देउवामाथि खनिए कांग्रेसका पुराना नेता, सिंह र सिटौलाद्वारा छलफल नै बहिष्कार



 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचनमा हार व्यहोरेपछि चौतर्फी आलोचनाका बीचमा जेलिएका छन्। निर्वाचन पश्चात हुने प्रत्येक कार्यक्रममा कार्यकर्ताले उनको उछितो काढिनै रहेका हुन्छन्। सभापति देउवामा आफ्नो आलोचना सुन्ने धैर्यसमेत नभएको नेताहरूले आरोप लगाउने गरेका छन्।

 

यो आरोप केही कार्यक्रममा उनले प्रमाणित पनि गरेका छन्। आफ्नो आलोचना भएमा उनी तत्काल त्यसको प्रतिवाद गरिहाल्छन्। कांग्रेसले जेठ पहिलो हप्ता हेटौँडामा गरेको जिल्ला सभापतिहरूको भेलामा पनि उनको निकै आलोचना भयो। उनले आफ्नो आलचोनलाई निकै मुस्किलले पचाए।

 

सभापतिहरूको भेला सकिने बित्तिकै उनी तनावमा चितवन पुगे। तनावबाट मुक्त रहन उनले कार्यकर्तासँग पनि भेटघाट नगरी केही दिन त्यही बिताए। उनी चुनावको हारको कारण आफू मात्रै नभएको प्रमाणित गर्न चाहन्छन्।

 

आलोचना मात्र हुन थालेपछि सभापति देउवा यसबाट उम्कने बाटो खोज्दै आएका छन्। उनी आफ्नो पक्षमा भएका नेताहरूले हारको कारण सिंगो केन्द्रीय समिति भएको बताउन भन्न चाहन्छन्।  पार्टीका पुराना नेताहरूले आफ्नो पक्षमा बोल्छन् कि भन्ने उनको अनुमान थियो। त्यसकारण उनले मध्यमार्गी बनाए पार्टी केन्द्रीय सदस्य डा. नारायण खड्कालाई।

 

डा. खड्काले पार्टीमा योगदान गरेका पुराना नेतालाई पार्टी पदाधिकारीसँग अन्तरक्रिया गर्न सोमबार लौनचौरको एक पार्टी प्यालेसमा बोलाए। यो सबै देउवाकै ‘डिजाइन’ रहेको देउवाइतर पक्षका एक शीर्ष नेताले दाबी गरे। तर देउवा आफ्नो डिजाइनमा फेल भए।

 

कार्यक्रममा सहभागी कांग्रेसका सबै पुराना नेताले देउवा र पार्टी नेतृत्वको उछितो काढे।  कार्यक्रमको सुरुमा डा. खड्काले कार्यक्रमबारे प्रस्ट्याइ सकेपछि पुराना नेताको बोल्ने पालो आयो। सुरुमा ओमकार श्रेष्ठले आफ्नो धारणा राखे। नेतृत्वप्रति खनिएका श्रेष्ठले अलिक लामै भाषण गरे।

 

त्यसपछि उद्घोषकले पूर्वसभामुख तथा पार्टीका पूर्वमहामन्त्री ताराथान रानाभाटलाई बोलाए तर छोटोमा आफ्ना कुरा राख्न निर्देशन दिए। रानाभाटले आफ्ना कुरा राख्नै लागेका थिए।  उद्घोषकको निर्देशनबाट आक्रोशित बनेका पुराना नेता उत्तम नारायण श्रेष्ठ फोरबाट उठे। उनको आवाज निक्लियो, ‘हाम्रा कुरा सुन्न आउनु भएको भए हामीलाई बोल्ने मौका दिनुपर्छ।

 

नेताका कुरा त हामीले सधैँ मिडियामा सुन्दै आएका हौँ,’ उनले अघि भने, ‘अहिले हामीलाई चुनाव हारेर सम्झनु भएको हो? समयमा सम्झनुभएको भए दुई चार वडाअध्यक्ष भए पनि बढी जीत्न सकिन्थ्यो।’ श्रेष्ठले मात्र सभापति र नेतृत्वको आलोचना गरेको होइनन्। कार्यक्रममा बोल्नै सबै पुराना नेताले नेतृत्व र सभापतिको आलोचना गरे।

 

नेतृत्वलाई कांग्रेसको चिन्ता नभएका कारण पार्टी कमजोर अवस्थामा आएको धारणा राखे।  ‘तल्लो तहका नेतालाई पार्टीको चिन्ता छ। माथिल्ला तहका नेतलाई पार्टीको चिन्ता छैन’, उनले भने, ‘उहाँहरूलाई गुटगत राजनीति गर्दै फुर्सद छैन। म यो गुटको हो नभनि कांग्रेसबाट आएको भन्दै सबै जिल्लामा एक÷एक जना नेता जानुस् न कति कार्यकर्ताले साथ दिन्छन् थाहा हुनेछ।’

 

उनले पार्टी कार्यालय घरघरमा बनाएका कारण पार्टीभित्रको गुटगत राजनीति मौलाएको दाबी गरे। उनले भने,‘पार्टी कार्यालय खाली छ। घरघरमा पार्टी कार्यालय बनाइएको छ। यसले गुट मौलाएको छ।’  यस्तै, अर्का पुराना नेता गोविन्दराज जोशीले पार्टीभित्र टिकट वितरणको समयमा व्यापक आर्थिक चलखेल भएको आरोप लगाए। उनले भने, ‘पहिलो पटक टिकट माग्दा पाइन। त्यो टिकट ६० लाखमा बिक्यो।

 

