अरब सागर र बंगलादेशको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण देशका अधिकांश भेगमा बदली र केही स्थानमा वर्षा भएको छ ।
अरबको जलवाष्पयुक्त हावाका साथै सतही रुपमा बंगलादेशको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण बदली र वर्षा गराएको मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो ।
उहाँका अनुसार मध्य भेगका पहाडी र तराई तथा पश्चिम र पूर्वका पहाडी क्षेत्रमा बदली भएको छ । यो प्रणाली क्रमशः पूर्वतिर फैलिँदै गएकाले राति केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा गराउनेछ भने अन्य स्थानमा हल्का बदली र फाट्टफुट्ट वर्षा हुने अनुमान गरिएको छ ।
उक्त प्रणालीले केही दिनयता बादल बनाउने र वर्षा गराउने गरेकाले तीन दिनसम्म यो प्रक्रिया जारी रहने मौसमविद् रिमालको भनाइ छ ।
“छिनछिनमा बदली हुने, घाम लाग्ने र वर्षा हुने भएता पनि ठूलो खालको वर्षाको सम्भावना कम छ,”–उहाँले भन्नुभयो ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज सबैभन्दा बढी वीरेन्द्रनगरमा ५६, विराटनगरमा ३४, नेपालगन्जमा १७, दीपायलमा १६ र ताप्लेजुङमा छ मिलिमिटर वर्षा भएको छ ।
आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २५ दशमलव आठ र न्यूनतम तापक्रम १३ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।