बुहारी होइन छोरा भित्र्याइन्छ यहाँ, यस्तो छ कँही नभएको चलन



हाम्रो इकोनोमि

 

वेदकोट–१० की रिना चौधरीले २५ वर्षकै उमेरमा पति गुमाइन् । त्यसपछि उनलाई आफ्नोभन्दा पनि छोरा कसरी हुर्काउने भन्ने पिरलो थपियो । आम्दानीको स्रोत नभएकाले खानलाउन धौधौ हुन थाल्यो । बुढ्यौलीले छोएपछि सासूससुरा पनि सहारा दिन सक्ने अवस्थामा थिएनन् । व्यावहारिक समस्याले घेरिएकै बेला रिनालाई आफ्नै समुदायको एउटा परम्परा सहारा बनिदियो ।

 

डगौरा थारू समुदायको ‘भोरुवा राख्ने’ परम्पराले रिनालाई पुनर्जीवन दिएको हो । उनको परिवारले जिल्लाकै शुक्लाफाँटा नगरपालिकाको नौखुरी शिविरका फूलरामलाई दुलहीझैं घर भित्र्यायो । फूलरामलाई छोरा बनाएर रिनाको विवाह गराइदिए । ससुरा लक्ष्मणले पछिल्ला दिन हराउँदै गएको परम्परा बुहारीकै लागि अघि बढाए । ‘यो परम्पराले मेरा टुहुरा नातिले बुबा मात्रै पाएनन्, मैले छोरा पनि पाएँ,’ रिनाकी सासू पार्वतीले भनिन्, ‘अहिले घरमा कमाउने र खेतीको काम गर्ने जिम्मा उसैको काँधमा छ ।’

 

कलुराम बितेपछि बुबा लक्ष्मणले नौखुरीबाट फूलरामलाई ल्याएर परम्पराअनुसार छोरा बनाए । बुहारीसँग विवाह गराइदिए । जवान बुहारीलाई एकल राख्नु हुँदैन भनेर छोरा बनाएर विवाह गराएको पार्वतीले बताइन् । पार्वतीले फूलरामलाई पूजाकोठामा देवताको थानमै लगेर काखमै बसाएर दूधभात खुवाएर छोरा बनाएकी हुन् । ‘बूढाले खोजेर ल्याएपछि बुहारी र छोराले एकअर्कालाई मन पराए,’ उनले भनिन्, ‘त्यसपछि हामीले परम्पराअनुसार काम गर्‍यौं ।’ अहिले फूलराम रोपाइँ सकेर कामका लागि भारतको सिमला गएका छन् ।

 

लक्ष्मण र पार्वतीका अर्का छोरा पनि छन् । तर यो दम्पती फूलरामसँगै बस्छ । जेठो छोराभन्दा बढी रेखदेख र माया पनि फूलरामले गर्ने गरेको उनीहरूले बताए । मिहिनेत गर्ने भएकाले खानलाउने समस्या पनि टरेको छ । उनीहरूसँग घडेरीका लागि मात्रै जमिन छ । फूलरामले डेढ बिघा जमिन अधियाँ कमाउँछन् । खेतीको काम सकेपछि कामका लागि भारत जान्छन् ।

वेदकोट–७ वसन्तपुरकी कलावतीदेवी डगौराको पनि यही परम्पराअनुसार पुनर्विवाह भएको छ । २०, २२ वर्षकै उमेरमा पति इन्द्र बहादुरको मृत्यु भएपछि उनको अवस्था पनि रिनाको जस्तै थियो । कलिला बालबालिका हुर्काउनेदेखि वृद्ध सासूससुराको रेखदेख गर्ने जिम्मेवारी कलावतीकै काँधमा आइलाग्यो । एक मात्र छोराको मृत्युको ६ वर्षपछि बुबा इन्द्रजितले छिमेकी गाउँका जोगरामलाई परम्पराअनुसार छोरा बनाएर बुहारीको विवाह गराइदिए ।

 