अहिलेको चार करोडमा बिक्यो होला होइन?’ उनले नेताको दम्भका कारण पार्टी यो अवस्थामा आइपुगेको आरोप लगाए। ‘हामी यति कमजोर हुनुको कारण नेताको दम्भ हो। नेताको दम्भ अझै हटेको छैन’, उनले भने, ‘यस्तै तालले आर्को पटकको निर्वाचनमा पनि हालत यही हुन्छ।’ यस्तै, पुराना कांग्रेस नेता तीर्थराम ढंगोलले पार्टीका नेताभित्र दाँत र जिब्रोको जस्तो सम्बन्धले पार्टी बिगारेको दाबी गरे।

 

‘पार्टीभित्र दाँत र जीव्रको जस्तो सम्बन्ध भयो’, उनले भने, ‘दाँत बलियो होइञ्जेल जीव्रो टोक्ने। दाँत कमजोर भएपछि जीव्रोले नै दाँत हल्लाएर निकाल्ने।’  उनले पार्टीभित्र नातावाद र क्रिपावाद चलेका कारण पार्टी उभो लाग्न नसकेको दाबी गरे। ‘पार्टीभित्र नातावाद बढ्दैछ’, उनले भने, ‘यही देख्न हामीले लोकतन्त्र ल्याएका हौँ? राजाको छोरा राजा हुने प्रवृतिको अन्त्य गर्ने पार्टीभित्रै नेताका खोरा छोरीले अंश खोजे।

 

जनताका छोराछोरीलाई नेता बनाउने कि नेताका छोराछोरीलाई?’ उनको यो भनाई पार्टी महामन्त्री डा. शंशाक कोइराला, नेता प्रकाशमान सिंह, नेतृ सुजता कोइराला, डा.शेखर कोइराला लगायत नेताप्रति लक्षित थियो। सभापति देउवालाई उनले आँट नभएको भन्दै उछितो काढे। उनले भने, ‘काठमाडौंमा मैले पञ्चायत कालमा पनि उपप्रमुख जीतेको थिएँ। तर सभापतिले आँट गर्नुभएन।

 

चरित्र नभएको महिला र आँट नभएको नेताको भर हुँदैन रहेछ।’ उनले पुराना नेतासँगको छलफल मलामी गएजस्तो नबनाउन आग्रह गरे।  यस्तै, पुराना नेता विनयध्वज चन्दले परिवार, आफ्नो मान्छे र डनहरूलाई टिकट दिएर जीतको आशा गर्नुबेकार रहेको टिप्पणी गरे। ‘देशमा कांग्रेस कहाँ छ? सबै गुट मात्र छ’, उनले भने, ‘गुटको अगाडि कांग्रेस भएको भए पनि हुन्। शेरबहादुर गुट रे, रामचन्द्र गुट रे।’

 

पार्टीभित्र देखिएको अनुशासनहिनताले पार्टी नचल्ने उनको भनाई थियो।  पार्टीका पुराना नेता लोकेश ढकालले भने चितवन महानगरमा माओवादीसँगको सहकार्यको प्रशंग कोट्याए। उनले कमल थापा र माओवादीलाई कांग्रेसले भोट हाल्नुपर्ने कारण स्पष्ट नभएको बताएका थिए।

 

उनले भने, ‘नेपाली कांग्रेस जिन्दावाद, भोट के मा हसिया हथौडामा भन्दै कांग्रेस कार्यकर्ताले हिड्नु परेपछि कांग्रेसले कसरी जित्छ।’ यस्तै पुराना नेताहरू दामोदर गौतम, विपिन कोइराला, चिरञ्जीवी वाग्लेलगायतले पार्टीमा संघर्ष गरेका पुराना कार्यकर्तालाई नेतृत्वले ‘बाइपास’ गर्दै जिम्मेवारी नदिएको गुनासो गरे।

 

उनीहरूले पार्टी सरकारमा हुँदा भएको प्रधानन्यायाशीस प्रकरण र आइजिपी प्रकरण हारको अर्को कारण भएको आरोप लगाए। यसरी पुराना नेताले आफ्ना गुनासो राखिसकेपछि अन्त्यमा देउवाले संवोधन गरे। उनले अरू वक्ताले भन्दा निकै छोटोमा सके। तर उनी निकै जंगिए। उनको आलोचना सुन्न नसक्ने बानी त्यहाँ पनि प्रस्टै भयो।

 

प्रकाशमान र सिटौलाको वहिष्कार

हेटौँडामा भएको जिल्ला सभापतिहरूको भेलामा बोल्न नदिएदेखि पार्टीका नेता प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आएका छन्। आफूहरूले साथ दिएका वरिष्ठ नेता रामचन्द्र पौडेल देउवाप्रति नजिक भएको भन्दै उनीहरू अझै सशंकित छन्।

 

पुराना नेतासँग छलफल कार्यक्रममा उनीहरू असन्तुष्टिकै कारण नआएको प्रस्ट बुझिन्थ्यो।  कार्यक्रम संयोजन समितिले उनीहरू दुवैको नाम लिस्टमा राखेको थियो।

 

सिंहलाई त आशनग्रहणका लागि बोलाइयो तर उनी थिएनन्। कार्यक्रम संयोजन समितिमा रहेका एक सदस्यले भने, ‘सबै नेताहरूलाई बोलाइएको हो। सिंह र सिटौला आउनुभएन। लिस्टमा नाम छ यी हेर्नुस् त।’ स्रोतका अनुसार नेतृत्वको बाइपासप्रति असन्तुष्टि जनाउँदै उनीहरू कार्यक्रममा नआएका हुन्।

प्रतिक्रिया दिनुहोस
अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु

  अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य

पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच भेट

    भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक