प्रहरीलाई भाला हानेर मारेको आरोप लागेका रेशम चौधरीलाई ओलीले जेलमुक्त गर्ने राजपा नेताको यस्तो छ दाबी



राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम सरकारमा सहभागि हुने विषयमा छलफलमा जुटेका छन् । दुवै दलले समान तर फरक तरिकाले आफ्ना माग सरकारसमक्ष राखेका छन् । माग पूरा भए सरकारमा सहभागि हुने दुवै दलका नेताहरुले बताउँदै आएका छन् । यिनै विषयवस्तुमा केन्द्रित रहेर राजपाका नेता अनिल झासँग ऋषि धमलाले कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

सरकारमा सहभागि हुने विषयमा भइरहेको छलफल कहाँ पुग्यो ?
सरकारमा जाने विषयमा प्रधानमन्त्रीसँग कुराकानी भएको हो । हामीले संविधान संशोधनको माग अघि सारेका छौँ । त्यसमा प्रधानमन्त्रीले सकारात्मक छु भन्नुभएको छ । तर सरकारमा जाने निर्णय गरिएको छैन । किनभने संविधान गर्ने विश्वस्त आधार तयार नभएसम्म सरकारमा जाँदैनौँ ।

प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डसँग राजनीतिक रुपमा सहमति नै भइसकेको होइन र ?
छलफल मात्रै भएको हो । दुवै जनाले संविधान संशोधनका लागि सकारात्मक छु भन्नुभएको हो । उहाँहरु त सधैँ सकारात्मक नै हुनुहुन्छ । तर उहाँहरुले कहिल्यै पनि काम गर्नुभएको छैन । यसपटक उहाँहरुले चाहनुभयो भने तुरुन्तै संविधान संशोधन हुन्छ । गर्ने वा नगर्ने भन्ने व्यवहारिक कुरा हो ।

उहाँहरुले त अहिले संविधान संशोधन नगर्ने तर फोरम र राजपाका नेताहरुलाई मन्त्री बनाउने भन्नुभएको छ नि ?
उहाँहरुले जे भने पनि यो विषयमा कुरा मिल्न बाँकी छ ।

तपाईहरु सरकारमा जान खुट्टा उचालेर बस्नुभएको छ । शर्तहरु पनि अगाडि सार्नुभएको छ हैन ?
त्यस्तो होइन । प्रधानमन्त्रीले कुरा गर्छु भनेपछि हामीले भेटेका हौँ । छलफल गरेका हौँ । यस्ता छलफल त सधैँ भइरहेकै छ नि । यो त प्रजातान्त्रिक अभ्यास हो । राजपाका नेतासँग देशका प्रधानमन्त्रीले छलफल गर्न चाहेपछि हामी किन पछि हट्नु ?

सरकारमा जाने कि नजाने, त्यो भन्नुस् न ?
हामी सरकारमा नजाने कसम खाएर राजनीतिक गरेका मान्छे होइनौँ । अहिलेको अवस्थामा सरकारमा जाने कुरा प्रबल होइन । संविधान संशोधनको एजेण्डा प्राथमिकतामा छ । हाम्रो एजेण्डाका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएकै छौँ । सासंद रेशम चौधरीसहित केही साथीहरु जेलमा छन् । वारेन्टेड छन् । यि सबै विषयमा छलफल भएर जे निष्कर्ष निस्कन्छ, सोही अनुसार हामी सरकारमा जाने वा नजाने विषयमा निर्णय गर्छौँ ।

रेशम चौधरीलाई त जेलमुक्त गर्न चाहनुहुन्न भन्ने अरोप छ नि ?
मैले अहिले भर्खरै भनेँ नि, रेशम चाधरीलगायत आन्दोलनका क्रममा मुद्दा लागेर जेल परेकाहरुलाई मुक्त गर्नुपर्छ ।

आधिकारिक रुपमा त रेशम चौधरीको बारेमा केही धारणा आएको छैन नि ?
देशकै सर्वोच्च स्थान संसदमा बोल्दा नै हाम्रा पार्टीका सासंदहरुले रेशम चौधरीको विषय उठाएका थिए । सिपाही र हावलदारलाई भनेर त मुक्त हुँदैन नि । जहाँ जहाँ भन्नुपर्ने हो, ति ठाउँमा राजपाले भनिरहेको छ । प्रधानमन्त्री केपी ओलीसँग पनि कुरा गरिसक्यौँ ।

केके कुरा भयो ?
सबै कुरा त किन भन्न पर्यो र । जे होस सांसद भइसकेका चौधरीलाई मार्ने हो कि बचाउने हो भनेर सोध्यौँ । उहाँले नियम कानुनअनुसार मिलाएर मुक्त गर्न सकारात्मक छु भन्नुभयो । हामीले पहल गरिरहेका छौँ । केके गरियो भनेर सुचना प्रकाशित नै गर्ने कुरा त भएन । रेशम चौधरीलाई पनि यो कुरा थाहा छ । सारा जनतालाई थाहा छ । ऋषि धमलाले हामीलाई यसरी आरोप लगाएपछि त हामी सकिन्छौँ नि ।

सरकारमा सहभागि हुनका लागि दुईवटा मन्त्रालय र उपराष्ट्रपति पद माग्नुभएको हो ?
हामीले केही पनि मागेका छैनौँ । मिडियाले टुइष्ट गरिदिएको मात्रै हो ।

राजेन्द्र महतो र शरतसिंह भण्डारी मन्त्री बन्न चाहनुहुन्छ । तपाईहरुको समर्थन छ कि छैन ?
मन्त्री बन्न कसले चाहदैन र ? सबै गणेशमान जस्तो भए छ मन्त्री र प्रधानमन्त्री को बन्ने ? हामीले संविधान संशोधन र बन्दी नेताहरु छुटाउनुपर्ने माग गरेका छौँ । उहाँहरु सकारात्मक हुनुहुन्छ ।

सरकारमा को जाने भन्ने विषयमा तपाईहरुचि होडबाजी भएको हो ?
होडबाजी छैन । दुईवटा मन्त्रालय पाएको खण्डमा को जान्ने भन्ने छलफल गर्छौँ । तर अहिले सरकारमा जाने नजाने टुङ्गो छैन ।

तर तपाईहरु सरकारमा जानुहुन्छ होला ?
अब तपाईसँग जति सुचना मसँग हुँदैन । तपाईसँग सबै क्षेत्रका मान्छेहरुसँग कुराकानी भइरहन्छ । त्यसैले म चाँही अहिले नै राजपा सरकारमा जान्छ भन्न सक्दिन ।

राष्ट्रपतिमा कसलाई मतदान गर्नुहुन्छ ?
पार्टीमा निर्णय हुन्छ । अहिले सम्भावनाको कुरा नगरौँ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले असभ्य व्यवहार देखायो : ओली

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा कांग्रेसले असभ्य व्यवहार देखाएको

संसद् भवन अगाडि नेविसंघको प्रदर्शन

    नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय

प्रधानमन्त्री प्रचण्डले देउवालाई बोलाए बालुवाटार

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरूलाई छलफलका