नेकपाले तत्काल साढे १२ करोड कोष बनाउँदै , लेबीबाटै ७ करोड, यसरी पाउँदैछ विधानले अन्तिम रुप
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मासिक करोडौँ जम्मा हुने गरी पार्टी कोष सञ्चालन गर्ने तयारी गरेको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भइसके पनि नवगठित पार्टीका नाममा कोष सञ्चालन भने भइसकेको छैन ।
महासचिव विष्णु पौडेलले नेकपाको नाममा छिट्टै पार्टी कोष सञ्चालन गर्ने तयारी भइरहेको बताए । ‘हामी छिट्टै नेकपाको नाममा पार्टी कोष सञ्चालन गर्दै छौँ, पौडेलले भने, ‘त्यसका लागि केही प्रक्रिया पूरा गर्न बाँकी छ ।’
लेबीबाटै मासिक सात करोड उठाउने तयारी
नेकपाले पार्टीका संगठित सदस्यहरूबाटै मासिक कम्तीमा ७ करोड रुपैयाँ लेबी उठाएर पार्टी चलाउने तयारी गरेको छ । तत्कालीन एमालेका ४ लाख र माओवादी केन्द्रका करिब ३ लाखसहित ६ महिनाभित्र करिब ७ लाख नेकपाका संगठित सदस्य हुनेछन् ।
पार्टीको प्रस्तावित विधानमा ६ महिनाभित्र नेकपाको नयाँ संगठित सदस्यता कायम गर्ने भनिएकाले दुवैतर्फका कार्यकर्ताहरूले सदस्यता नवीकरण गरिसक्नेछन् ।
विधानको धारा ६२ मा एक संगठित सदस्य बराबर १ सय रुपैयाँ मासिक लेबी उठाउने प्रस्ताव गरिएकाले करिब ७ करोड रुपैयाँ पार्टी कोषमा जम्मा हुने नेकपाले अनुमान गरेको छ । तर, लेबीको पैसा थोरै प्रतिशत तल्ला कमिटीहरूले राखेर केन्द्रीय कोषमा जम्मा गर्नेछन् ।
पार्टी चलाउन चन्दा र परियोजनाबाट पैसा
नेकपाको विधानमा ७ प्रकारले प्राप्त रकमबाट कोषमा रकम जम्मा गरेर पार्टी सञ्चालनको प्रस्ताव गरिएको छ । जसअनुसार तोकिएको शुल्क र लेबीबाट, चन्दा सहयोगबाट, प्रकाशन बिक्री वितरणबाट, पार्टी सम्पत्तिको परिचालनबाट, विशेष कार्यक्रम या अभियानबाट रकम संकलन गरिने उल्लेख छ । त्यस्तै, पार्टीको लगानीमा सञ्चालित परियोजनाबाट र पार्टी एकताबाट प्राप्त रकमबाट कोष सञ्चालन हुने विधानको धारा ६२ मा उल्लेख छ ।
विनियमबाट कार्यकर्ता संरक्षण कोष
नेकपाले विधानको धारा ६३ मा कार्यकर्ता संरक्षण कोष सञ्चालनको व्यवस्था गरेको छ । छुट्टै विनियमअनुसार सञ्चालन गरिने त्यस्ता कोष केन्द्रीय कमिटीको अनुमति लिएर प्रदेश र जिल्ला तहमा पनि सञ्चालन गर्न पाइने उल्लेख छ ।
तत्कालीन एमालेले ईश्वर पोखरेल संयोजक रहेको पार्टी कार्यकर्ता संरक्षण कोष बनाए पनि पूर्ण रूपमा सञ्चालन हुन सकेको थिएन । यद्यपि, कोषमा भने सवा करोड रुपैयाँ रहेको छ ।
तत्कालीन माओवादी केन्द्रमा भने त्यस्तो कोष नरहे पनि पार्टी कोषबाटै आपत्विपत्मा परेका कार्यकर्तालाई सहयोग गर्ने गरिएको केन्द्रीय कार्यालय सचिव प्रह्लाद बुढाथोकीले बताए ।
कोषमा तत्काल साढे १२ करोड
पार्टी एकतासँगै नेकपाको नाममा तत्काल साढे १२ करोड रुपैयाँ जम्मा हुने भएको छ । नवगठित पार्टीको नाममा खाता खुलेलगत्तै तत्कालीन एमालेबाट पार्टी कोषको ११ करोड र कार्यकर्ता संरक्षण कोषको सवा करोड जम्मा हुनेछ । तर, तत्कालीन माओवादी केन्द्रबाट भने कति रुपैयाँ जम्मा हुने कुनै टुंगो छैन । यद्यपि, केही रकम जम्मा गरिने माओवादी नेताहरूको भनाइ छ ।