उनले पनि जोगरामलाई काखमा बसाएर दूधभात खुवाएर छोरा बनाएका हुन् । पहिलो पतिका तर्फबाट २ छोरा र २ छोरी छन् । सबैलाई पढाउने काम जोगरामकै काँधमा छ । एउटा छोरा र २ छोरीको विवाह पनि उनले नै गरिदिए ।

 

इन्द्रबहादुरको मृत्युपछि कलावतीका भिनाजुले जोगरामसँग कुरा चलाइदिएका थिए । त्यो कुरा कलावतीका ससुरा इन्द्रजितलाई पनि मन पर्‍यो । कलावतीको पीडा र कलिला बालबालिका देख्दा जोगरामलाई पनि सहानभूति जाग्यो । उनले कलावतीका भिनाजुको प्रस्ताव अस्वीकार गर्न सकेनन् । ‘घरमा थाहै नदिएर म यतै छोरा भएर बसें,’ उनले भने, ‘मेरा लागि यतैका आमाबुबा भए । उनीहरूको काजकिरिया पनि मैले नै गरें ।

 

पहिलो घरसँगको सबै सम्बन्ध विच्छेद भयो ।’ जोगरामका २ भाइ छन् । उनीहरूसँग उठबस चल्छ । अहिले पनि भेटघाट भइरहन्छ । तर, उनले पुरानो घरबाट न त कुनै अंश लिएका छन्, न त्यहांँ जान्छन् । त्यहांँ बिहेबारी पनि नहुने उनले बताए । ‘अहिले हाम्रो परिवार सुखी छ,’ कलावती भन्छिन्, ‘उहाँ नभएको भए अहिले मेरो हालत कस्तो हुन्थ्यो, अनुमान पनि गर्न सक्दिनँ ।’

 

डगौरा थारू समुदायको यो परम्परा धेरै पुरानो हो । सुरुमा एक मात्र छोरा हुने परिवारले यस्तो परम्परा अपनाएको यो समुदायका अगुवाले बताए । पछिल्ला वर्षमा यो परम्परा हराउँदै गएको छ । ‘यो परम्पराले एकल महिलालाई ठूलो साथ र सहयोग पुगिरहेको छ,’ वेदकोट–७ का वडाध्यक्ष वीरबहादुर डगौराले भने, ‘अहिले यो परम्परा हराउँदै गएको छ ।’

 

मानव अधिकारकर्मी इन्द्रा चौधरीका अनुसार विगतमा दुई तरिकाले पुरुषलाई घरमा भित्र्याउने परम्परा थियो । बुहारी कलिलैमा एकल भए विवाह नभएको पुरुषलाई दुलही बनाएर बुहारीलाई छोरा मानेर विवाह गरिदिने चलन थियो । अर्को छोरा मानेर भित्र्याउने । अहिले यी दुवै परम्परा घटदै गएको उनले बताइन् ।

कसरी भित्र्याइन्छ छोरा

छोराको मृत्युपछि बुहारीलाई एकल हुन नदिन डगौरा थारू समुदायमा छोरा भित्र्याउने चलन छ । यसलाई ‘भोरुवा’ राख्ने चलन भनिन्छ । छोराको मृत्युपछि आमाबुवाले अर्को विवाह नभएको पुरुषको खोजी गर्छन् । त्यसपछि घर ल्याएर पूजाकोठामा पुर्‍याई दूधभात खुवाइन्छ । दूधभात खुवाएपछि छोरा हुने मान्यता छ ।

 

छोरा भइसकेपछि एकल बुहारीसँग विवाह गराइदिन्छन् । छोरा हुनुभन्दा पहिले एकल महिला र छोरा हुनेले एकअर्कोलाई हेरेर निर्णय गर्न पाउँछन् । यसरी छोरा भई आउनेले पुरानो घरसँगको सबै नातासम्बन्ध तोड्नुपर्ने परम्परा रहेको थारू समुदायका अगुवाले बताए । ‘युवापुस्तामा यस्तो जोडी विरलै देखिन्छ,’ थारू अगुवा बलबहादुर डगौराले भने, ‘पुरानो पुस्तामा कहींकतै भेटिन्छन् ।’

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...