घरमै सुत्केरी गराउँदा अधिक रक्तश्रापका भई आमाको मृत्यु



हाम्रो इकोनोमि

सिन्धुलीको फिक्कल गाउँपालिका–२ पोखरीकी एक युवतीको घरमा नै सुत्केरी हुँदा मृत्यु भएको छ।  स्थानीय रनबहादुर न्यौपानेकी २० वर्षीया पत्नी रमिला बुढाथोकीको घरमा नै सुत्केरी हुने क्रममा अत्यधिक रक्तस्राव भएर मृत्यु भएको हो।

आर्थिक अवस्था कमजोर भएको र सहयोगी नहुँदा घरमै सुत्केरी गराउँदा अत्यधिक रक्तस्राव भएर १३ दिनअघि बुढाथोकीको मृत्यु भएको हो।  बुढाथोकीले घरमै छोरी जन्माएको दुई घण्टामा मृत्यु भएको उनका पति न्यौपानेले बताए।  ‘छोरीको जन्म भएपछि अत्यधिक रक्तस्राव भयो।  साथी पनि झरेन’, पत्नीको मृत्युबारे न्यौपानेले बताए, ‘अस्पताल लैजाने तयारी गर्दागर्दै उनको प्राण गयो। ’ एकान्तमा रहेको एक्लो घर र परिवारमा वृद्ध बाआमाबाहेक कोही नहुँदा पत्नीलाई उपचारका लागि समयमा अस्पताल पु¥याउन नसकेको उनले बताए।

‘दैनिक बनिबुतो गरेर परिवार पाल्दै आएको थिएँ।  केही दिनअघि मात्र स्थानीय स्वास्थ्य संस्थामा गर्भ जाँच गराउँदा राम्रै छ भनेका थिए।  अस्पताल लैजान पैसा भएन, कतैबाट सहयोग पनि पाइनँ।  सानो गल्तीले आज पत्नी गुमाउनु परेको छ।  छोरीको पनि बिजोग भयो।  पत्नी गुमाएपछि छोरी बचाउन समेत मुस्किल भएको छ’, उनले भने।

सडक नहुँदा गाउँसम्म एम्बुलेन्स र गाडी पुग्दैनन्।  स्थानीय स्वास्थ्य संस्थामा पुग्न दुई घण्टा हिँड्नु पर्छ।  सरकारले सुरक्षित प्रसूति सेवाका लागि गाउँगाउँमा बर्थिङ सेन्टर सञ्चालन गरे पनि व्यवहारमा सुविधा छैन।  आमाको मृत्युपछि शिशुको बिजोग भएको स्थानीय बताउँछन्।  गरिबी र अभावले आमाको मृत्यु भयो।  नवजात बचाउन सके पनि हुन्थ्यो, बचाउन निकै समस्या भएको गुनासो न्यौपानेले गरेको अगुवा युवा गौरव कार्कीको भनाइ छ।  ‘नवजातका लागि न्यानो कपडा, पौष्टिक दूध तथा अन्य स्याहार अभाव हुँदा शिशु बचाउन कठिन भएको छ’, कार्कीले भने।

१३ दिनकी नवजातलाई पर्याप्त न्यानोमा समेत राख्न सकिएको छैन।  अहिले दूधपिठो पानीमा घोलेर खुवाइ राखिएको छ।  ‘गाउँमा सकेसम्म सबैले सहयोग गरे पनि नवजातलाई बचाउन पर्याप्त छैन।  कुनै दाताको सहयोग पाए बच्चालाई बचाउन सकिन्थ्यो कि’, कार्कीले भने।  नवजातका बुवा न्यौपाने तथा युवा अगुवा कार्कीले शिशुलाई बचाउन शिशु स्याहार केन्द्रमा राख्न र स्थानीयसँग सहयोगका लागि अनुरोध गरेका छन्।

स्थानीय सरकारले घोषणा गरेको गाउँगाउँमा गर्भवतीलाई स्वास्थ्य चौकीमा गर्भ जाँच गर्न, सुत्केरी हुन प्रोत्साहन गर्ने, एम्बुलेन्स सेवा निःशुल्क दिने, न्यानो झोलालगायत कुनै पनि सुविधा बुढाथोकीले पाइनन्।  अशिक्षा र आर्थिक अभाव झेलेको बुढाथोकी परिवारलाई सहयोग गर्न स्थानीयले सबैसँग आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...