पुल निर्माण नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य



हाम्रो इकोनोमि

सरकारी निकाय र सरोकारवालाहरुको बेवास्ताका कारण झापा अर्जुनधारा–१ स्थित ठूलो नेते खोलामा पुल निर्माण नहुँदा त्यस क्षेत्रका बासिन्दा वर्षौंदेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

अर्जुनधारा–१ र २, इलाम जिल्लाको दक्षिणी भेगमा रहेको रोङ गाउँपालिका र सूर्योदय नगरपालिकाका केही वडा गरी अनुमानित एक हजार ५०० घरधुरीका परिवार प्रत्यक्ष लाभान्वित हुने सो खोलामा पुल निर्माण हुनु अति आवश्यक भएको स्थानीयवासी बताउँछन् । वर्षाको समयमा समस्या आउँदा पुल निर्माणको कुरा हुने तर वर्षा सकिदा कुरा पनि सकिने गरेको स्थानीय हलुवागढ सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष अम्बरबहादुर सुवेदीले बताउनुभयो ।

सो खोलामा पुल नहुँदा दैनिक सञ्चालन हुने यातायातका साधनहरु, विद्यालय आउने विद्यार्थी, बिरामी लिएर आउने एम्बुलेन्स र दैनिक आवतजावत गर्ने स्थानीयवासीलाई मुख्य समस्या हुने गरेको उहाँको गुनासो थियोे ।

त्यसैगरी, रोङ गाउँपालिका–२ स्थित बरफल्याङ निवासी जगतनिधि घिमिरेले गत वर्षको बाढीमा आफू मोटरसाइकलसहित करीब ५० मिटर बगेको जानकारी गराउँदै सो खोलामा पक्की पुल आवश्यक भएको बताउनुभयो । कृषि सडकअन्तर्गत पर्ने सो खोलाको पुल निर्माण भए सबै समयमा कृषिजन्य सामग्री ल्याउन पनि सहज हुने उल्लेख गर्दै स्थानीय हलुवागढ सामुदायिक वन उपभोक्ता समूहका सचिव रंगलाल मिश्रले भन्नुभयो, “सरकारी निकायको नजर नपरेका कारण पुल निर्माण हुन सकेन ।”

पुल निर्माण गर्ने विषयमा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानासँग बुझ्दा रोङ गाउँपालिका र नगरपालिकाको सहकार्यमा आन्तरिक स्रोतबाट आगामी आर्थिक वर्षमा पुल निर्माण गर्ने जानकारी दिनुभयो ।

यता रोङ गाँउपालिकाका अध्यक्ष शमशेर राई अनुमानित रु दुईदेखि तीन करोड पुल निर्माणमा लाग्ने भएको ठूलो लगानी स्थानीय तहले मात्र जुटाउन नसक्ने हुँदा दुवै तहको प्राथमिकतामा राखी प्रदेश र संघमा योजना पठाउने बताउनुभयो ।

फड्के पुल निर्माण हुँदै

स्थानीय हलुवागढ, अर्जुनधारा–२ स्थित शान्ति सामुदायिक वन उपभोक्ता समूह र रोङ गाउँपालिका–२ स्थित बरफल्याङ सामुदायिक वन उपभोक्ता समूहको संयुक्त पहलमा ठूलो नेते खोलामा १५० फिट लामो फड्के पुल निर्माण भइरहेको छ ।

वर्षाको समयमा स्थानीयवासी, दुई पाङ्ग्रे सवारी साधनलाई आवातजावतमा सहज होस् भन्न उद्देश्यले समूहको संयुक्त पहलमा रु चार लाखको लगानीमा सो पुल निर्माण भइरहेको सचिव मिश्रले जानकारी दिनुभयो । उक्त पुलको दुवै भागमा आवश्यक जाली वडा समितिले उपलब्ध गराउने अर्जुनधारा–१ वडा समितिका सदस्य माधव आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...