योग र ध्यान साधना केन्द्रमा परिणत हुँदै पशुपति क्षेत्र
गाँजा तान्ने अखडा र माग्नेको लामलाई मुक्त गरी पशुपति क्षेत्रलाई ध्यान तथा योग साधना स्थलका रुपमा योजनाबद्ध विकास गर्ने अभियान शुरु भएको छ । गाँजा खाने एवं किनबेच गर्नेको अखडाका रुपमा रहेको वाग्मती किनारको सूर्यघाट क्षेत्रका १० वटा गुफा खाली गरी रंगरोगन शुरु गरिएको छ ।
सूर्यघाट क्षेत्रलाई ध्यान केन्द्रका रुपमा विकास गर्न पशुपति क्षेत्र विकास कोषले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि रु एक करोड ५० लाख बजेट छुट्याएको सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो ।
“छ महिनामा ध्यान केन्द्र तयार हुनेछ, केन्द्र तयार भएपछि निश्चित दिनका लागि ध्यान गर्न चाहनेलाई केन्द्र उपलब्ध गराइन्छ, केन्द्रमा बसेर ध्यान गर्न चाहनेले तोकिएको शुल्क पनि तिर्नुपर्छ”–उहाँले भन्नुभयो ।
आगामी शिवरात्रिसम्म ध्यान केन्द्र निर्माण गरिसक्ने कोषको योजना छ । पशुपति क्षेत्रमा सबैभन्दा पुरानो अभिलेख भएको वाग्मती किनारको सूर्यघाटक्षेत्र सिद्धस्थल मानिन्छ । सूर्यघाट क्षेत्रको गुफामा गुरु गोरखनाथ, शिवपुरी बाबा, खप्तड स्वामीलगायतका सिद्ध पुरुषले साधना गरेको अभिलेख पाइएको कोषका सूचना अधिकारी प्रेमहरि ढुंगानाले बताउनुभयो ।
पूर्वी मोहडा भएको र पूर्वमा वाग्मती बगेकाले सूर्यघाट क्षेत्रका गुफा साधनाका लागि महत्वपूर्ण मानिन्छन् । वाग्मतीको कन्दराबाट पूर्व फर्केर बिहान अघ्र्यदान गर्नु उत्तम हुने शास्त्रीय ग्रन्थमा वर्णन गरिएको छ । सूर्यघाटमा पाइएको विजयमतीको अभिलेख पशुपति क्षेत्रकै पुरानो मानिन्छ ।
मृगस्थली र विश्वरुप क्षेत्रमा पनि मण्डप निर्माण गरी ध्यान गर्ने स्थान बनाइँदैछ । जंगलको बीचमा व्यक्ति व्यक्तिले बसेर ध्यान गर्न सक्ने गरी मण्डप निर्माण गर्न लागिएको हो । पशुपति क्षेत्रका सबै स्थानमा कोषले नै ध्यान केन्द्र बनाउने जनाएको छ ।
पञ्चदेवलमा पाशुपत योग साधना केन्द्र
पशुपति दक्षिण ढोका अघिको पञ्चदेवलमा पाशुपत योग साधना केन्द्रको स्थापना गरिएको छ । घर घरमा पाशुपत योगको साधना गराउने उद्देश्यले उक्त केन्द्रको स्थापना गरिएको हो ।
वेदले दिएको पाशुपत धर्म नेपालीको भएकाले यसका बारेमा जानकारी गराउन कोषको सहयोगमा केन्द्र स्थापना गरिएको महात्मा सुशीलले जानकारी दिनुभयो । पाशुपत योगका विषयमा जानकारी दिन उहाँले ‘पाशुपत योग’ नामक पुस्तक प्रकाशन गर्नुभएको छ । यो पुस्तक रसियन भाषामा समेत अनुवाद भइसकेको छ । पाशुपत योग अंग्रेजी भाषामा अनुवादका लागि त्रिभुवन विश्वविद्यालय अंग्रेजी विभागका प्राडा कृष्णचन्द्र थापाले काम गरिरहनुभएको छ । यस वर्षको दशैंसम्म अंग्रेजी अनुवाद भइसक्ने थापाले जानकारी दिनुभयो ।
हिमवत्खण्डबाटै योग साधनाको शुरुवात् भई संसारभर फैलिएको थियो । आदि कालमा भगवान शिवले सिकाउनुभएको योग पाशुपत नै थियो । चार वेद र १८ पुराणमा पाशुपत योगको वर्णन रहेको छ । लिङ्ग पुराणमा भने पाशुपत योगका विषयमा मात्र चर्चा गरिएको महात्मा सुशीलले सुनाउनुभयो ।
पौराणिक कालमा भगवान् शिवले पाशुपत योगको ज्ञान दिनुभएको विश्वास गरिन्छ । समाधि अवस्थामा जीवात्मा परमात्मामा मिलन हुनुलाई नै पाशुपत योग भनिने उहाँको भनाइ छ । ब्रह्म प्राप्तिका लागि पाशुपत अष्टाङ्ग योगलाई साधना गर्ने परम्परा बसेको हो । आत्म ज्ञान प्राप्तिका लागि उत्तम स्थानमा बसेर साधना गर्नुपर्छ । साधनाबाट ज्ञान पाइन्छ । ज्ञानको वशमा मन वशिभूत हुन्छ । मन वशमा भएपछि आत्मा प्राप्ति हुन्छ । आत्म साक्षात्कार भएपछि नश्वर संसारबाट मुक्ति पाइने भएकाले पाशुपत योगको अभ्यास आवश्यक रहेको महात्मा सुशील बताउनुहुन्छ ।
पूर्वमा ब्रह्मपुत्र नदी, पश्चिममा हिन्दकुश, उत्तरमा कैलाश मानसरोवर हिमालय र दक्षिणमा गंगासम्मको भू–भागबाटै योग, ध्यान साधनाको शुरुवात् भएको विश्वास गरिन्छ । चित्तवृत्तिलाई निरोध गर्दै आत्मामा एकचित्त हुनु नै योग हो । यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिलाई अष्टाङ्गयोग भनिन्छ । अष्टाङ्गयोगको अभ्यास गर्ने व्यक्ति अनेक जन्मको संस्कारबलबाट यसै जन्ममा सिद्ध भएर पापबाट मुक्त भई परमगति प्राप्त गर्छ ।
पाशुपत योग धर्मका दश लक्षणमा अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य, दया, क्षमा, सरलता, धृति, मिताहार र पवित्रतालाई लिइएको छ । पाशुपत योग साधना केन्द्रमा हाल दैनिक सयौँ मानिस साधनाका लागि आउने गरेका छन् । यहाँ स्वदेशी एवं विदेशीलाई पनि योग, ध्यान सिकाइन्छ । केन्द्र स्थापनाको छोटो अवधिमा धेरै विदेशी समेत यहाँ आएर योग, ध्यान सिकी लाभान्वित भएका छन् ।