आजबाट हेटौंडामा हुन लागेको जिल्ला सभापतिहरूको भेलामा देउवाविरोधी मोर्चाले हान्दै सिटौला, यसरी बन्दैछन कांग्रेस भित्रको स्ट्राइकर



१३ औं महाधिवेशनमा सभापतिमा चुनाव लडेर ३२४ मत ल्याएका कृष्ण सिटौला यतिबेला कांग्रेसको आन्तरिक राजनीतिमा हावी भएका छन् । राजनीतिका चतुर खेलाडी सिटौलाको साथ र सहयोग दुवै पक्षका लागि अर्थपूर्ण हुन थालेको छ।  सभापतिमा शेरबहादुर देउवालाई जिताउन सहयोग गरेका सिटौला पछिल्लो समय देउवाविरुद्धको मोर्चामा सक्रिय भएका छन्। रामचन्द्र पौडेल पक्षसँग हिमचिम बाक्लिँदै गएको छ।

हालै ट्रेड युनियन कांग्रेसको अधिवेशनमा देउवाविरोधी खेमाले ‘क्लिन स्विप’ गर्‍यो। संस्थापन पक्षको पराजयको सूत्र सिटौला नै थिए। उनकै पहलमा पुष्कर आचार्यको समूहले शानदार जित हासिल गरेको छ । यो परिणामले कांग्रेसभित्रको समीकरणलाई तरंगित गरिदिएको छ। शालिन व्यक्तित्व, सरल स्वभाव र खरो रणनीतिका कारण सिटौलाले कांग्रेसको आन्तरिक शक्ति संरचनामा एकपछि अर्को गोल गर्दैछन्।

बाहिर पौडेल पक्षले जितेको खबर संप्रेषित भए पनि यसमा सबैभन्दा खुशी सिटौला छन्। किनभने पुष्कर स्वयम् सिटौलाका क्रियाशील सहयोगी हुन्।

सिटौलासँगको सहकार्यकै कारण यसअघि कर्मचारी युनियन, शिक्षक संघ, इन्जिनियर एसोसिएसनमा समेत देउवाविरुद्धको मोर्चा पराजित भएको छ। महत्वपूर्ण भातृ संस्थाहरूमा भोग्‍नु परिरहेको निरन्तरको पराजयले यतिबेला देउवा पक्षलाई ठूलै झट्का दिएको छ। देउवा पक्ष विस्तारै कमजोर भएको महशुस कांग्रेस वृत्तमा हुन थालेको छ।

४-५ असारमा हेटौंडामा हुन लागेको जिल्ला सभापतिहरूको भेला पनि संस्थापन पक्षका लागि त्यति सहज नहुने सन्देश ट्रेड युनियन कांग्रेसको चुनावी नतिजाले दिएको छ। त्यहाँ चर्को आलोचना र आक्रोश पोखिनेछ । त्यसबाट पनि देउवाविरोधी मोर्चाले थप मलजल हासिल गर्नेछ।

भदौमा बोलाउन तयारी भइरहेको महासमितिको बैठकसम्ममा असन्तुष्ट पक्षको आकार र प्रभाव अझ बढ्ने संकेतहरू देखिएका छन्। देउवाविरुद्धको मिसनमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, रामशरण महत, शेखर कोइराला, अर्जुननरसिंह केसी, केबी गुरुङ एक ठाउँमा उभिएका छन्। यो मिसनमा स्ट्राइकरको रूपमा मुभ गर्दैछन्, सिटौला ।

गिरिजाप्रसाद कोइरालाको विश्वास पात्रको रूपमा शान्ति प्रक्रिया तथा राजनीतिक परिवर्तनको व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका सिटौलाको कांग्रेसभित्रका सबै गुटसँग नराम्रो सम्बन्ध छैन ।

वरिष्ठ नेताहरूसँग विश्वासको सम्बन्ध बनाउन सिपालु उनी कार्यकर्ता तहमा पनि लोकप्रिय छन् । युवा पुस्तालाई माया र प्रोत्साहित गर्ने सिटौलाको नरम शैली र खुला व्यवहारले गगन थापालगायत प्रखर युवा नेताहरू उनीसँगै छन् ।

सिटौला समूहबाटै गगन महामन्त्री लडेका थिए । शीर्ष तहमा पनि समीकरण र सन्तुलन मिलाएर अगाडि बढ्न जानेका सिटौलाले गगनलाई अघि सारेर युवा पुस्तालाई पनि आफ्नो ग्रिपमा राखेका छन् ।

अन्य दलहरूसँगको संवाद र सहकार्यमा पनि प्रभावकारी सहजकर्ताको भूमिका निर्वाह गर्नसक्ने सिटौलासँग छिमेकी सद्‌भाव र अन्तर्राष्ट्रिय सम्बन्धलाई उपयोग गर्ने खुबी पनि छ ।

२०६२/०६३ पछिको राजनीतिक कोर्समा सिटौलाको वैचारिक लाइन स्पष्ट छ । गणतन्त्र, संघीयता, धर्म निरपेक्षताजस्ता मुद्दामा उनी निरन्तर अडिएका छन् ।

‘कहिले राजातन्त्र पनि ठीकै थियो, कहिले गणतन्त्र धर्मराउन लाग्यो, कहिले हिन्दु राज्य चाहियो त कहिले संघीयता काम लाग्दैन’ जस्ता अभिव्यक्ति दिएर कांग्रेसभित्रै वरिष्ठहरू बरबराउँदा पनि उनले बोली फेरेका छैनन् । बेला-बेलामा अलमलिएको कांग्रेसलाई गणतन्त्रको गोरेटोमा बढाउन उनले निर्वाह गरेको भूमिका महत्वपूर्ण मात्र होइन, प्रशंसनीय पनि छ।

पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई बुढानीलकण्ठमै बढी केन्द्रित गरेका छन्, आफूलार्इ । देउवाको टिम पहिलेजस्तो संगठित छैन ।

त्यहाँभित्र पनि असन्तुष्टी र अविश्वासका धेरै खाडल निर्माण भइसकेका छन् । देउवालाई निरन्तर सघाउँदै आएका उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, बालकृष्ण खाँण, ज्ञानेन्द्र कार्की, रमेश लेखक, एनपी साउदलगायत विश्वासिला पात्रहरू यतिबेला बुढानीलकण्ठको शैली र संस्कारबाट त्यति प्रशन्‍न छैनन्।

देउवाको निर्णय तथा उनका हरेक मुभमा उनको टिमभन्दा पनि पत्‍नी आरजु राणा हावी हुन थालेको गुनासो संस्थापन पक्षकै नेताहरूले गर्न थालेका छन् । पछिल्ला दिनमा देउवा टिमसँग बसेर आफैं संवाद गर्न तथा फिडब्याक सुन्‍न चाहँदैनन् र हरेक विषयमा उनी आरजुलाई अगाडि सार्ने गरेका छन् ।

आरजुलाई उत्तराधिकारी बनाउने देउवाको सोचबाट संस्थापन पक्षका प्रभावशाली नेताहरू समेत झस्किन थालेका छन् । पार्टीभित्र देउवा अलोकप्रिय मात्र होइन, कमजोर पनि हुँदै गएको अवस्थालाई ध्यानमा राख्दै संस्थापन पक्षका ती नेताहरूले आन्तरिक बैठकमा समेत आफ्नो राजनीतिक भविष्यबारे चिन्ता र समीक्षा गर्न थालेका छन् । देउवाले आफू क्रियाशील हुँदासम्म कमान्ड नछोड्ने संकेत दिइसकेका छन्।

नेतृत्व हस्तानान्तरण गर्ने वा कसैलाई उत्तराधिकारीका रूपमा विकास गर्ने सोचसम्म देउवामा नदेखिएपछि सम्भावना बोकेका संस्थापन पक्षका नेताहरू पनि झस्किएका छन्।

पृष्ठभूमि, योगदान, क्षमता र व्यक्तित्वका हिसाबले नेतृत्वका लागि संभावित पात्रका रुपमा प्रस्तुत भएका निधिसमेत यतिबेला देउवाको एकलकाँटे शैलीका कारण खुम्चिनु परेको छ।

