पहिरोका कारण पर्ख र हेरको अवस्थामा नारायणगढ–मुग्लिन सडक यो वर्ष पहिरोरोक्न नसकिने



हाम्रो इकोनोमि

नारायणगढ–मुग्लिन सडकखण्डको चोरखोलादेखि टोपेखोलासम्म निरन्तर खसिरहेको पहिरो यस वर्ष रोक्न सम्भव नरहेको विज्ञहरुले बताएका छन् ।

वर्षात् भएसँगै मुग्लिनबाट चार किलोमिटर नारायणगढतर्फ पर्ने टोपेखोला र तीन किलोमिटर ३०० मिटर दूरीमा पर्ने टोपेखोलाबीचको ७०० मिटर क्षेत्रमा पहिरो खस्ने गरेको छ । सोही क्षेत्रमा चार किलो भन्ने क्षेत्र पनि पर्छ ।

अधिकांश पहिरो टोपेखोला, चारकिलो र चोरखोलामा खस्ने गरेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका भू–प्रविधिसम्बन्धी परामर्शदाता टुकलाल अधिकारी सो क्षेत्रमा खसेको पहिरो यो वर्षात्मा नियन्त्रण गर्न नसकिने बताउनुहुन्छ । उहाँले सामान्य ढंगबाट पानी तर्काएर पहिरो घटाउने र सुरक्षा सावधानी अपनाउनेबाहेक अन्य उपाय नभएको बताउनुभयो ।

सो ठाउँको माटो खुकुलो भएको र चट्टानहरु साना साना टुक्रा रहेका कारण तत्काल रोक्न नसकिने र स्वायल नेल प्रविधि अपनाउनुपर्ने अधिकारीले बताउनुभयो । उहाँका अनुसार यो प्रविधिमा १० देखि १५ मिटरको रड भित्तोमा ड्रिल गरेर छिराउनुपर्ने हुन्छ । रडसँग पाइपको माध्यमबाट सिमेन्ट छिराएर भित्रको मजबुत लेयरसँग बाँध्नुपर्ने हुन्छ । बाहिरपट्टि पनि रडसँगै सिमेन्टले भित्तो ढलान गर्नुपर्ने उहाँले बताउनुभयो ।

हिउँदको समयमा मात्रै यो प्रविधिबाट काम गर्न सकिने बताउँदै उहाँले मनसुन बन्द भएपछि विज्ञहरुले यसको अध्ययन गरी डिजाइन तयार गरेर काम गर्नुपर्ने बताउनुभयो । सरकारले ध्यान दिएर समयमै काम थालेमा अर्को वर्षको वैशाख जेठसम्ममा यो प्रविधिबाट पहिरो रोक्न सकिने उहाँले बताउनुभयो । छोटो प्रक्रियाबाट गर्दा केही छिटो काम सकिने उहाँले बताउनुभयो ।

यो प्रविधि उच्चस्तरको र निकै खर्चिलो भएको पनि उहाँले बताउनुभयो । यो प्रविधिबाट पहिरो रोक्दा काम थोरै देखिने तर लागत धेरै लाग्ने गर्छ ।

कुलेखानीको बाँधको दुवैतर्फ, अरनिको राजमार्गलगायतका ठाउँमा यो प्रविधिबाट पहिरो नियन्त्रण गर्ने काम भएको उहाँले बताउनुभयो ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुराल विज्ञहरुले विभिन्न उपायहरु बताइरहेको भए पनि मनसुन नहटेसम्म पहिरो रोक्ने कुनै पनि काम गर्न नसकिने बताउनुहुन्छ । एकै क्षेत्रमा पहिरो खसिरहेको भन्दै उहाँले अहिले सावधानी अपनाउने र यथाशक्य छिटो पहिरो हटाउनेतर्फमात्रै आयोजना लागेको बताउनुभयो ।

स्वायल नेलजस्तै गरी युरोपियन क्रिस्मर प्रविधिबाट पनि पहिरो रोक्न सकिने विज्ञहरुले सुझाव दिएको उहाँले बताउनुभयो । यो प्रविधिमा बाहिर फलामको पाता राखेर भित्र ड्रिल गरी बलियो भागसँग जोड्ने काम गरिन्छ । यसका अतिरिक्त विभिन्न सुझाव आइरहेको भन्दै उहाँले मनसुन सकिएपछि विज्ञहरु बोलाएर विस्तृत अध्ययन गरी उपयुक्त उपायको खोजी गरिने बताउनुभयो ।

वर्षात्मा ठूलो पहिरो खसेर पहाडले आफैँ सतह मिलाएमा पहिरो नियन्त्रण सामान्य ढंगले गर्न सकिने पनि उहाँले बताउनुभयो । त्यसको पर्खाइमा पनि आयोजना रहेको छ ।

आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सो क्षेत्रको टोपेखोला र चोरखोलामा १०० मिटरमाथिबाट पहिरो खसेको छ भने चार किलोमा ७० मिटर माथिबाट पहिरो खसेको छ । खनालका अनुसार चार किलोको डाँडो साना–साना ढुंगाले अड्याएको कमजोर भौगोलिक बनोटको छ भने चोरखोला र टोपेखोलामा माटोको मात्रा बढी र खुकुलो रहेको छ ।

उक्त क्षेत्रमा तीन मिटरसम्म भित्तो काटेर सडक विस्तार गरिएको छ । नारायणगढ–मुग्लिन सडकखण्ड स्तरोनतिको काम अन्तिम चरणमा पुगेको छ । यसै क्रममा अधिकांश ठाउँमा भित्तो काटेर सडक चौडा गरिएको छ । सो सडकको अन्य ठाउँको भित्तो कडा चट्टान र खँदिलो माटो भएकाले पहिरो रोक्ने काम सहज बनेको छ । सडकका अन्य ठाउँमा पहिरो रोक्नका लागि बायोइञ्जिनियरिङ, रक बोल्टिङ, नेट मिटिङलगायतका प्रविधि प्रयोग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...