यसरी हुन्छ नेपालको पेट्रोल भारतमा तस्करी, तस्करी गर्नेको ढाड खुस्काउने सरकारको तयारी



हाम्रो इकोनोमि

पछिल्ला वर्षहरूमा नेपालमा पेट्रोलियम पदार्थको आयात ह्वात्तै बढेको छ । लोडसेडिङ हटेपछि पेट्रोलियम पदार्थको आयात घट्नुपर्नेमा झनै बढ्नुमा भारततर्फ हुने तेलको तस्करी मुख्य कारक रहेको नेपाल आयल निगमका अधिकारीहरुको विश्लेषण छ ।

पेट्रोलियम पदार्थ आयातको कारोबार गर्ने नेपाल आयल निगमलाई आयात अत्यधिक बढ्दा त्यसको व्यवस्थापन गर्न धौधौ परिरहेको छ । अहिले पेट्रोलियम आयात वार्षिक २० प्रतिशतका दरले बढेको छ । २/३ वर्ष पहिलेसम्म यस्तो वृद्धिदर करिब १०/१२ प्रतिशत मात्र थियो ।

 

निगमका कार्यवाहक कार्यकारी निर्देशक सुशील भट्टराई भन्छन्, ‘माग बढेको त छ, तर, यो स्वाभाविकचाहिँ देखिँदैन ।’

निगमका अधिकारीहरू आफैं पनि छक्क पर्छन्- कसरी बढेको छ आयात ?

पेट्रोलियम पदार्थको आश्चर्यजनक रुपमा आयात किन र के कारणले बढेको हो भन्ने सम्बन्धमा हालसम्म निगमले कुनै ठोस अध्ययन अनुसन्धान गरेको छैन । तर, आयात बढ्नुमा केवल माग बढ्नुमात्रै भने जिम्मेवार देखिँदैन ।

पछिल्लो समय भारततर्फ हुने तेलको तस्करीलाई आयात बढ्नुको एउटा प्रमुख कारणका रुपमा लिइएको छ ।

यसरी बढ्दैछ नेपालमा आयात

अहिले मासिक पेट्रोल आयात करिब ४० हजार किलोलिटर पुगेको निगमका कार्यकारी निर्देशक भट्टराई बताउँछन् । त्यस्तै, डिजेलको यस्तो आयात एक लाख ४० हजार किलोलिटर पुगेको छ । यसले पछिल्लो समय आयात कसरी बढिरहेको छ भन्ने देखाउँछ ।

आर्थिक वर्ष ०७०/७१ मा नेपालले दुई लाख १४ हजार ५१ किलोलिटर (एक किलोलिटरमा एक हजार लिटर हुन्छ) पेट्रोल आयात गर्‍यो । यसको मासिक हिसाव गर्दा औसत करिब २१ हजार किलोलिटर हुन आउँछ । उक्त आर्थिक वर्षमा आयात भएको ८ लाख ११ हजार एक सय किलोलिटर डिजेलको मासिक औसत आयात करिब साढे ६७ हजार किलोलिटर हुन आउँछ ।

आर्थिक वर्ष ०७१/७२ मा मासिक औसत २३ हजार किलोलिटर पेट्रोल आयात गथ्र्यो । उक्त आर्थिक वर्षमा डिजेलको मासिक औसत आयात करिब ७५ हजार देखिन्छ ।

आर्थिक वर्ष ०७२/७३ मा पेट्रोलको मासिक आयात करिब २० हजार किलोलिटरमा झर्‍यो, डिलेज करिब ६५ हजारमा । पाँच महिना लामो नाकाबन्दीका बावजुद पनि ठूलै परिमाणमा पेट्रोलियम आयात रोकिएन ।

गत आर्थिक वर्षमा नेपालमा मासिक साढे ३३ हजार किलोलिटर पेट्रोल आयात भयो भने डिजेल १ लाख आठ हजार किलोलिटर ।

‘तस्करी गर्नेमाथि कारवाही गरिरहेका छौं’

निगमको पूर्वाञ्चल कार्यालय प्रमुख भानु खनाल तेल तस्करीका घटनामा पछिल्लो समय कमी आएको दावी गर्छन् ।

स्थानीय प्रहरी प्रशासन स्थानीय तह लगायतमार्फत सिमा नाकाबाट हुने तस्करीलाई कडाइ गरिएको निगम बताउँछ ।

‘मोरङ र सुनसरीका केही पम्पमा त हामीले गाउँपालिका र नगरपालिकाको निगरानी र सिफारिसबिना पेट्रोलियम बिक्रीमा रोक लगाएका छौं,’ पूर्वाञ्चल क्षेत्रीय कार्यालय प्रमुख खनालले भने । नेपालबाट बाहिरीने ट्रक/ट्याङ्करलाई तेल बोकेर गए/नगएको परीक्षण सुरु गरिएको उनको भनाइ छ ।

नाकाबन्दीदेखि नै फस्टाएको तस्करी

नेपालमा संविधान जारी भएसँगै असोज ०७२ सालमा भारतले नाकाबन्दी लगायो । त्यसक्रममा इन्धन आयात ठप्पप्रायः हुनपुग्यो, झण्डै पाँच महिना । उक्त समयमा तस्करीको मार्गबाट ठूलो परिमाणमा पेट्रोलियम आयात भयो । भारतसँग खुला सीमाना भएका कारण सीमानाका आसमासमा स-सानो परिमाणमा पेट्रोलियम यताउता हुनु स्वाभाविक भए पनि यो प्रवृत्ति पछिल्ला वर्षहरूमा झाँगिदै गएको छ ।

सीमानाकाबाट खुल्लमखुला नेपाल आयात भएको तेल भारत फर्किएर जान थालेको छ ।

उदाहरणका लागि अहिले दैनिक करिब चार सय ट्याङ्करले भारतबाट पेट्रोलियम ओसार्छन् । भारतबाट आयात गरेको तेल नेपालका डिपोमा खन्याएर जाने क्रममा पूरा ट्याङ्कर भरेर लाने र त्यसले ठूलो परिमाणमा नेपाल आएको तेल भारत नै फर्किएर जाने गरेका छन् ।

यसबाहेक एउटा नाकाबाटै दैनिक २/३ सय ट्रक/ट्याङ्कर सीमा नाकाबाट ओहोर-दोहोर गर्छन् । ठूला क्षमताका ती सवारीबाट पनि धेरै परिमाणमा तेल बाहिरिने गरेको छ । सीमानामा आवत-जावत गर्ने मानिसहरूबाट पनि अनौपचारिक रुपमा तेल बाहिरिने गरेको छ ।

नेपाल र भारतको मूल्यअन्तर

अहिले भारतमा पेट्रोलियमको मूल्यले ऐतिहासिक रेकर्ड चुमेको छ । मंगलबारसम्म भारतको दिल्लीमा प्रतिलिटर पेट्रोलको मूल्य ७४ भारु र डिजेल करिब ६५ भारु (नेरु १०४) छ । अहिले भारतमा पेट्रोल ८२ भारु (नेरु १३०) र डिजेल ६५ भारु (नेरु १०४)  सम्म पुगेको छ ।

जबकि नेपालमा अहिले प्रतिलिटर पेट्रोल १०५ र डिजेल ८५ रुपैयाँमा कारोबार हुन्छ ।

प्रतिलिटर मूल्यमै धेरै अन्तर हुँदा नेपालको तेल फर्केर भारत नै जाने गरेको निगमको भनाइ छ ।

अहिले नेपाल र भारतमा पेट्रोलियमको मूल्य अन्तर प्रतिलिटर २९ रुपैयाँसम्म पुगेको छ । निगमका अनुसार अहिले मोरङको जोगबनी नाकामा  वारि-पारि (नेपाल-भारत) पेट्रोलियमको मूल्य अन्तर सबैभन्दा उच्च छ । जहाँ कारोबार हुने डिजेल भारतको भन्दा प्रतिलिटर २९ रुपैयाँ १० पैसा सस्तो छ । पेट्रोल २५ रुपैयाँ ३१ पैसा सस्तो छ ।

त्यस्तै, जनकपुरमा पाइने डिजेल भारतको भन्दा प्रतिलिटर २८ रुपैयाँ ९१ पैसा सस्तो छ भने पेट्रोल २५ रुपैयाँ ३१ पैसा सस्तो छ । नेपालको वीरगञ्जमा पेट्रोलपम्पले बेच्ने डिजेल भारतको रक्सौलको भन्दा २७ रुपैयाँ ५८ ले सस्तो छ भने पेट्रोल २३ रुपैयाँ ६४ पैसा सस्तो छ ।