यी सबै कारणले गर्दा पनि हिजो सभापतिमा देउवालाई सघाएका सिटौला संस्थापनसँगको सम्बन्ध र सहकार्यलाई गाढा बनाउने मुडमा छैनन् । संस्थापन पक्षभित्रको आन्तरिक शक्ति संघर्षलाई सिटौलाले बडो ध्यानपूर्वक नियालिरहेका छन् ।

देउवा, पौडेल र सिटौलाबीचको टकरावमा खेलेर अगाडि बढ्ने रणनीतिमा रहेको कोइराला क्याम्पको पार्टीभित्रै आफ्नै खालको प्रभुत्व र प्रभाव छ । पौडेल पक्षबाट महामन्त्रीमा चुनाव जितेका शशांक कोइराला देउवासँग सम्बन्ध बिगार्ने पक्षमा छैनन् तर देउवा पक्षबाट भएका गल्ती तथा कमजोरीको स्वामित्व लिन उनी पनि चाहँदैनन् ।

संस्थापन पक्षप्रतिको गुनासो र असन्तुष्टीलाई उनी चनाखो भएर सुनिरहेका छन् । शेखर कोइराला र सुजाता कोइराला देउवाविरुद्धको मोर्चाबन्दीमा खुलेर लागिसकेका छन्।

सुशील कोइरालाको निधनपछि कोइराला परिवारबाट टाढिएका सिटौला यतिबेला कोइराला क्याम्पसँग पनि सम्बन्ध सुधार्न खोजिरहेका छन्। कोइराला क्याम्पलाई पनि देउवाविरुद्ध उपयोग गर्ने रणनीतिमा सिटौला सफल देखिएका छन् ।

शशांक र सुजातालाई मनाउने काम शेखरले गरिरहेका छन् । अर्जुननरसिंह केसी पनि कांग्रेसभित्रका पुराना खेलाडी हुन् । देउवा समूहबाट महामन्त्रीमा ज्वाइँ गगन थापासँगै भिडेका केसी यतिबेला देउवासँग रुष्ट छन् ।

देउवाविरोधी मोर्चामा केसीलाई सामेल गराउन सिटौलाको महत्वपूर्ण भूमिका छ । यसमा गगन थापासँगको पारिवारिक साइनोले पनि काम गरेको छ।

राजसंस्थाको बारेमा सफ्ट कर्नर राख्‍ने र हिन्दु राज्य पुन:स्थापनाको मुद्दामा समेत साथ दिँदै आएका खुमबहादुर खड्का र केबी गुरुङ समूह पनि देउवासँग टाढिएको छ । ट्रेड युनियन चुनावको नतिजाले त्यसको स्पष्ट संकेत दिएको छ ।

बेला-बेलामा राजावादी तथा हिन्दुवादीजस्तो देखिने यो समूह पनि देउवाविरोधी क्याम्पमा सामेल भइसकेको छ। यी सबै समूह तथा गुटहरूलाई एक ठाउँमा जम्मा पारेर देउवालाई कमजोर बनाउने अभियानको अभिभावक पौडेललाई बनाइए पनि यसको राजनीतिक लाभ भने सिटौलाले नै बढी हासिल गर्ने अवस्था देखिन्छ । नेपालसमयबाट

प्रतिक्रिया दिनुहोस
धवलशमशेर राणालाई गिजाको क्यान्सर

    राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणालाई क्यान्सर भएको छ ।

म माथी षड्यन्त्र गर्न खोज्दैछन् : रवि लामिछाने

    रास्वपाका सभापति रवि लामिछानेले सहकारीको समस्या समाधान गर्न भन्दा पनि आफूलाई

बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३३ पुग्यो

    यही असोज १२ गते आएको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको

दशैंको टीकाको साइत असोज २६ गते ११:३६ बजे

    नवरात्र भनेरसमेत चिनिने दशैं नौ रात र दश दिनको हुने गरेकामा