आईजीपी बन्न तीन भाईको डरलाग्दो दौड,गृहमन्त्री चुपचाप,प्रचण्ड पनि पछी हटे,यिनको नाम ओलीको खल्तीमा



अघिल्ला महानिरीक्षक बढुवामा जस्तो गृहमन्त्रालयमा यस पटक प्रहरी महानिरीक्षकको चासो देखिँदैन।
गृहमन्त्री रामबहादुर थापा आफैँ पनि यो विषयमा चुपचाप छन्।
प्रहरी महानिरीक्षक प्रकाश आर्यालले अवकास पाउन एक साता बाँकी रहँदासम्म नयाँ महानिरीक्षकको विषय रहस्यकै गर्भमा छ।

महानिरीक्षक नियुक्तिको विषयलाई व्यवस्थित गर्न कार्यविधि बनाउने भनिए पनि त्यसले पूर्णता पाउन सकिरहेको छैन। कार्यविधि नभएको अवस्थामा महानिरीक्षक चयनको आधार भनेको प्रहरी नियमावलीको नियम ४१ हो।

नियमावलीका याेग्यता
सरकारले नियमावलीअनुसार डिआईजीबाट आईजिपी छनौट गर्दा जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिका प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्य आधारमा उपयुक्त देखेको अधिकारीलाई नियुक्त गर्न सक्नेछ।

महानिरीक्षक दावेदारी गर्नेमा २०४६ माघ २९ मा सेवा प्रवेश गरेका (२०४५ फागुन १ का रमेशप्रसाद खरेल सहित) ७ जना र २०४५ असार ३० मा सेवा प्रवेश गरेरसँगै बढुवा भएका ५ जना गरी कूल १२ जना छन्। पूर्ववर्ती देउवा सरकारले एसएसपीबाट डिआईजीमा बढुवा गरेका १५ मध्ये ३ जनाले महानिरीक्षक अर्यालसँगै अवकाश पाउनेछन्।

यसर्थ प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा सर्वेन्द्र खनाल, रमेशप्रसाद खरेल र पुष्कर कार्की छन्। यस्तै मनोज नेउपाने, ठुले राई, धिरु बस्नेत र सुरेशविक्रम शाह प्रतिस्पर्धामा छन्। २०४५ असार ३० मा सेवा प्रवेश गरेका उत्तमकुमार कार्की, पवनप्रसाद खरेल, छबिलाल जोशी, ज्ञानविक्रम शाह र शरद चन्द समेत नियमावली योग्यताका आधारमा महानिरीक्षक बढुवाका दावेदार हुन्।

महानिरीक्षकको दौडका लागि १२ डिआईजी योग्य देखिए पनि बरियता, कार्य दक्षता, नेतृत्व र चर्चाका हिसाबले तीन जनाको नाम शीर्ष स्थानमा छ।

खनाल, खरेल र कार्कीको लेखाजोखा
प्रहरी नियमावलीको नियम ४१ को ५ मापदण्डका आधारमा विश्लेषण गर्दा २६ औं महानिरीक्षका मुख्य प्रतिस्पर्धी सर्वेन्द्र खनाल, रमेशप्रसाद खरेल र पुष्कर कार्कीबीच ‘नेक एन्ड नेक’ प्रतिस्पर्धा छ। डिआईजीत्रय खनाल, खरेल र कार्की तीनैजना विभिन्न समयमा काठमाडौं प्रहरी प्रमुखको जिम्मेबारी सम्हालेका अधिकारी हुन्। यी तिनै जना काठमाडौं प्रहरी प्रमुखको रुपमा स्मरणीय छाप छोड्न सफल छन्।

खरेलले दोहोराएर काठमाडौं प्रहरी प्रमुखको जिम्मेबारी सम्हालेका थिए। यस्तै खनाल र कार्की दुवैले महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख भएर जिम्मेबारी सम्हालेका थिए। नेपाल प्रहरीमा चासो, चर्चा र जोखिमका हिसाबले महत्वपूर्ण मानिएका स्थानमा तीनै जनाले उत्तिकै महत्वका साथ क्षमता प्रदर्शन गरेका थिए।

खनाल हाल महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख हुन्। खरेल सुरक्षा निर्देशनालय प्रमुख र कार्की केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) प्रमुख भूमिकामा छन्।

बरियतामा अघि–पछि
एसएसपी हुँदासम्म एक नम्बरमा रहेका रमेश खरेल डिआईजी बढुवामा खनालभन्दा पछाडि परे। खनाल अहिले डिआईजीहरुको बरियताको एक नम्बरमा छन्। दोस्रो रमेशप्रसाद खरेल र तेस्रो पुष्कर कार्की हुन्।

अपराध अनुसन्धान र अप्रेशनमा तीनैजनाको क्षमता संगठनभित्र बराबर मानिन्छ। खनालसँग प्रवक्ता भएर महानिरीक्षक सचिवालयमा काम गरेको अनुभव छ। कार्कीले पूर्व प्रहरी महानिरीक्षक कुबेरसिंह राना र उपेन्द्रकान्त अर्यालको कार्यकालमा सचिवालय सदस्यका रुपमा काम गरेका थिए।

ट्राफिक महाशाखामा खनालले गरेको ‘नो हर्न अभियान’ पशुपतिनाथ र ठमेल क्षेत्र ‘नो भेइकल जोन’ र काठमाडौंमा १० वर्षपछि बलेका ट्राफिक संकेत बत्तीहरु उनको नेतृत्वमा भएका पछिल्ला काम हुन्।

खरेलले डिआईजी भएर प्रहरी प्रधान कार्यालय सुरक्षा निर्देशनालय अन्र्तगत महत्वपूर्ण विदेशी पाहुनाको सुरक्षाको जिम्मेबारी निर्वाह गर्दै आएका छन्। ६ महिनायता काठमाडौंमा भएका विदेशी भिभिआईपी पाहुनाको सुरक्षा प्रबन्ध उनको काँधमा छ। पछिल्लो पटक पाकिस्तानी प्रधानमन्त्री शाहिद खाकान अब्बासीको सुरक्षा व्यवस्थापन नेतृत्व उनैले गरेका थिए।

कार्कीले व्यवसायिक र संगठित अपराध नियन्त्रणको मुख्य केन्द्र मानिने सिआईबीलाई ८ महिनादेखि नेतृत्व दिइरहेका छन्। निर्माण व्यवसायी महासंघ अध्यक्ष शरदकुमार गौचन हत्याकाण्डदेखि एपेक्स बैंक घोटाला प्रकरणसम्म अनुसन्धान र कारवाहीको नेतृत्वकर्ता उनै हुन्।

अन्तर्राष्ट्रिय स्तरको क्षमता प्रदर्शन पनि उस्तै
अहिले महानिरीक्षकको दौडमा देखिएका तीनै प्रहरी अधिकारीले विदेशमा पनि आफ्नो कार्यक्षमता प्रस्तुत गर्ने अवसर पाएका छन्। संयुक्त राष्ट्र संघ मुख्यालय अन्तर्गत रहेर काम गरेको अनुभव तीनै जनासँग छ।
खनालले राष्ट्रसंघको कार्यसञ्चालन अधिकारीको रुपमा काम गरेका थिए। खरेलले फोर्स कमाण्डरको रुपमा भूमिका निर्वाह गरेका थिए। कार्कीले लाइबेरिया प्रहरीको पुनःसंरचना र नियमावली बनाएर कार्यान्वयन चरणमा पुर्याएका थिए।

इन्काउन्टरका सूत्रधार
अपराध महाशाखा प्रमुखका रुपमा काठमाडौंमा बढ्दो गुण्डाराजलाई लगाम लगाउन कार्कीले २०७१ साउन २१ मा पहिलो पटक फायर खोलेका थिए। गुण्डागर्दी, अवैध असुली, कर्तब्य ज्यान उद्योग र संगठित गुण्डागर्दीलाई बढावा दिइरहेका दिनेश अधिकारी ‘चरी’ कार्कीकै कार्यकालमा मारिएका थिए। चरी ‘इन्काउन्टर’ले तत्कालिन संसदमा समेत हंगामा भएको थियो।

कार्की लगत्तै अपराध महाशाखा प्रमुखको रुपमा खनाल आएका थिए। प्रहरीले कार्कीकै बाटो पछ्याउँदै अर्का गुण्डा नाईके कुमार श्रेष्ठ घैंटेको इकाउन्टर गरेको थियो।

जिल्ला प्रहरी प्रमुखको रुपमा खरेल सिराहा र पर्सामा रहँदा सशस्त्र समुहबिरुद्ध गरेको कारवाही स्मरणीय छ। जनतामा त्रास फैलाएर राजनीतिको आवरणमा हुने असुली रोक्न प्रहरीले ‘इन्काउन्टर’ गर्न थालेपछि त्यतिबेला तराई केन्द्रित दलहरुले उनको सरुवाका लागि लबिङ गरेका थिए।

प्रहरीमा आफूभन्दा तल्लो तहका प्रहरी माझ यी तीनै जनाको उत्तिकै वर्चस्व छ। खरेल र कार्की कडा मिजासका मान्छिन्। खनाल प्रहरीभित्र लचिलो अधिकारीका रुपमा परिचित छन्। तीनै जनाको समान विशेषता के छ भने उनीहरुले आफूभन्दा तल्लो तहका प्रहरी अधिकारीलाई प्रयोगभन्दा परिचालनमा जोड दिँदै आएका छन्। गल्ती गरे कारवाही र राम्रो गरे पुरस्कार भन्ने मान्यता तीनै जनामा देखिन्छ।

निर्णयको केन्द्रमा ओली
को बन्छ त महानिरीक्षक? बुधबार साँझसम्मका घटनाक्रम विश्लेषण गर्दा यसको जवाफ प्रधानमन्त्री केपी ओलीसँगबाहेक एक जनासँग मात्र छ। ती हुन् माओवादी अध्यक्ष पुष्पकमल दाहाल। पार्टी अध्यक्ष दाहाल र प्रधानमन्त्रीबीच छलफल भइरहेकाले गृहमन्त्री थापाले अाफैँले धेरै चासाे नदेखाएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार भारत उड्नुअघि बिहीबार मन्त्रिपरिषद बैठक बस्दैछ। तीन दिने भारत भ्रमण अगाडि बस्ने सो मन्त्रिपरिषदले नयाँ महानिरीक्षक चयनको प्रक्रिया सुरु नगरे प्रधानमन्त्री स्वदेश फिर्ता नभएसम्मका लागि यो विषय थाती रहनेछ।

प्रतिक्रिया दिनुहोस
काभ्रेमा दुईकाे मृत्य, ९ जना बेपत्ता

    निरन्तरको वर्षाले काभ्रेमा हालसम्म दुई जनाकाे मृत्यु र नौ जना बेपत्ता

नारायणी नदीले एक सयभन्दा बढी घर डुबानमा

    नारायणी नदीमा आएको बाढीले नवलपरासीको गैंडाकोटस्थित सुकुम्बासी बस्ती र बोटे टोल

हनुमन्ते खोलाले ग्यास बुलेट बगायो

    अति भारी वर्षाका कारण आएको भक्तपुरस्थित हनुमन्ते खोलाको बाढीले ग्यास बुलेट

काठमाडौं र ललितपुर जोड्ने युएन पार्कको झोलुंगे पुल बाढीले बगायो

    अविरल परेको अति भारी वर्षाका कारण आएको खाेलामा बाढीले काडमाडौं र