झापाको काँकडभिट्टा किनेको त्यही डिजेल पारिपट्टि पानीट्याङ्कीमा किन्दा २७ रुपैयाँ ५८ पैसा महंगो पर्छ भने पेट्रोल नेपालको भन्दा १९ रुपैयाँ ९२ महंगो छ ।

नेपालगञ्ज र धनगढीमा पेट्रोलको मूल्य अन्तर करिब १७ रुपैयाँ र डिजेलको यस्तो अन्तर करिब २१ छ ।

सीमानाकाको वारि-पारि नै यतिको फराकिलो मूल्य अन्तर हुँदा त्यसले तस्करीलाई बढावा दिएको निगमका अधिकारीहरुको तर्क छ ।

सामञ्जस्य नहुँदा समस्या

नेपालले पेट्रोलियममा स्वचालित मूल्य प्रणाली अंगालेको छ । यसको अर्थ भारतमा तेलको मूल्य तलमाथि हुँदा यहाँ पनि मूल्य घटबढ हुने हो ।

यही स्वचालित मूल्यप्रणाली अनुसार अहिले निगमले पाक्षिक रुपमा मूल्य समायोजन गर्छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा छिटोछिटो उतारचढाव आउन थालेपछि भारतले पछिल्लो समय दैनिक मूल्य समायोजन गर्न थालेको छ । भारत गत जून १६ देखियता दैनिक मूल्य समायोजनमा गएको हो । त्यसअघि भारतले पनि १५/१५ दिनमा मूल्य समायोजन गथ्र्यो ।

करिब चार वर्षअघिसम्म नेपालमा पेट्रोलियमको मूल्य प्रतिलिटर १५/१६ रुपैयाँसम्म महंगो पथ्र्यो, भारतको भन्दा । नाकाबन्दीको समयसम्म नेपाल र भारतको मूल्य अन्तर झण्डै बराबरी थियो ।

माघ ०७२ ताका भारतमा डिजेलको मूल्य ४५ रुपैयाँ भारु (नेरु ७२) को हाराहारीमा थियो । त्यतिबेला भारतमा डिजेलको अधिकतम मूल्य ५१ भारु (नेरु ८२ सम्म) पुगेको देखिन्छ ।

त्यति नै बेला नेपालमा डिजेलको यस्तो मूल्य ७५ रुपैयाँ थियो । अर्थात उक्त समयमा नेपाल र भारतमा डिजेलको मूल्यमा खासै अन्तर थिएन ।

सोही समय भारतमा ६० भारु (नेरु ९६) देखि ६६.९ भारु (नेरु १०५) को बीचमा पेट्रोलको मूल्य रहँदा नेपालमा ९९ रुपैयाँ थियो ।

भारतले पेट्रोलियम पदार्थमा उच्च कर लगाउन थालेपछि पछिल्ला वर्षहरूमा त्यहाँ मूल्य उच्च हुन थालेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य आकाशिँदै जानु र उच्च करकै कारण पछिल्ला वर्षहरूमा भारतमा तेलको उकालो लाग्दैछ ।

माघ ०७३ मा नेपालमा पेट्रोलको प्रतिलिटर मूल्य १०१ रुपैयाँ ५० पैसा थियो, डिजेलको ७७ रुपैयाँ ५० पैसा थियो । जब कि सोही समय भारतमा पेट्रोल ७१.१४ भारु (नेरु ११४) देखि ७७.४६ भारु (नेरु १२४) र डिजेलको मूल्य न्यूनतम ५९.०२ भारु (नेरु ९४) देखि ६५ भारु (नेरु १०४)सम्म पुगेको देखिन्छ ।

०७४ माघमा आइपुग्दा नेपालमा पेट्रोलको मूल्य १०३ रुपैयाँ छ भने डिजेलको मूल्य ८१ छ । सोही समयमा भारतमा डिजेल ६२.०६ भारु (नेरु ९९) देखि ६५.४२ भारु (नेरु १०४) र पेट्रोल ७१.३९ भारु (नेरु ११४) देखि ७९ भारु (नेरु १२७) सम्म पुगेको छ । अनलाईन खबरबाट

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...