदा अस्पतालको सिफारिशमा यादवलाई नेपालगञ्ज मेडिकल कलेज बाँकेमा उपचारार्थ लगिएको मन्त्रालयले जनाएको छ ।

 

त्यहाँ पनि उपचार हुन नसकी १५ भदौमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मेडिकल सामग्री सहित स्वास्थ्यकर्मी गयाप्रसाद चौधरी, यादवका नातेदार दीपाक पासी र प्रहरी सहायक निरीक्षक निमबहादुर राउत समेतको टोली पठाइएकोमा यादवको मृत्यु उपचारार्थ रहेकै अवस्थामा त्रिवि अस्पतालमा १६ भदौमा भएको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

यसअघि पनि प्रहरीले यादवलाई पटक–पटक पक्राउ गर्ने गरेको स्वतन्त्र मधेस गठबन्धनका प्रवक्ता अब्दुल खानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘यसभन्दा अगाडि २०७२ चैत्र ६ गते नेपालगञ्जको महेन्द्रपार्कबाट समातेर यादवसहित ८ जनामाथि नेपाल सरकारले राज्य विप्लवको मुद्दा चलाएको थियो । सो मुद्दामाथि सुनुवाइ गर्दै विशेष अदालतले २०७४ फागुण ३ गते सफाइ दिएको थियो ।

 

२०७३ मंसिर १० गते पनि स्वतन्त्र मधेस गठबन्धनले नेपालगञ्जमा आयोजना गरेको ‘रंगभेदी दिवस’को अवसरमा यादवलाई नेपाल प्रहरीले गिरफ्तार गरी मंसिर १२ गते मात्रै छोडेको थियो,’ विज्ञप्तिमा लेखिएको छ ।

 

‘त्यसैगरी, २०७४ साल असार २ गते पनि स्थानीय निर्वाचन अगाडि ‘नो भोट’को प्रचारप्रसार गरेको आशंकामा यादवलाई नेपाल प्रहरीले पक्राउ गरेको थियो । सो मुद्दामा उच्च अदालत तुलसीपुरको आदेशमा असार १९ गते यादवलाई रिहा गरिएको थियो ।’

 

प्रहरीले हिरासतमा यातना दिएका कारण मृत्यु भएको भन्दै जिल्ला प्रहरीविरुद्ध दर्ता गरेको यातना तथा क्षतिपूर्ति मुद्दा समेत बाँके जिल्ला अदालतमा विचाराधीन छ ।

 

स्वतन्त्र मधेस गठबन्धनले यादवलाई शहीद घोषणा गर्नुपर्ने, यादवको परिवारलाई क्षतिपूर्ति दिनुका साथै उनका बच्चाको भविष्य राज्यले सुरक्षित गर्नुपर्ने तथा बर्दिया जिल्लाको प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक सहित संलग्न दोषी प्रहरीलाई कारबाही गर्नुपर्ने मांग गरेको लोकान्तरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल

चितवन रविको स्टन्टबाजीको शिकार भयो : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले पटक पटक नेपालको लोकतान्त्रिक परिवर्तनको अगुवाइ

रास्वपा हावादारी हो, उसको कुनै योजना छैन : राजेन्द्र लिङदेन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी उपनिर्वाचनमा आम

अराजक क्रियाकलापलाई मौलाउन दिन्नँ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र