बालाजुमा गणेश लामाको ८ करोडको होटल, नेटवर्किङ व्यवसायमा पनि लगानी



 

‘गुन्डा नाइके’ गणेश लामाको नाममा थप करोडौं सम्पत्ति फेला परेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले राजकुमार दंगालका नाममा लामाले बालाजुमा ८ करोड ३० लाख २५ हजार रुपैयाँ बराबरको होटल किनेको भेटाएको हो।

 

सम्पत्ति शुद्धिकरण मुद्दा खेप्दाखेप्दै लामाले आपराधिक गतिविधिको कमाइले होटल किनेको ब्युरोले जनाएको छ। ब्युरोका अनुसार काभ्रेकै दंगालको नाममा लामाले बालाजुमा ‘बोस होटल’ किनेका हुन्। सम्पत्ति शुद्धिकरणबाट चोख्याउन लामाले उक्त होटल दंगालका नाममा राखेको पाइएको अनुसन्धानमा संलग्न एक अधिकारीले सेतोपाटीलाई जानकारी दिए।

 

एक वर्षअघि गैरकानुनी नेटवर्किङ व्यवसायमा दंगाल पक्राउ परेपछि यो रहस्य खुलेको हो। दंगालले सञ्चालन गरेको नेटवर्किङ व्यवसाय नियन्त्रण क्रममा अनुसन्धान गर्दा प्रहरीले लामा-दंगाल ‘कनेक्सन’ पत्ता लगाएको थियो। त्यसयता दंगाल सम्पत्ति शुद्धिकरणमा मुद्दा धाइरहेका छन्।

 

होटल रहेको जमिन लामाले सम्पत्ति शुद्धिकरण मुद्दा खेपिरहेकै बखत दंगालका नाममा राखेको ती अधिकारीले बताए। कम्पाउन्ड र पार्किङसहितको उक्त होटल सुविधासम्पन्न छ।

 

बालाजु प्रहरीका अनुसार लामाबाट खरिद गरेको उक्त होटल दंगालले आनन्द पुनलाई पास गर्न खोजेका थिए। यही सिलसिलामा दंगाललाई केन्द्रीय अनुसन्धान ब्युरोले समातेको थियो।

 

यसबीचमा लामाले आफन्त तथा नातेदारका नाममा पनि सम्पत्ति जोडेको भेटिएको छ। सम्पत्ति शुद्धिकरण मुद्दामा विशेष अदालतबाट लामा दोषी ठहर भइसकेका छन्। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पाँच वर्षअघि दायर गरेको मुद्दामा विशेष अदालतले साउन २४ गते दोषी ठहर गर्दै एक वर्षको सजाय सुनाएको थियो।

 

लामाले ग्रान्ड ओरिएन्टल अपार्टमेन्टमा ८० लाखमा फ्ल्याट नामसारीका लागि गरेको कागज पनि फेला परेको छ। नातेदार उर्मिला लामालाई फ्ल्याट बेच्न नामसारी गरेको कागज फेला परेपछि ब्युरोले थप अनुसन्धानका लागि सम्पत्ति शुद्धिकरणमा लेखी पठाएको छ।

 

अनुसन्धानमा लामाले गैरकानुनी नेटवर्किङ व्यवसायमा पनि लगानी गरेको देखिएको छ। एक वर्षअघि पक्राउ परेका नेटवर्किङ व्यवसायीमाथि अनुसन्धान गर्दा नेटवर्किङ व्यवसायमा लामाको ‘कनेक्सन’ देखिएको हो।

 

ब्युरोले एक वर्षअघि ७ जना नेटवर्किङ व्यवसायीलाई समातेको थियो। उनीहरूमाथि अनुसन्धान गर्दा लामाको थप सम्पत्तिसँगै अदृश्य लगानी भेटिएको हो।

 

संगठित अपराध ऐन तथा सम्पत्ति शुद्धिकरणका लागि ब्युरोले सातै जनाविरुद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा प्रस्तावित राय पठाइसकेको छ। प्रस्तावित रायमा लामाले अरूका नाममा राखेको सम्पत्ति र नेटवर्किङ व्यवसायमा अदृश्य लगानीको विवरणमाथि आवश्यक अनुसन्धान गर्न विभागलाई लेखी पठाइएको छ।

 

ब्युरोमा प्रहरी नायब महानिरीक्षक पुष्कर कार्की प्रमुख हुँदा २०७४ वैशाख ४ गते सात जना नेटवर्किङ व्यवसायी पक्राउ परेका थिए। पक्राउ परेकामध्ये नेटवर्किङ व्यवसायीका नाइके राजकुमार दंगाल बस्ने गरेको ग्रान्ड ओरिएन्टल अपार्टमेन्टमा छापा मार्दा लामाले सम्पत्ति लुकाउन खोजेको फेला परेको थियो।

 

‘दंगाल बसेको अपार्टमेन्ट फ्ल्याटबारे खोजी गर्दा उक्त अपार्टमेन्टका सञ्चालक सुधीर बस्नेतले लामाले उर्मिलाको नाममा नामसारी गराएको कागज फेला परेको हो,’ ब्युरो स्रोतले सेतोपाटीसँग भन्यो, ‘त्यो कागजबारे अनुसन्धान गर्दा लामाले सम्पत्ति मुद्दा खेप्दाखेप्दै पनि गैरकानुनी गतिविधि सञ्चालन गरेको पाइयो।’

 

