भण्डारा मलेखु, ठोरी केरूङ मार्ग कालोपत्रे हुँदै, चितवन काठमाडौंको दूरी पनि छोटिने



भारत र चीनलाई सबैभन्दा छोटो दूरीमा जोड्ने ठोरी-केरूङ मार्ग कालोपत्रेको काम अघि बढाइएको छ । चितवनको भण्डाराबाट धादिङको मलेखुसम्मको ६२ किलोमिटर लामो चेपाङ मार्गको चितवन खण्डअन्तर्गत ११ किलोमिटर र धादिङमा ११ किलोमिटर सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता भइ काम सुरु भएको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख धर्मेन्द्रकुमार झाका अनुसार चितवनतर्फको साढे चार किलोमिटर कालोपत्रे र साढे ६ किलोमिटर सडकको बेस विच्छ्याउने काम भइरहेको छ । राप्ती नगरपालिकाको आँपपानीदेखि थाकलटारसम्म सडक कलोपत्रे गर्न बेस बिच्छ्याइएको छ ।

धादिङतर्फ भने ११ किलोमिटर कालोपत्रे गर्ने ठेक्का बमोजिम ८ किलोमिटर सडक चौडा पार्ने काम भएको प्रमुख झाले जानकारी दिए । चितवन र धादिङबाट ११/११ किलोमिटर कालोपत्रे गर्न २४ करोड रुपैयाँमा ठेक्का सम्झौता भएर काम धमाधम भइरहेको छ ।

२२ किलोमिटर सडक निर्माणको काम असोज महिनाभित्र सम्पन्न गरी बाँकी सडक खण्ड निर्माणको लागि अर्को टेण्डर आहृवान गर्ने सरकारी योजना रहेको झाले बताए । ठेक्का सम्झौता भएको २२ किलोमिटर सडकको काम ७० प्रतिशत पूरा भइसकेको कार्यालय प्रमुख झाले दावी गरे ।

भण्डारा-मलेखु सडक चार वर्षभित्र सम्पन्न गर्ने गरी तीव्र गतिमा काम भइरहेको छ । सो सडक खण्डअन्तर्गत चितवन खण्डमा ३९ र धादिङ खण्डमा २३ किलोमिटर पहाडी सडक निर्माण हुनेछ ।

भण्डाराबाट मलेखुसम्मको सडकखण्ड ६२ किलोमिटर भए पनि ठोरीदेखि मलेखुसम्म १३२ किलोमिटर सडक निर्माण हुने छ ।

यो सडकमा साढे पाँच मिटर कालोपत्रे र सोल्जरसहित सात मिटरको निर्माण हुने सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख झाले बताए । ठोरीबाट भण्डारा जोड्न चितवन निकुञ्जले अनुमति दिनुपर्ने भएकाले केही झन्झट रहेको कार्यालयका प्रमुख झाको भनाई छ ।

चेपाङ मार्गअन्तर्गत राप्ती नगरपालिकाको वडा ११ हात्तीढाप र वडा नं. १२ ढिटार जोड्ने लोथर खोलामा ९० मिटरको पुल निर्माणको काम भइरहेको छ ।

१४ करोडको लागतमा पुल निर्माणको काम भइरहेको छ । चितवनको भण्डाराबाट कोराक, थाकलटार, देउरालीटार, कपरतक भञ्ज्याङ, वासवाङ हुँदै धादिङ जिल्लाको सिमाना कान्द्राङगढीबाट महादेवस्थान र मलेखु पुग्न सकिन्छ ।

ठोरीबाट सुरु गरेर रसुवागढीसम्म सो सडक पुर्‍याउने सरकारी योजना रहे पनि तत्काल चितवनतर्फ भण्डाराको प्यारीढाप र मलेखुको धार्दिङबाट निर्माण कार्य सुरु भएको छ । वासवाङ ताल्तीखोला छेउबाट सुरूङमार्ग बनाउने प्रस्ताव एशियाली विकास बैंकले गरेको छ । यसो हुँदा भण्डारा-मलेखु सडकको ६२ किलोमिटरको दूरी ५० किलोमिटरमा छोटिने छ ।

‘पुरानो ट्रयाकबाट माथि स्थानीयहरुको घरसम्म जाने सडक पनि कायम हुन्छ मुुख्य हाइवेका रुपमा खोलाको किनारै किनार सडक जान्छ,’ चितवन १ का सांसद सुरेन्द्र पाण्डेले भने, ‘जनताको वस्ती वस्तीमा सडक लैजानु राम्रो कुरा हो तर हाइवेलाई अनावश्यक घुमाउनु राम्रो होइन ।’

चेपाङ मार्ग यसै वर्षदेखि एडीबीको प्रोजेक्टमा परेको छ । सन् २०१९ बाट सडकको स्तरोन्नती र पिचको काम अगाडि बढ्ने नेता पाण्डेले जानकारी दिए । सडक २ लेनको हुनेछ ।

चीन र भारतलाई सबैभन्दा छोटो दूरीमा जोड्ने मार्गको घाँटी नै यही चेपाङ मार्ग हो । धुन्चेको बाटो परिवर्तन गरी बेत्रावतीदेखि त्रिशुली खोलाको किनारै किनार स्याफ्रुबेंसीसम्म नेपाली सेनाको ट्रयाक खोल्ने भर्खरै सिध्याएको छ । धादिङको गल्छीदेखी त्रिशुलीसम्म पनि सडक फराकिलो बनाउने काम सुरु भएको छ ।

