खानेपानी आयोजना निर्माण
मंगला गाउँपालिका–४ दुर्दीमा रु ७० लाखको लागतमा भित्रीवन खानेपानी तथा सरसफाइ आयोजना निर्माण भएको छ ।
गाउँपालिकाद्वारा सञ्चालित दोस्रो चरणको पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत रु ७० लाख तीन हजार ९९३ को लगानीमा निर्माण भएको आयोजनाबाट दुर्दीका ६८ घरधुरी लाभान्वित भएका छन् ।
सबैको घरमा निजी धारा जडान गरेर खानेपानी सुविधा उपलब्ध गराइएको उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर फगामीले बताउनुभयो । विसं २०५२ मा निर्माण भएको आयोजनाको धारा जीर्ण हुँदा खानेपानीको समस्या झेल्दै आएका दुर्दीवासीको घरघरमा खानेपानी धारा जडान भएपछि राहत मिलेको अध्यक्ष फगामीले बताउनुभयो ।
आयोजना निर्माणका लागि ६८ घरधुरी उपभोक्ताले चार महिनासम्म रु १९ लाख ४८ हजार ५०० बराबरको श्रमदान गरेका थिए । परियोजना र गाउँपालिकाले आर्थिक सहयोग गरेका छन् ।
दरवाङमा एम्बुलेन्स सेवा सञ्चालनमा
चालक र मर्मत अभावमा एक वर्षदेखि प्रयोगविहीन बनेको नेपाल रेडक्रस सोसाइटी दरवाङ उपशाखाको एम्बुलेन्स सेवा पुनः सञ्चालनमा आएको छ ।
मर्मत र चालकको व्यवस्था गरेपछि गत वर्षदेखि थन्किएको एम्बुलेन्स सेवा गत हप्तादेखि सञ्चालनमा आएको हो । रु एक लाख ४२ हजार खर्च गरेर एम्बुलेन्स मर्मत गरिएको उपशाखाकी सभापति याममती रोकाले बताउनुभयो । एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि मालिका, धौलागिरि र मंगला गाउँपालिकाका बासिन्दालाई सुविधा पुगेको छ । एम्बुलेन्स प्रयोगमा नआउँदा बिरामी ट्याक्सी रिजर्भ गरेर अस्पताल पुग्न बाध्य थिए ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले पाँच वर्षअघि सदरमुकाम बेनी, उत्तरी क्षेत्रका लागि भुरुङ तातोपानी र पश्चिमी क्षेत्रका लागि दरवाङ उपशाखालाई एम्बुलेन्स उपलब्ध गराएको थियो । स्थानीय तह र सरोकारवाला संघसंस्थासँग समन्वय गरेर एम्बुलेन्सलाई नियमित र प्रभावकारी रुपमा सञ्चालन गरिने सभापति रोकाले बताउनुभयो ।