ब्युरोका अनुसार काभ्रेका दंगाल चाबहिलस्थित आइबोस ग्लोबल नेटवर्किङ व्यवसाय चलाउँथे। दंगाल पक्राउ पर्दा लामाले नामसारी गराएको कागज फेला परेको थियो। यसहिसाबले लामाले नजिकका व्यक्तिमार्फत नेटवर्किङ व्यवसायमा लगानी गरेको ब्युरोको दाबी छ।

 

नेटवर्किङ व्यवसायीमा संलग्न दंगालसहित नारायण शिवाकोटी, कृष्ण सुनुवार, प्रदीप राई, पूर्णबहादुर श्रेष्ठ, तिर्सना सुनुवार र रबिन नेपालीलाई ठगी मुद्दा चलाइएको थियो। दंगालसहितका व्यक्तिका नाममा अस्वाभाविक सम्पत्ति फेला परेपछि ब्युरोले थप अनुसन्धानका लागि सम्पत्ति शुद्धिकरण विभागमा लेखी पठाएको हो।

 

सबै जनाको सम्पत्तिबारे विभागले अनुसन्धान गरिरहेको छ।

 

यो पनि पढ्नुस् :

 

कसरी बने गणेश लामा २७ करोड सम्पत्तिका मालिकरु

‘सामान्य आयआर्जन भएका दंगालले करोडौं रुपैयाँ कारोबार गरेको फेला परेपछि अनुसन्धान सुरू गरियो,’ ब्युरो स्रोतले भन्यो, ‘तर, सम्पत्तिको स्रोत कतैबाट खुलेन, दंगाल बस्ने फ्ल्याटमा गणेश लामाका कागजात भेटिए।’

 

प्रहरीको प्रस्तावित रायअनुसार राजकुमार दंगालको नाममा सञ्जीवनी वेलनेशमा ५० लाख, नेपाल चाइना ट्रेडमा ७ लाख ५० हजार, इगल ट्राभल एन्ड होलिडेमा ३ लाख, पायल रेस्टुरेन्ट एन्ड बारमा ९ लाख ५० हजार, आइबोस ग्लोबल नेटवर्किङमा १ करोड ५० लाख, रिच क्रिम ट्राभलमा १० लाख गरी लामाको नाममा २ करोड ३० लाख लगानी फेला परेको छ।

 

यसैगरी, दंगालकी श्रीमती सरिता गुनीको नाममा सञ्जीवनी वेलनेशमा ५० लाख, ग्लोबल बिगबोस क्याफे एन्ड दोहोरी साँझमा १० लाख, होटल बोस प्रा।लि।मा ५० लाख रुपैयाँ स्रोत नखुलेको सम्पत्ति फेला परेको छ।

 

राजकुमारकै नाममा जुजुबा लञ्च बारमा १२ लाख, उनकी आमा गोमादेवी दंगालको नाममा काजीसाँखु पालुबारीमा २ रोपनी जग्गा, गोठाटारमा ५ आना, ३६ लाखको गाडी, बाबु कृष्णप्रसादको नाममा पाँचखालमा १० रोपनी जग्गा फेला परेको छ। यसैगरी, धुलिखेल रिसोर्टमा ८० लाख, कार्गो इन्भेस्टमेन्टमा ५० लाख लगानी राजकुमारको नाममा छ।

 

यस विषयमा जिज्ञासा राख्दा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका सूचना अधिकारी विनोद लामिछानेले सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा धेरै जनामाथि अनुसन्धान भइरहेको हुन्छ, यस्ता कुरा गोप्य रहने हुँदा सार्वजनिक गर्न नमिल्ने बताए।

 

तत्कालीन ब्युरो प्रमुख पुष्कर कार्कीका अनुसार लामाको प्रत्यक्षरपरोक्ष आर्जित सम्पत्तिबारे अनुसन्धानका लागि पठाइएको हो।

 

‘विभागले थप अनुसन्धान अगाडि बढाएको खण्डमा ब्युरोले समन्वय साथै अनुसन्धानमा पनि सघाइरहेको अवस्था हो,’ कार्कीले भने।

 

कसुर ठहरिने अवस्था रहेमा सम्पत्ति शुद्धिकरण विभागले विशेष अदालतमा मुद्दा दर्ता गर्ने गर्छ। अदालतले अनुसन्धानको अंग पूर्ण भएपछि अदालतमा मुद्दा दायर गर्छ।

 

सम्पत्ति शुद्धिकरण निवारण ऐन २०६४ अनुसार राजश्व छली, सङ्गठित अपराधको आर्जन, आतंककारी क्रियाकलापमा लगानी, हातहतियार खरखजना, विदेशी विनिमय नियमित गर्नेलगायत कसुरमा सम्पत्ति शुद्धिकरण गर्न सक्ने व्यवस्था छ।

 

उक्त कानुनअनुसार विभागले अनुसन्धानका लागि थुनामा राख्ने, सम्पत्ति रोक्का राख्न आदेश दिनसक्ने र अनुसन्धान पूरा भएपछि मुद्दा दायर गर्ने गर्छ। आतंककारी क्रियाकलापमा लगानी गर्नेलाई एकदेखि पाँच वर्षसम्म कैद हुनसक्छ। अवैध आर्जनमा एकदेखि चार वर्षसम्म सजाय, सम्पत्ति जफत, कसुरअनुसार बिगोको दोब्बर असुल्न सक्ने कानुनी व्यवस्था छ।

 

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल