सुन तस्करलाई ध्वस्त पार्न ओली सरकारले निकाल्यो यस्तो सुत्र,यी दुई पूर्व आइजी सहित दर्जन फन्दामा पर्दै



मिति २०७४ चैत १९ मा गृह मन्त्रालयको सभाहलमा आयोजित एक कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादल आफैले देशमा टनका टन सुन तस्करी भइरहेको खुलासा गरे । मन्तव्यको क्रममा गृहमन्त्री थापाले यस्तो खुलासा गरिरहँदा ड्यासमा आसीन नेपाल प्रहरीका तत्कालीन आईजीपी प्रकाश अर्यालको अनुहार एकाएक कालो भयो । गृहमन्त्री थापाले मुलुक तस्करहरुको कब्जामा रहेको र अर्बौंको तस्करी भइरहेको बताइरहँदा प्रमुख सुरक्षा निकाय नेपाल प्रहरीका आईजीपी मलीन अनुहार लिएर मन्तव्य सुनिरहेका थिए ।

तीनवटै सुरक्षा निकायका प्रमुख, गृह मन्त्रालयका उच्च अधिकारीहरु, सुरक्षा निकायका अधिकांश उच्च तहका अधिकृत तथा संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा गृहमन्त्रीले नै देशमा व्यापक रुपमा सुन तस्करी भइरहेको बताइरहँदा उपस्थितहरुले उक्त वक्तव्यलाई गृहमन्त्रीको निरीहताको रुपमा अथ्र्याए । गृहप्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्नको लागि मन्त्रालयमा आयोजना गरिएको विशेष कार्यक्रममा गृहमन्त्रीले सुन तस्करीको बिषय उठान गरिरहँदा उपस्थित केही सुरक्षा अधिकृतहरुको मुटुमा ढ्यांग्रो बज्न थालिसकेको थियो ।

हवाई तथा स्थल मार्गबाट दशकौंदेखि संगठित रुपमा भइरहेको सुन तस्करीले मुलुककोअर्थतन्त्र धराशायी हुँदै गइरहेको परिप्रेक्ष्यमा गृहमन्त्री थापाको उक्त वक्तव्यले मुलुक माफिया तस्कर र आपराधिक समूहको चंगुलमा फसेको सहजै अनुमान लगाउन सकिन्छ । तस्करीको सुनसम्बन्धी विवादमा तस्कर समूहकै एक व्यक्तिको हत्या भएको प्रकरणबाट विकसित घटनाक्रमले फागुन अन्तिम सातातिर आफूलाई उपलब्ध केही सबुद प्रमाणको आधारमा नै गृहमन्त्री थापाले उक्त विषय उठान गरेका थिए ।

त्रिभुवन विमानस्थल हुँदै गत माघ ९ गते नेपाल भित्रिएको तस्करीको ३३ किलो सुन काठमाडौंको मध्य बानेश्वरबाट गायब भयो । उक्त सुन लुटियो अथवा विमानस्थलबाट स्कुटरमा सुनले भरिएको सुटकेस ल्याउने सानु बन र तक्लु भन्ने पुण्य प्रसाद लामाले लुकाए रु त्यो अहिलेसम्म रहस्यको गर्भमै छ । विमानस्थलबाट सुन रिसिभ गरेर ल्याउने मध्येका थाई एयरवेजका सिनियर टेक्निसियन सानु बनले सोही घटनाको कारण विमानस्थलको रनवेमा गुडिरहेको इन्धन ट्यांकरमुनि हाम फालेर आत्महत्या गरिसकेका छन् ।

३३ किलो सुन गायब भएपछि सुनका मालिक गोरे भन्ने चूडामणि उप्रेतीको टर्चर सहन नसकेर बनले आत्महत्या गरेको अनुसन्धानमा खुल्न आएको छ । सोहि घटनामा गोरेले दिएको यातनाका कारण मोरङको उर्लाबारीस्थित जंगलमा मृत्युवरण गरेका सनम शाक्यको घटना अनुसन्धानको क्रममा प्रहरीबाट त्रुटि भएको र सनम शाक्यको हत्यामा प्रहरीकै अधिकृतहरुको सहयोग रहेको भन्दै पीडितका आफन्तले गृह मन्त्रालयमा उजुरी गरेपछि उक्त काण्ड बाहिर आएको थियो ।

उक्त विषयमा उजुरी आएपछि गृहमन्त्री थापाको पहलमा सरकारले  ‘सङ्गठित अपराध  निवारण  गर्ने  सम्बन्धमा  व्यवस्था  गर्न  बनेको  ऐन २०७०’ को ‘दफा १२’ बमोजिम गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा ९ सदस्यीय विशेष अनुसन्धान टोली गठन गरेको थियो । उक्त टोलीमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका उपसचिव भावेश्वर पाण्डे, कानुन अधिकृत भोजराज दाहाल, महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता हरि रेग्मी, नेपाल प्रहरीका एसएसपी बसन्तकुमार लामा, डीएसपी सुदीपराज पाठक, इन्स्पेक्टर भीष्म हुमागाईं र सई सुमन कार्की सदस्य छन्  ।

सरकारद्वारा गठित उक्त अनुसन्धान टोलीले सनम शाक्य मृत्यु प्रकरण केलाउँदै जाँदा पहिलो चरणमा हालसम्म २९ जना पक्राउ गरेको छ भने पक्राउ पर्न नसकेका ३४ जनालाई फरार प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालय मोरङमार्फत मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको छ । आपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अबैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा कुल ६३ जनालाई प्रतिवादी बनाइएको उक्त मुद्दा मोरङ जिल्ला अदालतमा प्रारम्भिक सुनुवाइको क्रममा छ । गतहप्ताको बिहीबारदेखि जिल्ला न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलाशमा पक्राउ परेका प्रतिवादीहरुको बयान जारी छ । प्रतिवादी धेरै भएकोले उक्त मुद्दाको बयान र थुनछेक आदेश हुन अझै एक हप्ता लाग्न सक्ने अनुमान गरिएको छ ।

अनुसन्धानको समयसीमाको कारण विशेष अनुसन्धान टोलीले हालसम्म खुलेका तथ्यलाई सिलसिलेवार रुपमा प्रस्तुत गर्दै उक्त मुद्दामा थप व्यक्तिहरुमाथि अनुसन्धान आवश्यक रहेको उल्लेख गर्दै जिल्ला सरकारी वकिलको कार्यालय मोरङमा राय पेश गरिसकेको छ । विशेष अनुसन्धान टोलीको सोही रायको आधारमा जिल्ला सरकारी वकिल कार्यालय मोरङले गत बुधवार मोरङ जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको हो ।

नेपाल प्रहरीका बहालवाला तथा अवकाशप्राप्त उच्च अधिकारीहरु पक्राउ परेको यस मुद्दाले मुलुकको प्रमुख सुरक्षा संगठनको छवि धमिल्याएको मात्रै छैन, बर्दीको आडमा वर्षौंदेखि चल्दै आएको आपराधिक कुकृत्यको पर्दाफास गरेको छ । प्रहरीका पूर्वडीआइजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीद्वय प्रजित केसी, सञ्जयबहादुर राउत, सई बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अम्बरबहादुर थापा मगर र प्रहरी जवान विष्णुबहादुर खड्का अहिले मोरङ प्रहरीको हिरासतमा छन् भने नेपाल प्रहरीकै बहालवाला एसएसपी श्यामबहादुर खत्री फरार छन् । एसएसपी खत्री डेढ वर्षअगाडि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौंको पिंगलास्थानबाट बरामद गरेको साढे ३३ किलो सुनकाण्डमा समेत पक्राउ परेका अधिकृत हुन्  । विशेष अनुसन्धान टोलीले आफूलाई पक्राउ गर्न लागेको सुइँको पाएपछि भूमिगत भएका एसएसपी खत्री हाल भारतमा लुक्दै आएको स्रोतको दाबी छ ।

संगठित अपराध ऐन २०७० मा भएको व्यवस्थाअनुसार प्रहरीले अनुसन्धानको लागि पाउने ६० दिनको समय सकिएपछि हालसम्मको प्रगति विवरण समेटेर मुद्दा दायर गरिएको हो । हालसम्म ऐनको दफा १२ अनुसार अनुसन्धान तथा अभियोजन भएकोमा अब बाँकी अनुसन्धानका लागि सोही ऐनको दफा २२ बमोजिम अनुसन्धान थालिने भएको छ । सुशासन न्युज साप्ताहिकमा समाचार छ।

दफा २२ मा ‘कुनै व्यक्तिविरुद्ध संगठित अपराधको मुद्दाको अभियोगपत्र दायर भइसकेपछि सोही अपराधका सम्बन्धमा अन्य व्यक्तिका विरुद्ध मुद्दा दायर गर्न वा त्यसरी दायर भइसकेको अभियुक्तविरुद्ध सोही अपराधमा वा अन्य कुनै कसुरमा थप अभियोग लगाई अदालतमा अभियोग पत्र दायर गर्न सकिनेछ,’ भनी उल्लेख छ । उच्च स्रोतका अनुसार विशेष अनुसन्धान टोलीले सोही दफामा भएको कानुनी व्यवस्थालाई टेकेर थप अनुसन्धान थालेको छ ।

पहिलो चरणको अनुसन्धानमा गोरे समूहले मात्रै विगत तीन वर्षमा करिब ४० क्विन्टल सुन अवैध तरिकाले नेपाल भित्र्याउन सफल भएको खुल्न आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाटो हुँदै पछिल्लो साढे चार वर्षमा ४७ टन सुन तस्करी भएको तथ्य फेला पारेपछि अनुसन्धान टोलीले छानबिनको दायरा फराकिलो पार्दै तस्करीमा संलग्न सबैलाई कारबाहीको प्रक्रियामा ल्याउने तयारी गरेको छ । छानबिनको क्रममा प्रहरीका पूर्वआईजीपीदेखि एआईजीसम्मको संलग्नता देखिएको स्रोत बताउँछ । उक्त विषयमा विशेष अनुसन्धान टोलीका संयोजक तथा सदस्यहरुले गृहमन्त्री थापा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफिङ गरिसकेका छन् । तस्करीमा संलग्न व्यक्ति जतिसुकै माथिल्लो तहको तथा जतिकै उच्च हैसियतको भएता पनि नडराईकन कारबाहीको दायरामा ल्याउन प्रधानमन्त्री ओली र गृहमन्त्री थापाले अनुसन्धान टोलीलाई निर्देशन दिइसकेका छन्  ।

प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशनपश्चात् अनुसन्धान टोलीले नेपाल प्रहरीबाट गत महिना अवकाशप्राप्त आईजीपी प्रकाश अर्याल र एआईजी बमबहादुर भण्डारीको बयान लिने तयारी गरेको छ । आफूले तत्कालीन कामु आईजीपी बमबहादुर भण्डारीको आदेश लिएर डीएसपी प्रजित केसीको नेतृत्वको प्रहरी टोली धरान पठाएको र उक्त विषयमा तत्कालीन आइजीपी प्रकाश अर्याललाई समेत जानकारी रहेको भन्दै एसएसपी लोहनीले बयान गरेपछि भण्डारी र अर्यालमाथि अनुसन्धान आवश्यक रहेको राय पेश भएको थियो । गत फागुन १९ मा तत्कालीन आईजीपी प्रकाश अर्याल आफ्नो छोराको व्रतवन्धको लागि बिदा लिएर चितवनको देवघाट पुगेपछि कामु आईजीपीको जिम्मेवारी एआईजी भण्डारीले पाएका थिए । काठमाडौं उपत्यकाका तीन जिल्ला मात्र कार्यक्षेत्र रहेको महाशाखाको टोलीले कार्यक्षेत्र नाघ्दै सुनसरी र मोरङमा अपरेशन गरेपछि विवाद शुरु भएको थियो । सोही कार्यक्षेत्र विवादसम्बन्धमा सोधपुछको क्रममा आदेश दिने अधिकारीको खोजी गर्दा कामु आईजीपीको हैसियतमा रहेका तत्कालीन एआईजी भण्डारीको नाम जोडिन पुगेको स्रोत बताउँछ । महाशाखाले आदेश माग गरेपछि असल नियतले नै अपरेसनमा जान आदेश दिएको भरमा नाम जोडिएको भएता पनि भण्डारीको तस्कर समूहसँग सम्पर्क देखिएको छैन । त्यसकारण उनलाई घटना विवरण कागज गराउने अनुसन्धान टोलीको तयारी रहेको बुझिएको छ ।

पूर्वआईजीपी प्रकाश अर्यालको तस्कर समूहका सदस्यहरुसँग बाक्लो उठबस र सम्पर्क देखिएपछि उनलाई बयानको लागि बोलाउने तयारी गरिएको स्रोत बताउँछ । उनका अलावा पूर्वआईजीपी उपेन्द्रकान्त अर्याल, पूर्व एआईजीहरु विज्ञानराज शर्मा, विजयलाल कायस्थ र पूर्वडीआईजी गोपाल भण्डारीलाई समेत अनुसन्धानको दायरामा ल्याउने तयारी भइरहेको गृहसम्बद्ध उच्च स्रोतको दाबी छ । अनुसन्धानको क्रममा अख्तियारबाट अयोग्यताको बिल्ला भिरेर बाहिरिएका लोकमानसिंह कार्की, व्यापारीहरु दीपक मलहोत्रा, दयाराज शर्मा र सुभास श्रेष्ठ समेतलाई बयानको लागि बोलाउने तयारी गरिएको बुझिएको छ ।

उपेन्द्रकान्त अर्याल नेपाल प्रहरीको आईजीपी हुँदा अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको निर्देशनमा पूर्वएआईजी शर्मा, कायस्थ र पूर्वडीआईजी गोपाल भण्डारीले आर्थिक प्रलोभनमा सुन तस्करहरुलाई सघाएको आरोप लागेको छ । शर्मा, भण्डारी र कायस्थ पछिल्लो ६ वर्षको अवधिमा विभिन्न समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुखको रुपमा कार्यरत थिए ।

त्रिभुवन विमानस्थलको पार्किङदेखि सम्पूर्ण पसलहरु ठेक्कामा लिएर वर्षौंदेखि विमानस्थलमा आफ्नो कब्जा जमाउँदै आएका विवादास्पद व्यापारी सुभास श्रेष्ठ पनि सुन तस्करी काण्डमा मुछिएका छन् । प्रस्थान कक्षतर्फको अध्यागमनभित्र कफी शप, विभिन्न पसल र रेस्टुरेन्टहरु श्रेष्ठ आफैले सञ्चालन गर्दै आएका छन् । त्यहाँको व्यापारबाट संकलन हुने विदेशी मुद्रा जहाजमार्फत सिधै दुबई पठाउने र सोही मुद्राबाट सुन खरिद गर्ने गरिएको स्रोत बताउँछ । विमानबाट आउने फोहोर व्यवस्थापनको समेत जिम्मेवारी लिएका श्रेष्ठले फोहोरमै राखेर सिनामंगलस्थित नेपाल आयल निगमको हवाई इन्धन डिपोको गेटमार्फत सुन पास गराउने गरेको सूचनासमेत विशेष अनुसन्धान टोलीले पाएको छ । विमानस्थलबाट हुने डलर तस्करी र हुण्डीको कारोबारमा श्रेष्ठको संलग्नता देखिएपछि उनलाई समेत विशेष निगरानीमा राखिएको छानबिन समितिका एक सदस्यले नाम नछाप्ने शर्तमा सुशासनन्युज साप्ताहिकलाई जानकारी दिए ।

उच्च स्रोतका अनुसार हुण्डी कारोबारी पवन सरिया, ग्रयाण्ड होटलका मालिक रामअवतार गोयल, माउन्टेन होटलका रवीन्द्र मल्ल, गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष डा उपेन्द्र महतो लगायतलाई सुनतस्करीको सञ्जालसँग जोडेर विशेष अनुसन्धान टोलीले उनीहरुको सम्पर्क सूत्र केलाउँदै छ । उक्त सञ्जालसँग एक सञ्चार उद्यमीको समेत कनेक्सन देखिएको अनुसन्धानमा संलग्न एक अधिकारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या २०४ पुग्यो, २८ जना बेपत्ता

    बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २०४ पुगेको छ । सशस्त्र प्रहरी बल

वनमा चराउन लगेको ८ वटा बाख्रा बाघले खायो

    भरतपुरको अकलादेवी सामुदायिक वनमा चराउन लगेको ८ वटा बाख्रा बाघले खाइदिएको

एन्फा एकेडेमीका खेलाडीको अन्त्येष्टि

    मकवानपुरको सिस्नेरी पहिरोमा ज्यान गुमाएका एन्फा एकेडेमीका २ जना किशोर खेलाडीको

माओवादीनिकट अखिल क्रान्तिकारीको सम्मेलनमा लफडा

    नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको सम्मेलनमा आज पनि लफडा भएको छ