केन्द्रीय कारागारमाक्षमता दोब्बर बन्दीकैदी, यस्तो छ बन्दीको हालत



हाम्रो इकोनोमि

सुन्धारास्थित कारागार कार्यालय, जगन्नाथ देवलको क्षमताभन्दा बढी कैदी रहेको पाइएको छ ।

महान्यायाधिवक्ताको कार्यालय र राष्ट्रिय मानव अधिकार आयोगको टोलीले गरेको अनुगमनमा उक्त कारागारमा क्षमताभन्दा बढी कैदी रहेको पाइएको हो ।

कारागारका प्रमुख गणेशप्रसाद भट्टराईले भौतिक संरचनाको अभावमा कारागारमा रहेका बन्दीलाई सुविधा दिन नसकिएको बताउनुभयो । उहाँले प्रहरी अनुसन्धान र न्याय दिन ढिलो हुने गरेकाले बन्दीलाई समस्या भएको बताउनुभयो ।

विसं १९७१ मा स्थापना भएको उक्त कारागारको क्षमता एक हजार २५० भए पनि अहिले कारागारमा करीब दुई हजार ७५० कैदी र थुनुवा रहेको कारागारका प्रमुख गणेशप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँले क्षमताभन्दा बढी कैदी रहेकाले कैदीलाई बस्न पनि समस्या भएको बताउनुभयो ।

उहाँले भौतिक संरचनासमेत जीर्ण रहेकाले उक्त कारागारबाट अन्यत्र सारी कैदीलाई वैकल्पिक व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले कारागारमा क्षमताभन्दा बढी कैदी र थुनुवा भएकाले समस्या परेको बताउनुभयो ।

“भौतिक संरचना साना भएकाले कैदी र थुनुवालाई अलगअलग राख्नुपर्ने भएको छ”, उहाँले भन्नुभयो, “पहिलेभन्दा कारागारको अवस्थामा सुधार भए पनि अझै स्वास्थ्य खानेपानी र बस्न खानमा समस्या रहेको छ ।”

महान्यायाधिवक्ता खरेलले प्रशासनिक र मुद्दाका मामिलामा समस्या देखिएको बताउनुभयो । “समयमा कैदी र थुनुवाका फैसला नहुनेजस्ता समस्या देखिएका छन्”, उहाँले भन्नुभयो, “अब ती समस्यालाई महान्यायाधिवक्ता कार्यालयले सम्बोधन गर्नेछ ।” उहाँले साउनदेखि कैदीलाई दिइँदै आएको रकम रु ६५ बढाउन थालिएको समेत जानकारी गराउनुभयो ।

आयोगका सदस्य सुदीप पाठकले संयुक्त राष्ट्र संघले तयार पारेको अन्तर्राष्ट्रिय मान्यताअनुरुप कारागार नभएको बताउनुभयो ।

“कारागारमा कैदीको खान बस्नदेखि स्वास्थ्य, शिक्षाका न्यूनतम आधारसमेत पूरा नभएको देखियो”, उहाँले भन्नुभयो, “राज्यले दिएको सुविधा पनि अपर्याप्त भएकाले सुविधा बढाउनु पर्छ ।”

कार्यालयका शाखा अधिकृत श्रवणकुमार साहले कारागार ऐन–२०१९ र कारागार व्यवस्थापन नियमावली–२०२० अनुसार कैदी र थुुनुवालाई अलगअलग राख्ने हो भने समस्या समाधान हुने बताउनुभयो ।

उक्त कारागार कार्यालयमा केन्द्रीय बन्दीगृहमा एक हजार ६४७, भद्र बन्दीगृहमा ७७० र महिला बन्दी गृहमा ३२९ जना रहेका छन् ।

महिला बन्दीमा बसिरहेकी शारदा श्रेष्ठले महिलामाथि फितलो अनुसन्धान गरेर फसाउन थालिएकाले धेरै महिला निर्दोष भएर बन्दी जीवन बिताइरहेको गुनासो गर्नुभयो । उहाँले धेरै निर्दोष महिला कारागारमा परेको हुनाले महिलाका बारेमा सत्यतथ्य छानबिन गर्नुपर्ने बताउनुभयो ।

अर्का बन्दी पासाङ तामाङले खानेपानी, स्वास्थ्य र बस्नका लागि समस्या भएको बताउनुभयो । उहाँले वर्षा हुनासाथ बस्ने ठाउँमा पानी चुहिने गरेको बताउनुभयो । बन्दी जीवनमा मनोरञ्जन गर्नका लागि साधनसमेत नभएको उहाँको गुनासो छ ।

कारागारमा ३५० जना विदेशीमध्ये २६ जना महिला रहेका छन् । विदेशीहरु बढीजसो लागुऔषध कारोवार र प्रवेशाज्ञा अनुमतिपत्र सकेर नेपाल बसेकाहरु रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...