भण्डाराबाट भरतपुर, मुग्लिन हुँदै मलेखुसम्म जान १०६ किलोमिटर लामो पर्छ । चेपाङमार्गले १०६ किलोमिटर दूरीको राजमार्ग ४४ किलोमिटर छोटो हुनेछ । यसले समय र इन्धन दुवैको बचत गर्छ

चेपाङ मार्गका तीन फाइदा

भण्डारा मलेखु सडक सञ्चालनमा आएपछि प्रत्यक्षरुपमा तीनवटा फाइदा देखिएको छ । पहिलो, नारायणगढ-काठमाडौं सडक खण्डमा सवारी साधनको चाप घट्नेछ भने सडककै कारणले पहाडी क्षेत्रमा बसोबास गर्ने सीमान्तकृत चेपाङ समुदायको जीवनस्तर सुधारिने छ । चेपाङहरुका अर्गानिक उत्पादनहरुले सहज बजार पाउनेछन् ।

सो सडक निर्माण भएपछि चितवनबाट काठमाडौं जाने यात्रुको सडक दूरी छोटिने छ । भण्डाराबाट भरतपुर, मुग्लिन हुँदै मलेखुसम्म जान १०६ किलोमिटर लामो पर्छ ।

भण्डारा-मलेखु चेपाङ राजमार्ग ६२ किलोमिटर मात्र रहेकाले ४४ किलोमिटर दूरी कम हुने डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर कृष्णप्रसाद आचार्यले बताए ।

त्रिशुली नदीका कारण जोखिम पनि उत्तिकै छ । मलेखु-भण्डारा ६२ किलोमिटर दूरीलाई ५० किलोमिटरभित्रै झार्ने तयारी गरिएको छ । चेपाङ मार्ग बनेपछि भण्डाराबाट मलेखुसम्म पुग्न ४४ किलोमिटर छोटो दूरी छोटो पर्नेछ ।

साथै यो सडक नारायणगढ-मुग्लिन सडकखण्डको विकल्पका रुपमासमेत प्रयोग सकिने सजिलो सडक खण्डमध्येको एक बन्ने छ । १०६ किलोमिटर दूरीको राजमार्ग ४४ किलोमिटर छोटो भएसँगै यसले समय र इन्धनको बचत गर्छ ।

चेपाङहरू बसमा सरर…

सो सडकको ट्र्याक खोलेपछि भण्डाराबाट यौरेलीटारसम्म सवारी साधन चल्न थालेका छन् । पहाडी क्षेत्रमा गाडी चल्न थालेपछि चेपाङ समुदायलाई आफूले उत्पादन गरेको सामाग्रीहरु बजारसम्म ल्याउन सहज भएको छ ।

‘बस चल्न थालेपछि धेरै सजिलो भएको छ,’ राप्ती नगरपालिका १३ कालिटारका जमानसिंह प्रजाले भने ‘पहिला ५ घण्टा हिँडेर भण्डारामा जानुपर्थ्यो अहिले चाँडै पुगिन्छ ।’

उनले आफूले उत्पादन गरेको कृषि सामाग्री बसमै हालेर बजारसम्म लैजाने गरेको सुनाए । सडकको सहज पहुँच नभएका कारण विगतमा चेपाङले उत्पादन गरेका सामग्री गाउँमा नै कुहिएर फाल्नु पर्ने अवस्था रहेको थियो भने, गाउँमा नै दलालहरुले किन्दा निकै सस्तोमा बेच्नुपर्ने बाध्यता थियो ।

चेपाङले उत्पादन गरेका खसीबोका, मह, तरकारी जडिबुटी सडक अभावको कारण बजारसम्म लैजान नसकेर बस्तीमै पुगेका व्यापारीलाई चेपाङहरुले सस्तो मूल्यमा बिक्री गर्दै आएका थिए । तर अहिले भाउ समेत पाउन थालेका छन् ।

उनीहरुको सामान बिक्री गर्ने मुख्य बजार भण्डारा भएको छ । यो सडकमा बस चल्न थालेपछि चेपाङहरुले उत्पादन गरेका सामाग्री बजारसम्म ल्याएर उचित मूल्यमा बिक्री गर्न थालेको राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले बताइन् ।

‘सडककै कारण चेपाङ बस्तीमा चहलपहल सुरु भएको छ,’ मेयर बरालले भनिन्, ‘अहिले सडकले चेपाङ समुदायको दैनिकी नै परिवर्तन हुँदै गएको छ ।’ सुवास पण्डित अनलाईनखबरबाट

प्रतिक्रिया दिनुहोस
धवलशमशेर राणालाई गिजाको क्यान्सर

    राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणालाई क्यान्सर भएको छ ।

म माथी षड्यन्त्र गर्न खोज्दैछन् : रवि लामिछाने

    रास्वपाका सभापति रवि लामिछानेले सहकारीको समस्या समाधान गर्न भन्दा पनि आफूलाई

बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३३ पुग्यो

    यही असोज १२ गते आएको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको

दशैंको टीकाको साइत असोज २६ गते ११:३६ बजे

    नवरात्र भनेरसमेत चिनिने दशैं नौ रात र दश दिनको हुने गरेकामा