अनिदोमै बित्यो रात बाढीले बस्ती डुबेपछि



हाम्रो इकोनोमि

हनुमन्ते खोला पसेर बितण्डा मच्चाएको बस्तीका बासिन्दाको रात अनिदोमै बितेको छ ।

भक्तपुर नगरपालिकाको जगाती, हनुमानघाट, बाराही क्षेत्र, सिर्जनानगर, सल्लाघारी, लिवाली क्षेत्रका बासिन्दा मात्र हैन मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार, राधेराधे क्षेत्र, एसएस चोक, शंखधर साख्वाः चोक, दक्षिण बाराही क्षेत्र र निकोसेरा, बालकोट, कौशल्टार सागबारीका डुबान बस्तीका पीडितले पनि अनिदोमै रात काटेका हुन् ।

टिनको छाप्रोमा बसेका र अस्थायी शिविरमा बसेकामध्ये धेरैको छाप्रो बगाएको र छाप्रो बाँकी भएकाहरुको पनि लत्ताकपडा, ओढ्ने, ओछ्याउने र खाद्यान्न हिलोमा परेपछि बिचल्लीमा परेका छन् । कतिपयले खोला किनाराको आफ्नो बस्ती छाडेर छिमेकीकोमा रात बिताएका छन् भने कतिपय आफन्तको शरणमा पुगेका छन् ।

पक्की घर भएकाहरुमध्ये भुइँतलामा बस्नेहरुको अवस्था पनि उस्तै रह्यो । बाढी घटे पनि घरभित्र पसेको पानी निकाल्न नपाएपछि रातभर अनिदोमै रात बिताउनुपरेको पीडितले बताएका छन् ।

मध्यपुरथिमि राधेराधे बस्ने शर्मिला पाठकले रात अनिदोमै बितेको बताउनुभयो । भाडामा बस्दै आएको उहाँका परिवारका चारैजनाको रात नसुतिकनै बित्यो । उहाँले भन्नुभयो, “दिउँसो बाढी घटे पनि कोठाभित्र पसेको पानी घटेन । कोठामा चार फिटमाथिसम्म पानी भरिएको छ । एक्लैले पानी झिक्न सकिँदैन, ओछ्यान, लुगा, खानेकुरा सबै डुब्यो । के खाने, कहाँ सुत्ने पत्तो छैन ।”

यहाँका बस्तीमा भुइँतलामा भाडामा बस्नेहरुको बिचल्ली भएको छ । सँगैका अशोक थापाले भन्नुभयो, “खानेपानीसमेत छैन, पानी ट्याङ्करले पानी वितरण गर्न आएपछि एक भाँडो पानी थापेर राख्यौँ । यहाँ धेरैको यस्तै बिचल्ली छ । कोठामा छिरेको पानी झिक्न नगरपालिकाले पानी तान्ने पम्पको व्यवस्था गरिदिए धेरैको उद्धार हुने थियो ।”

निजी पानी तान्ने पम्प हुनेहरुले आज पानी तानेर बाहिर फ्याँके पनि पम्प नभएका धेरैको घरभित्रको पानी दह बनेर बसेको छ । कमेरोटार भाटभटेनी पछाडि तीनतले घरको भुइँतलामा भाडामा बस्दै आउनुभएकी सिर्जना श्रेष्ठले भन्नुभयो, “कोठामा पानीसँगै पसेको माटो, हिलो दुई फिटसम्म जमेको छ, भित्र जानेसम्म अवस्था छैन । सुत्ने त कहाँ कहाँ रु सबै एकै ठाउँमा कोचिएर अनिदोमै रात बिताइयो ।”

व्यापारीको पनि उस्तै बिचल्ली भएको छ । भुइँतलामा राखेको पसल र पसलको गोदाम डुब्दा करोडौँका सामान नष्ट भएको छ । थिमिमा सञ्चालित सामसुङ कम्पनीलगायत विभिन्न इलेक्ट्रोनिक्स फर्म, बिक्री पसल, किराना पसल, सिमेन्ट लगायतका निर्माण सामग्री डुबेर नष्ट हुँदा करोडौँको क्षति भएको छ ।

खानेपानीको वितरण शुरु

मध्यपुरथिमि नगरपालिकाको पहलमा खानेपानी मन्त्रालयको निर्देशनअनुसार मध्यपुर थिमिको डुबान क्षेत्रमा आजदेखि खानेपानी वितरण शुरु भएको छ । मध्यपुरथिमिको टोल टोलमा १८ वटा ट्याङ्करबाट खानेपानी वितरण शुरु गरिएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । भक्तपुरमा पनि खानेपानी वितरण शुरु भएको छ ।

मृतक परिवारलाई रकम हस्तान्तरण

अविरल वर्षाका कारण आएको पहिरोमा तीन सदस्य गुमाएको पीडित परिवारलाई राहत रकम प्रदान गरिएको छ । चाँगुनारायण नगरपालिका–७ मझुवा गाउँका ७० वर्षीया हीरा लामा, पत्नी ६५ वर्षीया पानमाया लामा र दुई वर्ष छ महिनाकी नातिनी सम्पदा लामाको मृत्यु भएको थियो । जिल्ला दैवी उद्धार समितिले आज पीडित परिवारलाई रकम हस्तान्तरण गरेको हो । मानवीय आस्था नेपाल र नेपाल रेडक्रस सोसाइटीले आजदेखि राहत रकम वितरण गर्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...