साबिक एमाले १२ करोड नाफामा, माओवादी घाटामा
तत्कालीन एमालेको पार्टी कोष नाफामा छ भने माओवादी केन्द्रको पार्टी कोष घाटामा छ । साबिक एमालेको कोषमा अहिले ११ करोड र कार्यकर्ता संरक्षण कोषमा सवा करोड रहेको तत्कालीन लेखा आयोगका सचिव खेम पौडेलले बताए ।
उता, माओवादी केन्द्रको कोष भने घाटामा रहेको छ । ‘हाम्रो कोष घाटामा छ, सापट गरेर पार्टी चलाउँदै आएका थियौँ, तत्कालीन माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले भने, ‘तत्कालीन एमालेले जस्तो हाम्रोमा व्यवस्थित ढंगले लेबी नउठ्दा घाटामा पार्टी चलाउँदै आयौँ, अहिलेचाँहि २÷४ महिनायता सांसद भएका साथीहरूको केही लेबी कोषमा जम्मा भएको छ ।’
तल्ला कमिटीले पनि कोष चलाउने
नेकपाको विधानमा सबै प्रदेश तथा स्थानीय पार्टी कमिटीहरूले पनि पार्टी कोष चलाउन पाउने व्यवस्था गरेको छ । ‘प्रदेश तथा स्थानीय पार्टी कमिटीहरूले आफ्नो कमिटीका तथा मातहतका कमिटीका सदस्यता शुल्क एवं लेबी र शुभचिन्तकहरूको सहयोग संकलन गरी आफ्नो तहको कोष सञ्चालन गर्न सक्नेछन् ।’ विधानमा भनिएको छ ।
यस्तो बन्दै छ विधान
केन्द्रीय कमिटीका ४४१ नेताको वरीयताक्रम निर्धारण : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले ४४१ केन्द्रीय नेताकै वरीयताक्रम निर्धारण गर्ने भएको छ । वरीयता निर्धारणमा सहजताका लागि नेकपाले सदस्यहरूको राजनीतिक पृष्ठभूमिसहितको व्यक्तिगत विवरण संकलन गरिरहेको छ ।
नेकपाको विधानले पदाधिकारी र केन्द्रीय सदस्यहरूको वरीयताक्रम निर्धारण र कार्यविभाजन गर्ने अधिकार केन्द्रीय कमिटीलाई दिएको रहेको आजको नयाँपत्रिकामा समाचार छ । विधानको धारा १९ मा केन्द्रीय कमिटीका अधिकारबारे भनिएको छ, ‘केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरूको वरीयताक्रम निर्धारण गर्ने र कार्यविभाजन गर्ने ।’
स्थायी समिति सदस्यहरूको अन्तिम सुझाब समेटेर विधान प्रकाशन गर्ने नेकपाको तयारी छ । तर, सबै सदस्यको वरीयता निर्धारण गर्ने कि नगर्ने निर्णय केन्द्रीय कमिटीले नै गर्नेछ ।
राजनीतिक पृष्ठभूमिसहितको अभिलेख संकलन
पार्टी एकीकरणलगत्तै नेकपाले ४४१ केन्द्रीय सदस्यहरूको अभिलेख संकलनलाई तीव्रता दिइरहेको छ । केन्द्रीय सदस्यहरूले राजनीतिक पृष्ठभूमिसहितको व्यक्तिगत विवरण उल्लेख गरेर केन्द्रीय सचिवालयलाई बुझाइरहेका छन् ।
सबै सदस्यको अभिलेख संकलन भइरहेको केन्द्रीय सदस्य विष्णु रिजालले बताए । व्यक्तिगत विवरणभित्र केन्द्रीय सदस्यहरूले शैक्षिक योग्यता, रुचि, प्रकाशित कृति, पारिवारिक विवरण, संक्षिप्त राजनीतिक पृष्ठभूमि, पार्टी सदस्यता प्राप्त मिति र नम्बर उल्लेख गरेका छन् ।
नौ जनाको मात्र वरीयता, सबैको वर्णानुक्रममा नाम
नेकपामा अहिले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’सहित ९ सदस्यीय सचिवालयका नेताहरूको मात्र वरीयता निर्धारण गरिएको छ । ४५ सदस्यीय स्थायी समितिमा तत्कालीन एमाले र माओवादी केन्द्रका स्थायी समिति सदस्यहरूको पुरानै वरीयताअनुसार नाम राखिएको छ । तर, केन्द्रीय सदस्यहरूको भने वर्णानुक्रमअनुसार राखिएको छ ।