नेपालबाट भारतको विभिन्न अस्पतालमा मिर्गौला तस्करी गर्ने गिरोह सक्रिय,पाँच जना पक्राउ



हाम्रो इकोनोमि

 

मेडिकल सिटीको रुपमा चिनिएको चितवनमा मिर्गौला तस्करी हुने गरेको पाइएको छ । प्रहरीले मिर्गौला तस्करी गर्ने गिरोहका पाँच जनालाई पक्राउ गरेपछि तस्करी हुने गरेको तथ्य खुलेको हो ।

 

पक्राउ पर्नेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका ४ का ४१ वर्षका हरि परियार भन्ने दुर्गाबहादुर दर्जी, रौतहटको चन्द्रपुर नगरपालिका-४ का ३५ वर्षका बिक्रम पहरी, मकवानपुरको बकैया गाउँपालिका ५ का २८ वर्षीय प्रकाश तामाङ, मोरङको बयरबनका ३४ वर्षीय दीपक लिम्बु र रसुवाको उत्तरगया गाउँपालिका ३ का २८ वर्षीय विशाल नेपाली रहेका प्रहरीले जानकारी दिएको छ ।

 

चितवनमा स्वास्थ्य सम्बन्धी विभिन्न अपराध हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रहरीले असार २५ गते ७ जनाको टोली बनाई मेडिकल रेस्पोन्स टिम बनाएको थियो । सोही टिमले मिर्गाैला तस्करी हुने गरेको तथ्य पत्ता लगाएर त्यसको गिरोहसमेत पक्राउ गरेको हो ।

 

दुर्गम क्षेत्रका मानिसहरुको अशिक्षा र गरिबीको फाइदा उठाई प्रलोभनमा पारी मिर्गौला बिक्री बितरण गरेको अनुसन्धानबाट खुलेको चितवनका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता प्रभुप्रसाद ढकालले जानकारी दिए ।

 

प्रहरीले बिक्रम पहरी, प्रकाश तामाङ र दीपक लिम्बुलाई साउन १ गते चितवनबाटै, दुर्गाबहादुर दर्जीलाई साउन १ गते काठमाडौंबाट र विशाल नेपालीलाई साउन ४ गते रसुवाबाट पक्राउ गरिएको ढकालले बताए ।

उनले यस्ता घटनामा अन्य थुप्रै व्यक्ति संलग्न भएको हुन सक्ने भन्दै थप अनुसन्धान भइरहेको बताए ।

 

पक्राउ परेका दुर्गा परियार बाहेकका अन्यले अरु तस्करहरुको सम्पर्कबाट भारतको विभिन्न अस्पतालहरुमा गई १/१ वटा मिर्गौला बिक्री गरेको डिएसपी ढकालले जानकारी दिए ।

 

‘सोझासिधा सर्वसाधारणलाई प्रलोभनमा पारी भारतको विभिन्न अस्पतालमा सम्पर्क गराई मिर्गौला तस्करी गर्ने गरेको खुल्न आएको छ, थप अनुसन्धान गरिरहेका छौं ।’

 

उनीहरुले मिर्गौला बिक्री गर्ने मानिस खोजी सम्पर्क गराई दिए बापत एक जनाको मिर्गौला बिक्रीबाट ५० हजारदेखि एक लाखसम्म कमिसन लिने गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी ढकालले जानकारी दिए ।

 

पक्राउ परेकाहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गत मुद्दा दर्ता गरी विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ । डिएसपी ढकालले चितवनमा यस्ता किसिमका घटनाहरु हुनेबारे सामान्य जानकारी आएपछि प्रहरीको टिम नै परिचालन भई अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
३३ अंक घट्यो सेयर बजार

    अघिल्लो कारोबार दिन ७.९० अंक बढेको सेयर बजार सोमबार ३३.२८ अंक...

व्याक नहुने अडानमा कन्सल्टेन्सी व्यवसायीका स्वतन्त्र समुह

    सरकारले ल्याएको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा...

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन

    नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग आजदेखि औपचारिक सञ्चालनमा आएको छ । पूर्वाधार विकासमन्त्री,...

यो अन्तिम भोज नै त हैन होला : गोकुल बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का दुई...