पर्यटनमन्त्री रवीन्द्र अधिकारीका ४ महिनाका ५ विवाद, अन्धाधुन्ध ६० करोड बाँडने देखि होटल हायातको सेयर विवाद सम्म
तत्कालीन संसदको विकास समितिको सभापति हुँदा सरोकारवाला पक्षलाई समितिको बैठकमा बोलाएर झाँको झारेर पठाउने गरेका एक सांसद अहिले आफै मन्त्री बनेका छन् ।
सरकार, मातहतका निकाय र सरोकारवाला पक्षका विकासका कामलाई नियाल्ने र खबरदारी गर्ने भूमिकामा रहेका युवा नेता रवीन्द्र अधिकारी अहिले संस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री छन् ।
मन्त्रालय सम्हालेको ४ महिनामा मन्त्री अधिकारी पछिल्लो समय विभिन्न विषयमा आलोचित बन्न थालेका छन् ।
चुनावका बेला माला लगाएर किसानको गोठमा गाई दुहेर चर्चमा आएका अधिकारी मन्त्री भएपछि सुरक्षाकर्मीलाई छाता ओडाउन र आफ्नो कोट बोकाउन लगाएपछि पनि विवादित बनेका थिए ।
विवाद नम्बर १ : अन्धाधुन्ध ६० करोड बाँडियो
आर्थिक वर्ष सकिन लाग्दा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले विभिन्न सङ्घ–संस्थालाई मन्त्रीस्तरीय निर्णयबाट मन खोलेर करोडौँ रुपियाँ ‘दान’ गरे ।
यसरी दान दिएका संस्थाहरू पार्टी निकटका नेता, कलाकार, साहित्यकार निकटका छन् भने आफ्नो निर्वाचन क्षेत्र निकटका पनि छन् । देश र जनताको भलाइका लागि काम गर्नेभन्दा पनि अधिकांश झोले सङ्घ संस्थाहरूलाई मनलाग्दी पैसा बाँढे ।
असारको पहिलो साता ८७ र जेठको अन्तिम सातामा ४४ गरी १ सय ३१ संस्थालाई पैसा बाँढेका हुन् । विभिन्न नेताका नाममा खुलेका एउटै संस्थालाई करोडभन्दा माथिको रकम दिए । नेताका नाममा खुलेका संस्थाहरूलाई मात्रै १५ करोड हाराहारी रकम बाँढे ।
सरकारले पारदर्शिता र सुशासनको नारा बोके पनि कहिल्यै आर्थिक पारदर्शिता नगर्ने सङ्घसंस्थालाई बिनामापदण्ड रकम बाँढिएको हो । सङ्घ संस्थाहरूलाई पुँजीगत अनुदानको नाममा ठूलो परिमाणको रकम बाँढेपछि उनको आलोचना बढेको हो ।
विवाद नम्बर २ : होटल हायातको सेयरको विवाद
काठमाडौंको चुच्चेपाटी बौद्धमा रहेको तारागाउँ विकास समिति र निजी क्षेत्रको संयुक्त लगानी रहेको होटल हायतको सेयर बिक्रीमा उनको भूमिका रहेको भन्ने विषयमा विभिन्न अनलाइन मिडियामा समाचारहरू आए । तर त्यसमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै मन्त्रालयका प्रवक्ता मार्फत खण्डन गर्न लगाए ।
नेपाल सरकारले अर्बांै रुपियाँ लगानी गरेको होटल हायात भारतीय व्यवसायीहरूको कब्जामा छ । होटल सधैँ घाटामा गएको देखाएर सरकारी सेयर नै कब्जा गर्ने रणनीतिमा लागेका उनीहरूलाई मन्त्रीले नै सहयोग पु¥याउन लागेको समाचार प्रकाशित भएको थियो ।
सो होटलमा सरकारले १ सय ५० रोपनी जग्गा लगानी गरेबापत ४९ सालमा नेपाल सरकारलाई ३९ प्रतिशत सेयर प्राप्त भएको थियो तर अहिले घटाएर ९ प्रतिशतमा सीमित पारिएको छ ।
निजी साझेदारले गरेको फट्याइँको अध्ययन गर्न तारागाँउ विकास समितिका अध्यक्ष नारदकुमार लुइँटेलको अध्यक्षतामा बनाइएको समितिले निजी क्षेत्रबाट लगानी गरेका भारतीय नागरिक राधेश्याम सर्राफ र दिनेशलाल तथा सुरेशलाल श्रेष्ठले २० अर्ब हाराहारीको सम्पत्ति हडप्न लागेको उल्लेख गरिएको थियो ।
