आमा र सन्तानको डिएनए परीक्षणका मुद्दा आउन थाले



हाम्रो इकोनोमि

महिलाका नाममा सम्पत्ति हुनेक्रम बढेपछि आमा र सन्तानको डिएनए परीक्षणका लागि प्रयोगशालामा आउन थालेको छ ।

सन्तानले आमासँग अंश दाबी गर्दै अदालतमा मुद्दा दायर गरेकाले जैविक नाता प्रमाणितका लागि त्यस्ता मुद्दामा डिएनए परीक्षणका लागि प्रयोगशालामा आउन थालेको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले जनाएको छ ।

पहिले पुरुषका नाममा मात्रै जग्गा हुँदा बाबु र सन्तानको डिएनए परीक्षणका घटना मात्रै परीक्षणका लागि आउने गरेकामा पछिल्लो समय महिलाका नाममा पनि सम्पत्ति हुनेक्रम बढेकाले आमा र सन्तानको अंश मुद्दा अदालतमा पर्न थालेको प्रयोगशालाका कार्यकारी निर्देशक जीवनप्रसाद रिजाल बताउनुहुन्छ ।

“कतिपय महिलाले आफ्नो सन्तान होइन भन्दै अंश दिन नमानेपछि मुद्दा अदालत पुग्छ”, उहाँ भन्नुहुन्छ, “अदालतले डिएनए परीक्षणको प्रतिवेदन मागेमा परीक्षणका लागि यहाँसम्म आइपुग्छ ।” सन्तान र आमाबीचमा डिएनए परीक्षण गर्दा नतिजामा आमा प्रमाणित भएका र नभएका दुवै खालका नतिजा देखापरेको कार्यकारी निर्देशक रिजाल उल्लेख गर्नुुहुन्छ ।

आफूलाई जन्माउने आमासंग सन्तानले आंश माग गर्दा र आमाले दिन नचाहँदा त्यस्ता मुद्दा अदालत हुँदै प्रयोगालामा परीक्षणका लागिसम्म पुग्छ । कतिपय घटनामा परीक्षणबाट आमा प्रमाणित नभएका घटनाले सबैलाई आश्चर्यचकित बनाउने गरेको छ । कार्यकारी निर्देशक रिजाल भन्नुुहुन्छ, “आमालाई आफूले जन्माएको सन्तान होइन भन्ने थाहा भए पनि सन्तानलाई उनले त्यतिबेलासम्म नभनेका घटना हँुदारहेछन् ।”

आमा–बाबुले कसैको जन्मनासाथको बच्चा संरक्षण गर्दा सन्तानले मात्रै नभएर छिमेकी र आफन्त सबैलाई ती महिला नै आमा हुन भन्ने भ्रम हुने गरेको छ । उहाँ भन्नुहुन्छ, “महिलाले आफूले जन्म नदिएको भन्दै सम्पत्ति दिन नमानेमा आमा र सन्तानको डिएनए परीक्षणका लागि अदालतले आदेश दिने गर्छ ।”

अस्पताललगायतका स्थानमा जानेर वा अञ्जानमा सन्तान साटिएका घटनामा पनि आमा र सन्तानको डिएनएको नतिजा नकारात्मक पनि आउने प्रयोगशालाले जनाएको छ । सन्तान भने पूरै जिन्दगी आफूलाई जन्माउने आमा उनै हुन भन्ने भ्रममा हुन्छन् । कार्यकारी निर्देशक रिजाल जोड दिनुहुन्छ, “जन्मनासाथ ल्याएर र न्वारन–पास्नी आफैँले गरे पनि जैविक आमा नभएपछि प्रयोगशालाको नतिजा पनि नकारात्मक नै आउँछ ।”

प्रयोगशालामा मानव डिएनए परीक्षणका लागि सबैभन्दा बढी अदालतको अंश मुद्दासंग सम्बन्धित हुन्छ । अधिकांश परिवारमा आमाका नाममा भन्दा बाबुका नाममा सम्पत्ति हुन्छ । अधिकांशका अंश मुद्दामा सन्तानले बाबुलाई विपक्षी बनाएर मुद्दा हालेको हुन्छ । यसमा बाबु र सन्तानको डिएनए परीक्षण हुन्छ । कानूनी र सामाजिक परिवर्तनका कारण महिलाका नाममा सम्पत्ति हुनेक्रम बढ्दै छ । बाबु बितेका परिवारमा र कतिमा बाबु भए पनि आमाका नाममा सम्पत्ति हुँदा सन्तानले आमासँग कानूनीरुपमा सम्पत्ति माग्ने पाइएको उहाँ उल्लेख गर्नुहुन्छ ।

कार्यकारी निर्देशक रिजाल भन्नुहुन्छ, “महिलाका नाममा सम्पत्ति हुने क्रम बढेसँगै आमा र सन्तानबीचको डिएनए परीक्षणका लागि प्रयोगशालामा मुद्दा आउन थालेको हो ।”

सिंगो जिन्दगी आफूले नजन्माएको सन्तानलाई आफैँले जन्माएको जसरी पालनपोषण गरेका आमाले सन्तानले चित्त दुखाउँदा वा सन्तानसँग असमझदारी हुँदा अंश दिन नमानेका कारण मुद्दा अदालतसम्म पुग्ने गरेको जोड दिँदै उहाँ भन्नुहुन्छ, “सिंगो जिन्दगी आफैँले जन्माएको हो भनेर ढाँटे पनि कुनै कुरामा चित्त दुख्दा आमाले होइन भन्ने गर्छन् ।”

प्रयोगशालाले केही वर्ष पहिलेबाट विदेशमा बसोबास गर्ने अभिभावकका सन्तान विदेशमा लैजाने प्रयोजनका लागिसमेत डिएनए परीक्षण गर्दै आएको कार्यकारी निर्देशक रिजाल रासससंगको कुराकानीमा बताउनुहुन्छ ।
कतिपयले भने झुट बोलेरै भिसा प्रयोजनका लागि भन्दै डिएनए परीक्षणका लागि आउँछन् । हामी पूरै काजगात हेरेर त्यही प्रयोजनका लागि भए मात्रै परीक्षण गर्छौं ।व्यक्तिगत मुद्दा हेरेर अभिभावक र सन्तानको डिएनए परीक्षण गर्दा सामाजिक जीवनमा उथल–पुथल आउन सक्ने उहाँको भनाइ छ ।

आव २०६३÷६३ मा यस प्रयोगशालामा पितृत्व पहिचान गरेर जैविक नाता कायम गर्न डिएनए परीक्षणको शुरुआत भएको थियो । प्रयोगशालाले विश्वव्यापीरुपमा मान्यताप्राप्त प्रचलित उपकरण, रसायन र किटको प्रयोग गरेर जैविक नाता प्रमाणित गर्दै आएको छ । यस प्रयोगशालामा बाबाुआमा र छोराछोरी, काका–भतिजा, दाजुभाइ र हजुरबुबा नातीकाबीचमा जैविक नाता प्रमाणित हुने गरेको छ ।

गत वर्ष मात्रै प्रयोगशालाले २०५ मुद्दाका ६०३ नमूना परीक्षण गरेर राय दिएको थियो । अदालत, प्रहरी कन्सुलर विभागमार्फत मुद्दा आउने गरेका छन् । रगतबाट मात्रै नभएर डिएनए परीक्षण ¥याल, मासु, रौँ, विर्यको दाग, दाँत आदिबाट समेत परीक्षण हुने गरेको प्रयोगशालाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...