आजको प्रतिनिधि सभा बैठकमा कस्ले के बोले हेर्नुहोस लाईभ



छविलालकी छोरीको वयानः ७८ वर्षे बुबा हत्यारा होइनन्

 

अनशरत गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा आइतबार डिल्लीबजार कारगार चलान गरिएका ७८ वर्षीय छविलाल पौडेल निर्दोष रहेको परिवारका सदस्यको दाबी छ ।

 

छविलाल पौडेल फुजेल गाउँका समाजसेवी एवं पूर्वशिक्षक रहेको र आफ्नै विद्यार्थी कृष्णप्रसाद अधिकारीको हत्यामा उनको कुनै संलग्नता नरहेको छविलालकी छोरी पम्फा पौडेलले दाबी गरिन् ।

 

‘गंगामायाका छोरा हाम्रो बुबाका विद्यार्थी हुन् । उनलाई जसले मार्‍यो, त्यो गलत थियो भन्ने बुबाको भनाइ छ,’ पम्फाले अनलाइनदरबसँग भनिन्- ‘माओवादीबाट आफ्नो विद्यार्थी मारिएकोमा बुबा अहिले पनि दुःखी हुनुहुन्छ ।’

 

छविलालका परिवारजनले उनी निर्दोष रहेको दाबी गरे पनि दुई वर्षअघिको सर्वोच्च अदालतको निर्णयमा चाहिँ आरेापित कसुरमा छविलालको संलग्नता रहेको भनी विश्वास गर्ने मनासीव आधार रहेको भन्दै उनलाई पुर्पक्षका लागि थुनामा राखी कारवाही गर्न अनुरोध गरिएको छ ।

 

छोरी पम्फाले आफ्नो बुबामाथि लागेको आरोपबारे यसरी व्याख्या गरिन्-

 

बुबा छविलाल पौडेल अहिले ७८ वर्षको हुनुभयो । उहाँको स्वास्थ्य पनि ठीक छैन । उहाँ निर्दोष हुँदाहुँदै पनि पत्रपत्रिकामा फरार भनेर आयो । फरार भन्ने शब्द बुबालाई मन नपरेको र गंगामाया पनि सुतेको सुतैकै भएकाले गर्दा हामीले सर्वोच्चमा निवेदन दियौं र सर्वोच्चले बुबालाई डिल्लीबजार पठाएको छ ।

 

चितवनमा मारिएको भनिएका गंगामायाका छोरा कृष्णप्रसाद बुबाका विद्यार्थी हुन् । कृष्णप्रसादलाई जसले मार्‍यो, त्यो गलत थियो भन्ने बुबाको भनाइ छ ।

 

आफ्नो विद्यार्थी मारिएकोमा बुबा अहिले पनि दुःखी हुनुहुन्छ । उनलाई जसले मार्‍यो त्यो, गलत भयो भन्दैहुनुहुन्छ बुबाले । यो घटनामा हामी पनि उत्तिकै दुःखी छौं । हामीलाई यति दुःख दिँदा पनि त्यो घटना गलत थियो भन्दैछौं हामी अहिलेसम्म ।

गंगामायाको छोरा कृष्णप्रसाद अधिकारीको चितवनमा हत्या भएको भनिएको समयमा बुबा गोरखाको फुजेलमा हुनुहुन्थ्यो । गाउँमा गंगामायाका अर्का छोरा नूरप्रसाद र गाउँलेहरुसमेत भएर कुलो खनेका थिए त्यसदिन । त्यो घटना माओवादीले गराएर उसैले जिम्मेवारी लिइसकेको छ ।

 

त्यसमा बुबाको संलग्नता कहीँ कतै छैन । तर, कैयौं वर्ष भइसक्यो, यही आरोप लागेको लाग्यै । अनि बुबाले भो, बरु जेल नै जानुपरे पनि जान्छु भनेर जानुभएको हो ।

 

हामीले बुझ्दाखेरि अधिकारी परिवारसँग बुबाको कुनै रीसईबी थिएन । बुबा गाउँमा शिक्षक हुनुहुन्थ्यो । उहाँले ३६ वर्ष पठाउनुभयो । उहाँले इण्डियाबाट पढेर आएर त्यो स्कुल आफैंले सुरु गर्नुभएको हो । त्यहाँ अहिले डिप्लोमा लेभलको पढाइ हुन्छ ।

 