सरकारी सम्पत्ति गुम्न लागेको यो विषयमा मन्त्री अधिकारीले खासै चासो दिएका छैनन् । बरु निजी साझेदारसँगै मिल्ने गरेको आरोप लाग्ने गरेको छ ।
विवाद नम्बर ३ : लाउडाका आरोपित नै विज्ञ समूह सदस्य
मन्त्री अधिकारीले भ्रष्टाचारको क्षेत्रमा बहुचर्चित लाउडा विमान काण्डका अभियुक्तलाई नै नागरिक उडड्यन विज्ञका रूपमा नियुक्त गरेपछि उनको आलोचना सुरु भएको हो । सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दाका आरोपितलाई आफ्नो सल्लाहकार बनाएका मन्त्री अधिकारीले अब उनकै सल्लाहअनुसार काम गर्नेछन् ।
नागरिक उड्डयनका क्षेत्रमा विज्ञता हासिल गरेकाहरूको विज्ञ समूह अर्थात थिङ्क ट्याङ्क ग्रुप गठन गर्ने क्रममा विवादित छविका हरिभक्त श्रेष्ठलाई एटीएम तथा हवाई कानुन विज्ञका रूपमा नियुक्त गरिएको हो ।
तत्कालीन शाही नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष रहेका उनीलाई लाउडा विमानको भाडा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा ३८ करोड ९७ लाख जरिमाना माग गरेको थियो ।
उनीसँगै अन्य २० जनाको टोलीलाई विज्ञ सल्लाहाकारका रूपमा नियुक्ति गरिएको छ । गत चैत २७ गते मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मन्त्रीलाई राय सुझाव दिनका लागि सो समूह गठन गरेको जनाइएको छ ।
विवाद नम्बर ४ : जहाँ पुग्यो, त्यही विमानस्थल बनाइदिने आश्वासन
मन्त्री भएपछि रवीन्द्र अधिकारीले विमानस्थल भएको जिल्लामा विमान सञ्चालन गर्ने आश्वासन दिँदै आएका छन् । तर त्यहाँको पूर्वाधारको अवस्थालाई भने कुनै ख्याल गरिएको छैन ।
बाग्लुङको बलेवा, इलामको फाल्गुनन्द, आछामको साँफेबगर, गुल्मीको रेसुङ्गामा उनी आफै सहभागी विमानको परीक्षण उडान पनि गराए । तर त्यहाँको भौतिक पूर्वाधार भने विमान उडाउनका लागि उपयुक्त नभएको नागरिक उड्डयन प्राधिकरणका कर्मचारी नै बताउँछन् ।
गुल्मीको विमानस्थल धुले मैदान छ भने इलाम तथा बाग्लुङको विमानस्थल पनि गतिलो छैन । त्यहाँ तत्काल विमान जाने अवस्था नभए पनि मन्त्रीले चर्चा कमाउनका लागि गरेको भन्दै आलोचना भइरहेको छ ।
विवाद नम्बर ५ : अङ्गरक्षकलाई छाता
गत महिना सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल खोज्नका लागि मन्त्री अघिकारी सुर्खेतका सम्भावित ठाउँको स्थलगत अवलोकनमा लागि हिँडेका थिए तर पानी प¥यो । पानी परेपछि सुरक्षाकर्मीले उनलाई छाता ओडाए । पानी रोकियो, हिँड्दा उनलाई गर्मी भयो । त्यसपछि उनले आफ्नो कोट फुकालेर नेपाली सेनाबाट खटिएमा सुरक्षाकर्मीलाई कोट बोकाए ।
यसबारेको फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । धेरैले युवा नेता रवीन्द्र अधिकारीबाट यस्तो अपेक्षा नगरेको भन्दै दुःख व्यक्त गरे भने उनले शामन्ती शैली देखाएको भन्दै आलोचिनासमेत भयो । यसबारेमा उनले अहिलेसम्म सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन् ।