ओलीको खल्तीमा आईजीको नाम थन्कियो,प्रधानमन्त्रीले आइजी बनाउने यी डीआईजी यसो भन्छन



तोकिएको समय कारणबस हेरफेर भएन भने अब ३ दिन बाँकी छ, नेपाल प्रहरीको नयाँ आईजी नियुक्त हुन । करीब ७० हजार प्रहरीको भावी नेतृत्वको दौडमा सामेल छन् डीआईजी पुष्कर कार्की । यही दौडमा सामेल डीआइजीहरु सर्वेन्द्र खनाल र रमेश खरेल भन्दा उनी अलिक पछाडि छन्, एसएसपी बढुवाको प्राप्तांकमा । तर अन्तिम राउण्डमा कसले फाइन फिनस गर्छ, यसै भन्न अहिलेसम्म कसैले सकेको छैन, ठोकुवा गरेर । खेल खेल्ने खेलाडीलाई भन्दा दर्शकलाई बढी उकुसमुकुस हुने गर्छ । तर के खेलाडी त्यति ढुक्क हुन्छन् ? हुँदैनन् भन्ने कुरा फुटबलका फ्रि किक स्टार डेभिड बेकह्यामको  पेनाल्टी हेरे पुग्छ, कति नर्भस हुन्छन् भन्ने कुरा ।

भावी आईजीको फाइनल खेल तालिका २८ गतेका लागि तोकेको छ, नेपाल सरकारले । विजेता को हो भनेर निर्णय दिने अधिकार, मन्त्रीपरिषदलाई छ । अबको मन्त्रीपरिषद बैठकले सायद निर्णय सर्वाजनिक गर्नेछ । अघिल्लो पटक जस्तै प्रोटेष्ट होला नहोला त्यो अर्को विषय पनि छ । अपेक्षा गरौं यसपाली फेयर प्ले हुनेछ ।

करिब ८ महिनाअघि डीआईजीमा बढुवा भएका पुष्कर कार्की यतिबेला केन्द्रीय अनुसन्धान ब्यूरोका निर्देशक छन् । डाइरेक्टर । २०४६ मा नेपाल प्रहरीको ईन्स्पेक्टरमा भर्ना हुँदा ५६ किलोका कार्की २८ वर्षको अवधिमा १४ किलोजति बढेका छन् । तर यो अवधिमा  उनले आफ्नो वजन मात्रै होइन पद, प्रतिष्ठा र लोकपृयता त्यो भन्दा धेरै बढाएका छन्, काम, मेहनत, इमान्दारिता र पेशाप्रतिको लगावले ।

आपराधिक र अवैध कारोबारीको ईन्काउण्टर, गिरफ्तारी र कानुनी प्रक्रियामा छिराउनु, प्रहरीका निमियत ड्यूटी भित्रकै जिम्मेवारी हुन् । डीआईजी पदसम्म आइपुग्दा प्रायः सबैले यस्ता कैयौं घटना व्यहोरेका हुन्छन् । यस्तै–यस्तै घटनाका भुक्तभोगी हुन् डीआईजी पुष्कर कार्की ।

दिनेश अधिकारी चरीको ईन्काउन्टर, निर्माण व्यवसायी शरद गौचनका हत्यारा गिरफ्तारी, जिम्पान्जी कारोबारीको रहस्योद्घाटन, किलोका किलो सुन व्यापारीको पक्राउ, बैंक एटीएम ठगको संजाल नियन्त्रण लगायत राहत उद्धारमा उनले खलेको भूमिका आम नेपालीमाझ चर्चाको विषय छन्, जुन कार्कीको नेतृत्वमा भए ।
आईजी बढुवाको तयारी हुँदै गर्दा, हल्ला पनि त्यही हिसाबले आउने गर्छन् । पछिल्लो समय राष्ट्रपतिको रोजाईको पात्रको रुपमा समेत उनको नाम जोडिएर आयो । हामीले यही प्रसंगबाट कार्कीसँगको कुराकानी थालेका छौं :

एउटा प्रसंग सोधुम् ? 
–हुन्छ ।

० राष्ट्रपतिसँग तपाईंको सम्बन्ध के छ ? 
–त्यो चाहिँ उल्लेख गर्न मन पनि लाग्दैन मलाई । राष्ट्रपति समग्र देशको राष्ट्रपति हो। उहाँको पनि जिल्ला भोजपुर मेरो पनि भोजपुर । अरु के हो र ।

० तिहारमा टीका पनि लाउनु हुन्छ रे नि ?
–हैन । एकदम गलत हो ।

० नाम जोडिएर आउँदा के लाग्छ ? 
–हैन मान्छेले यसरी न्यूजमा आउने कुराहरुमा ? अहिलेसम्म कसैले यसरी सोध्या पनि थेन । सम्मानित राष्ट्रपति जस्तो मान्छेलाई हामीसँग जोड्ने कुरा पनि आउँदैन । जोड्न पनि हुँदैन । किनकी हामी आफ्नै काममा विश्वास राख्छौं । जिल्ला, एउटै जिल्ला हो । त्यो भन्दा अरु केही पनि होइन ।

० राष्ट्रपतिको चाहना तपाईंलाई आइजी बनाउने छ भन्नेसम्मको हल्ला चल्याछ ?
–त्यस्तो होइन होला । राष्ट्रपति जस्तो गरिमामय पद, एउटा एक्जिक्यूटिभले गर्ने डिसिजनमा मलाई जहाँसम्म लाग्छ, त्यो हुँदैन । त्यो उहाँले गर्नुपनि हुँँदैन । यो नचाहिने विवादमा ल्याइदिने कुराहरु होलान् । म यहाँ मार्फत नै भन्न चाहन्छु त्यस्तो केही पनि छैन केही हुँदैन पनि । किनकी यस्तो सम्मानित पदबाट त्यस्तो कुरा हुँदैन पनि र अरु त्यसमा केही पनि छैन ।

० प्रसँग बदलौं : भावी आईजी को होला भन्ने आम चासो छ । तपाईं त प्रतिष्पर्धामा हुनुुहुन्छ । मनको हालत चाहिँ के छ ? 
–यसलाई त्यसरी नलिए पनि हुन्छ । जागिर खाएपछि सबैमा यस्तो ठाउँमा पुग्छु भन्ने इरादा हुन्छ । कसरी पुग्ने भन्ने पनि हुन्छ । यति वर्षको जागिरमा आफुलाई कसरी उभ्याएको छ भन्ने बाहिर छर्लङ्ग देखिने कुरा पनि हुन् । त्यसमा हामीले अरु कुरा गर्नुपर्ने आवश्यकता पनि छैन । एउटा विधि प्रक्रिया छ, सरकारले ऐन कानुन अनुसार गर्ने । त्यो कुरा स्पष्ट हुँदाहुँदै हाम्ले बोल्नुपर्ने आवश्यकता छैन । ऐन छ, कानुन छ यसरी छान्ने भन्ने विधि प्रक्रिया छ, त्यही अनुसार जान्छ ।

तै पनि होला कि नहोला भन्ने…..? 
–(अलिकति ग्याप) हेर्नुस् एकजना हुने हो । एकजना भएपछि कम्पिटिशनमा रहेका अरु हुँदैनन् । त्यसलाई त्यसरी लिँदा सल्भ हुन्छ । धेरै कम्प्लिकेटेडेड बनाउन पर्दैन।

० कतकता पीर लाग्छ कि लाग्दैन ? 
–(आँखी भौं खुम्च्याउँदैै) दाबी गर्नु, एउटा हिसाबमा अगाडी बढ्नु, आफुलाई अगाडि राख्नु भन्ने कुरा त हाम्ले मुखले भन्नुभन्दा पनि हाम्रो कामले, संगठनले गरेको मुल्यांकनबाट देखिइहाल्छ नि । त्यसैले आफुले दाबी गर्नु भनेको त एक लेभलबाट तल झर्नु हो जस्तो लाग्छ । किन दाबी गर्ने ? छ नि, प्रक्रिया छ, भैहाल्छ नि । काममा विश्वास हुनपर्यो , व्यक्तिगत रुपमा यताउता गर्नुभन्दा पनि । सबै राम्रो छन्। यत्तिकै यो दर्जामा पुग्या हुँदैन । त्यसरी गयो भने आफुलाई पनि सन्तुष्टि हुन्छ । चित्त बुझाउन सजिलो हुन्छ । नत्र सर्बेसर्वा मै, मभन्दा राम्रा अरु कोही छैन भन्ने प्रवृत्तिमा गयो भने संगठनलाई घाटा हुन्छ ।

केही दिनमा त थाहा भैहाल्छ…. 
–जे आउँछ त्यही हिसाबमा जार्नुपर्ने हुन्छ ।
० तपाईं अहिले जहाँ हुनुहुन्छ (सीआइबी मुख्यालय महारागन्ज) यहीँ २८ वर्षअघि प्रहरी बनेर छिर्नुभयो । यही ठाउँमा आइजीको एउटा फोटो झुण्ड्याएर जान मन चाहिँ कत्तिको लागेको छ ? 
–हाहाहा । त्यो चाइने नितान्त व्यक्तिगत कुरा हो । लक्ष्य, टार्गेट राख्नु आफ्नो ठाउँमा छ। तर कुनै कुरा त्यहीँ पुगेर अन्त्यहुने भन्ने छैन ।

० यसपाली बढुवा विवादित होला कि नहोला ? 
–मुद्दामा चाहिँ म जाँदिन । क्लियर कुरा । प्रक्रियामा राज्यले गरेको कुरामा हाम्ले शिरोपर गर्नुपर्छ ।

० तपाईं आईजी हुनु भो भने सबभन्दा खुशी को हुन्छ होला (तपाईं बाहेक है) ?
–सोच्दै…आम नागरिक खुशी हुनुपर्छ । आफन्त खुशी भएर खास फरक पर्दैन ।

० सबभन्दा दुःखी चाहिँ ? 
–अपराध गर्नेहरु । कानुन बाहिर जानेहरु । हामी त अपराध नियन्त्रणतिर लाग्छौं नि।

० रिटायर्ड लाईफबारे सोच्नु भा छ ? 
–बढीमा २ वर्ष हुनसक्छ सेवा गर्ने । त्यतिबेलासम्मै काम गरियो भने पनि ५४ वर्ष भइन्छ । काम गर्न सक्ने बेलासम्म रिटायर्ड नहुने । केही न केही पेशा गर्ने ।

० शुरुमा यूएन जान मन लाग्या रहेछ । कि त्यतै जाने हो ? 
–हाहाहा… कतै न कतै कुनै न कुनै पेशा त गरिहालिन्छ नि ।

प्रतिक्रिया दिनुहोस
काभ्रेमा दुईकाे मृत्य, ९ जना बेपत्ता

    निरन्तरको वर्षाले काभ्रेमा हालसम्म दुई जनाकाे मृत्यु र नौ जना बेपत्ता

नारायणी नदीले एक सयभन्दा बढी घर डुबानमा

    नारायणी नदीमा आएको बाढीले नवलपरासीको गैंडाकोटस्थित सुकुम्बासी बस्ती र बोटे टोल

हनुमन्ते खोलाले ग्यास बुलेट बगायो

    अति भारी वर्षाका कारण आएको भक्तपुरस्थित हनुमन्ते खोलाको बाढीले ग्यास बुलेट

काठमाडौं र ललितपुर जोड्ने युएन पार्कको झोलुंगे पुल बाढीले बगायो

    अविरल परेको अति भारी वर्षाका कारण आएको खाेलामा बाढीले काडमाडौं र