बुबा गाउँको शिक्षक मात्रै नभएर गाउँको विकास कसरी गर्न सकिन्छ, गाउँमा बाटो कसरी लग्ने, विजुली कसरी लग्ने भन्ने सवालमा कोही कोही त बैरी भैहाल्छन् नि । त्यही भएर गाउँका विरोधीहरुले छोराको निधनबाट विक्षिप्त बनेका अधिकारी परिवारलाई उचालेर बुबाका विरुद्ध जाहेरी दिन लगाएका हुन् ।

 

गाउँमा पढेलेखेको मान्छे भएकाले उहाँ सबैको अभिभावकजस्तो हुनुहुन्थ्यो । गाउँघरमा परेका सानातिना मुद्दामामिलाहरु मिलाउने केसमा पनि बुबालाई बोलाउँथे । त्यसैक्रममा नूरप्रसादका माइलीआमाको परिवारलाई गंगामायाको परिवारले अंश दिनुपर्दैन भने ।

 

बुबालगायत गाउँलेहरुले ३/३ वटी छोरीहरु भएकाले माइली आमालाई पनि अंश दिनुपर्छ भनेर निर्णय गरिदिएका थिए । यत्ति हो । अब यसलाई रीसईबी भन्ने कि के भन्ने ? गाउँ भद्रभलादमीले यसरी झगडा मिलाउने क्रम त आज पनि चलिराखेको छ नि त । त्यत्तिमात्रै भएको हो ।

 

घटना घटेको तीनवर्षपछि गाउँमा बिजुलीका पोल गाड्न थालियो । गंगामायाको परिवारले उनीहरुको जग्गामा पोल गाढ्न दिएनन् । उनीहरुको जग्गाको बाटो भएर गाउँमा बिजुली आउन नपाउने भएपछि गाउँलेहरु जाग्नै पर्‍यो । त्यसपछि उनीहरु आफ्नो बारीमा गाडिएको पोल काटेर, घरमा ढोका लगाएर आफैं गाउँ छाडेर हिँडेका हुन् । अरुले गाउँबाट विस्थापित गरेको हुँदै होइन ।

 

गाउँबाट केही मानिसहरुले उचालेपछि उनीहरु जिल्लासम्म आए । पछि काठमाडौं आइसकेपछि डलरवादीहरुसँग जोडिए । उनीहरुका लागि त यो कमाउने खेती हुँदोरहेछ । त्यसपछि उनीहरुलाई प्रयोग गरिँदै आयो ।

यसरी मानवअधिकारवादीहरु लाग्ने, ठुल्ठुलो ईस्यु बनाउने अनि एकोहोरो रुपमा फरार अपराधी भनिएको हुनाले बुबाले अदालत जान्छु भन्नुभएको हो ।

बुबालाई यसअघि पनि चितवनबाट पक्रेर ३१ दिन कारागारमा राखिएको थियो । त्यसपछि चितवन जिल्ला अदालतले धरौटीमा छाड्यो । त्यसबेला चारजनालाई पक्राउ गरिएको थियो । बुबा, पर्शुराम पौडेल, रामप्रसाद अधिकारी र भीमसेन पौडेललाई प्रहरीले पक्रेको थियो ।

 

उहाँहरुलाई जिल्ला अदालत र पुनरावेदनले पनि निर्दोष सावित गरेको थियो । सर्वोच्चले चाहिँ १३ जनामध्ये १२ जनाको हकमा तल्लो अदालतको निर्णयलाई सदर गरेर बुबाको हकमा चाहिँ पुर्पक्षका लागि थुनामा राखेर कारवाही चलाउनु भनेको हो । अदालतले बुबालाई पुर्पक्षका लागि थुनामा राख्नु भनेको हो, दोषी सावित गरेको होइन । यो केस अहिले चितवन जिल्ला अदालतमा चलिराखेको छ । साउन २० गते पेशी छ ।

 

बुबाको विरुद्धमा उनीहरुले हजुरआमा र फुपूलाई साक्षी राखेका थिए । उनीहरुले पनि बुबालाई हत्यारा नै हो भनेर बोल्न तयार भएनन् । साक्षी बकपत्र दिनै गएनन् उनीहरु । बकपत्र मिसिलहरुमा कहीँ पनि बुबाको संलग्नता थियो भन्ने ठाउँ नै छैन ।

 

छोरा कृष्णप्रसादको हत्या भएपछि बुबा नन्दप्रसाद अधिकारीले तीनजनाका नाममा जाहेरी दिनुभएको थियो । घटनाको १८ महिनापछि किटानी जाहेरी दिइएको थियो । त्यसमा बुबाको नाम थिएन । तीनजना अज्ञात व्यक्तिहरुले लगेको भन्ने थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु

  अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य

पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच भेट

    भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक