चीन र भारतको तानातानमा केपी ओली,भारत र चीनले ओलीलाई एउटै मितिमा भ्रमणमा गर्न किन दिए निम्तो?



चैत २३–२५ अर्थात् अप्रिल ६–८ तारिख, नेपालका प्रधानमन्त्रीलाई भ्रमणका लागि भारतले प्रस्ताव गरेको मिति।

अप्रिल ८–११ तारिख, चीनको पोआउ (बोआओ) एसियाली वार्षिक सम्मेलनको मिति।

भारतले प्रस्ताव गरेबमोजिमकै मितिमा भए त्यो भ्रमण २ देखि ४ दिनसम्म हुनसक्नेछ।

फागुनको पहिलो साता नेपालको प्रधानमन्त्रीमा दोस्रो पटक नियुक्त भए लगत्तै केपी शर्मा ओलीलाई पहिला आफ्नो देशमा भ्रमण गराउने अभिलाषाले छिमेकी मुलुक चीन र भारतले तत्कालै निम्तो पठाए।

नेपालका प्रधानमन्त्रीको विदेश भ्रमण भारतबाटै हुने परम्परागत मनोविज्ञानलाई ध्यानमा राख्दै स्वयं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको मिहिनेत छर्लङ्गै छ। ओली प्रधानमन्त्री बने लगत्तै उनले फोन गरेर स्वागत गर्न आतुर रहेको मात्रै भनेनन्, नेपालस्थित भारतीय राजदूतमार्फत् पनि शुभकामना पत्रका साथ तेल थप्न लगाए। त्यसअघि नै विशेष प्रतिनिधिको रूपमा विदेशमन्त्री सुष्मा स्वराजले काठमाडौं ओर्लिएर ओलीसँग भलाकुसारी गरिन्।

त्यसो त, निर्वाचन सम्पन्न हुनेवित्तिकै मोदीले प्रधानमन्त्री बन्ने संभावना रहेका ओलीसँग फोनमार्फत् सहकार्यको प्रस्ताव राखिसकेका थिए। मोदीले कुटनीतिक लवजमा ओलीसँग जसरी हुन्छ, चीनअघि भारतीय भूमिमा टेकिदिन विनम्रता प्रटक गरेकोमा दुईमत छैन। मोदीको यत्रो मेहनतका बाबजुद नेपालका प्रधानमन्त्रीले पहिलो विदेश भ्रमण भारतबाट नगर्नु उनको मेहनत बालुवामा पानी हाल्नु सरह नै हुनेछ।

तर उत्तरी छिमेकी चीनले पनि नेपालका प्रधानमन्त्रीलाई तानेर आफूतिरबाट भ्रमण गराउन चाहिरहेको छ। यसअघि पनि चीनप्रति सुमधुर रवैया देखाएका ओलीलाई स्वागत गर्न पाउनु चीनको पनि आतुरता नै होला। प्रधानमन्त्री बने लगत्तै चिनियाँ प्रधानमन्त्रीले शुभकामनासँगै ओलीलाई स्वागतका लागि आतुर रहेको सन्देश पठाएका थिए। दुई छिमेकी भारत र चीनको औपचारिक भ्रमणको तानातानीमा नेपालका प्रधानमन्त्री पर्ने निश्चित नै भयो।

नेपालमा नयाँ सरकार बनेदेखि छिमेकी भारतले लगभग हतारै हतारहरूमा अनपेक्षित ढंगले काम गर्दै आएको प्रतीत हुन्छ। भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण अनपेक्षित, भारतको नेपालप्रतिको नरमपना पनि अनपेक्षित, सहयोगको प्रस्तावना पनि अनपेक्षित र हाल आएर प्रधानमन्त्रीलाई भारत भ्रमणमा आइदिनका लागि स्वघोषित तिथि पनि अनपेक्षित।

नेपालका परराष्ट्रमन्त्रीले समेत एकतर्फी रूपमा निर्धारित तिथिमा प्रधानमन्त्रीले भारत भ्रमण गर्ने नगर्ने निश्चित नभएको र तयारी युद्धस्तरमा नभएको संकेत दिइरहेका छन्। यसको अर्थ प्रधानमन्त्री ओलीले भ्रमणको परम्परामा क्रमभंग खोजेका त हैनन्? क्रमभंगको संभाव्यता देखेर हतासिएको दक्षिणी छिमेकीले यसरी मिति तोकेको पनि हुनसक्छ, त्यो पनि चीन जान अपायक पर्ने गरी।

नेपालका प्रधानमन्त्रीको भारत भन्दा पहिले चीनको भ्रमण हुने संभावना यसकारण थियो कि, चीनमा हुन लागेको पोआओ एसियाली वार्षिक सम्मेलन।

बेइजिङमा राष्ट्रिय जनकांग्रेसको समापनपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री लीले खुलापन तथा सुधारको ४०औं वर्षगाँठमा यस वर्ष हुने चारवटा अन्तर्राष्ट्रिय सम्मेलनको महत्वबारे प्रस्ट्याएका थिए। यस वर्षको जून महिनामा छिङ्ताउमा शाङ्हाइ कोअपरेशन संगठनको शिखर सम्मेलन, सेप्टेम्बरमा बेइजिङमा चाइना–अफ्रिका को–अपरेशन शिखर सम्मेलन, नोभेम्बरमा शाङ्हाइमा प्रथम चीन–अन्तर्राष्ट्रिय आयात एक्स्पो र अप्रिलमा हुने पोआओ सम्मेलन चीनका यसवर्षका महत्वपूर्ण अन्तर्राष्ट्रिय गतिविधि हुन्।

चीनले वार्षिक रूपमा आयोजना गर्दै आएको यस सम्मेलनमा नेपालबाट निरन्तर उच्चस्तरीय प्रतिनिधित्व हुँदै आएको छ। हाइनान प्रान्तमा पर्ने पोआउ शहरमा हुने यसपटकको सम्मेलनलाई चीनले विश्वको वृहत्तर समृद्धिका लागि खुला तथा अभिनव एसिया भन्ने भावार्थमा आयोजना गर्दैछ। यसअघि सन् २०१६ मा प्रधानमन्त्री छँदै ओलीले यस मञ्चलाई संवोधन गरेका थिए।

सन् २०१७ को मार्च अन्तिम साता पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्मेलनमा भाग लिँदै बेइजिङमा राजकीय भ्रमण समेत गरेका थिए। सन् २०१५ मा तत्कालीन राष्ट्रपति रामवरण यादवले सहभागिता जनाए। पूर्वराजा ज्ञानेन्द्र शाह, तत्कालीन मन्त्रिपरिषदका उपाध्यक्ष कीर्तिनिधि विष्ट लगायत नेपालका तर्फबाट अहिलेसम्म उच्चस्तरीय प्रतिनिधित्व हुँदै आएको छ। यसपटक नेपालका तर्फबाट ओली नै सहभागी हुने प्रचुर संभावना भारतले देखेको हुनुपर्छ, तसर्थ मिति जुधाएर भारततर्फ पाइला मोड्न खोजेको हुनुपर्छ।

अप्रिल ८–११ तारिखसम्म पोआउ सम्मेलन भएकाले ६–८ सम्म भारत भ्रमण सकेलगत्तै नेपालका प्रधानमन्त्रीले सिधै चीनको यात्रा गरेपनि हुनसक्थ्यो। त्यसो गर्दा पनि ओलीलाई पहिला आफ्नै मुलुक घुमाउने भारतीय अभिष्ट त पूरा हुन्थ्यो। सुन्नमा आएअनुसार प्रधानमन्त्रीको भारत भ्रमण भएमा बढीमा ४ दिनसम्म चल्नसक्छ। २ दिनको भ्रमण भए त पोआउ भ्याइन्थ्यो, तर ४ दिनको भयो भने त असंभव नै भयो। त्यसका अलावा तयारी पनि त चाहियो।

यदि प्रधानमन्त्रीलाई भारत भ्रमण गर्नै पर्ने छ भने पोआउ सम्मेलनमा नेपालबाट अरू कोही उच्च अधिकारीले भाग लिँदा पनि हुन्थ्यो। तर त्यस्तो नहोला र ओली नै जालान् भन्ने चिसो भारतको मनमा पसेको हुनुपर्छ। भारतले मिति तोकिसकेपछिको अवस्थामा चीनको निमन्त्रणाको सार्थकता कति रहला र?

आम मानिसका विचारमा प्रधानमन्त्रीको विदेश भ्रमण जुन देशबाट भएपनि फरक पर्दैन। तथापि कूटनीतिक अर्थमा, अझ विशेष गरी भारतका लागि यो ठूलो महत्वको विषय हो। त्यसमाथि अहिलेसम्मका कुनै पनि नेपाली प्रधानमन्त्रीले भंग गर्न नसकेको परम्परा। सन् २००८ मा प्रधानमन्त्री बनेका प्रचण्डले पहिलो विदेश भ्रमणको सिलसिला झण्डै तोडिसकेका थिए। तर पछि भारत गएका बेला ‘बेइजिङ ओलम्पिकको समापनमा पो गएको त १ भनेर सच्याएबाट उनले पनि यो क्रमलाई भंग गर्न चाहेजस्तो देखिएन।

नेपाली पक्षले भारत भ्रमणको तयारी भईनसकेको जनाएको अवस्थामा मितिमाथि पुनर्विचार पनि हुनसक्ला। तर तत्कालका लागि त्यो भारतीय हतास मनस्थितिको उपज भएको पुष्टि हुन्छ।

ओलीको अघिल्लो कार्यकालदेखि नै झस्केको मोदी सरकारसामु नेपाललाई आफ्नो पकडबाट फुत्किन नदिने चुनौति छ। पहिल्यै भारत भ्रमण गराएर राम्रो आतिथ्य दिनसकियो भने चिनियाँ सत्कारबाट ओली नबहकिएलान् भन्ने भारतीय बुझाई हुनसक्छ।

भारतले घोषणा गरेको मितिमा प्रधानमन्त्रीको भ्रमण होला, नहोला। भ्रमण नभएपनि ओली पोआउ सम्मेलनमा सहभागी होलान्, नहोलान्, त्यो आफ्नो ठाउँमा छ। तर नेपालको छिमेक सम्बन्धलाई अलमलमा पार्न भारत सफल भएको छ।

प्रतिक्रिया दिनुहोस
लगातार बर्षा र पहिरोले नागढुंगा सुरूङमार्ग सडक अवरूद्ध

  पृथ्वी राजमार्गको धादिङ धुनिवेशी नगरपालिका-९ खत्रीपौवास्थित सडक अवरूद्ध भएको छ। सुरूङमार्ग नजिकै

काठमाडौं उपत्यका प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

     काठमाडौं प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला

देशभर अत्यधिक वर्षा, १६ स्थानमा चेतावनीको तह पार गर्‍यो

     अत्यधिक वर्षाले देशभरका १६ स्थानमा चेतावनीको तह पार गरेको छ ।

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता

     संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी