बिद्यालाई राष्ट्रपतिमा दोहोर्याउन ओली नेपालको यसरी जित्दैछन् मन,झलनाथलाई रोक्न यस्तो पाक्दैछ बालुवाटारमा खिचडी



राष्ट्रपति निर्वाचनको मिति फागुन २९ गते तोकिएसँगै नयाँ राष्ट्रपतिका लागि सत्तारुढ एमालेभित्र लबिङ तीब्र भएको छ। राष्ट्रपतिका दावेदार वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री झलनाथ खनालले सक्रियता बढाएका छन्।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली राष्ट्रपतिमा भण्डारीलाई नै दोहोर्याउने पक्षमा छन् भने बरिष्ठ नेता माधव नेपालले मुख खोलिसकेका छैनन्। खनालले आफू निकट नेताहरुमार्फत पहिला माधव नेपाललाई मनाउने प्रयास गरिरहेका छन्, जसमा गोकर्ण विष्ट, जीवनराम श्रेष्ठ, प्रमेश हमाल सक्रिय छन्।

नेपाल फकाउँदै ओली
अघिल्लो पटक विद्या भण्डारीलाई राष्ट्रपति बनाउँदा बरिष्ठ नेता नेपालको साथ पाएका अध्यक्ष ओलीले यसपटक पनि त्यही सूत्र प्रयोग गर्ने कोशिश गरिरहेका छन्। त्यसबेला भण्डारी पार्टीमा रहेमा महाधिवेशनमा आफुलाई अप्ठेरो पर्न सक्ने विश्लेषण गरेका नेपाल आफैंले स्थायी समिति बैठकमा राष्ट्रपति बनाउन प्रस्ताव गरेर सम्भावित चुनौती टारेका थिए। त्यतिबेला पनि खनाल राष्ट्रपतिका आकांक्षी थिए तर अहिले जस्तो मुख खोलेका थिएनन्, जसले गर्दा भण्डारीलाई प्रस्ताव गर्न नेपाललाई सहज भएको थियो।

तर अहिले परिस्थिति फरक छ।

खनालले ‘म राष्ट्रपतिका लागि तयार छु’ भन्दै आफु निकट नेताहरुलाई लबिङमा उतारेका छन्। त्यसको पहिलो दबाब नेपालमाथि परेको छ, जसले गर्दा उनी कसलाई समर्थन गर्ने भन्ने निर्णयमा पुग्न सकेका छैनन्।

नेपालको साथ नपाएमा विद्या भण्डारीलाई दोस्रो कार्यकाल राष्ट्रपति बनाउन अप्ठेरो हुने ठानेर अध्यक्ष ओली पनि उनलाई खुसी पार्ने प्रयासमा छन्। त्यसका लागि मन्त्रिपरिषद् गठनको पहिलो दिनमै नेपाल निकट लालबाबु पण्डितलाई मन्त्री नियुक्त गरेका ओलीले यसबीचका निर्णयहरुमा नेपालसँग सल्लाह लिने गरेको उनी निकट नेताहरूले बताए।

स्थायी समिति बैठकमा प्रधानमन्त्रीको उम्मेदवार र संसदीय दलको बैठकमा संसदीय दलको नेतामा नेपाल स्वयंले ओलीको नाम प्रस्ताव गर्नुलाई ओली पक्षले ‘दुई नेताबीच निकटता बढेको’ भनेर अथ्र्याएका छन्। फेरि पनि पार्टी अध्यक्षका आकांक्षी रहेका नेपाललाई ओलीले सहयोग गर्ने बचन दिएको चर्चा एमाले पंक्तिमा छ। तर, नेपाल निकट नेताहरु ओलीको आश्वासन पत्याउन नसकिने निष्कर्षमा पुगेका छन्।

‘नवौँ महाधिवेशनका बेला झलनाथ खनाललाई राष्ट्रपति र वामदेव गौतमलाई कार्यबाहक अध्यक्ष भनेर ओलीले उधारो आश्वासन दिए जस्तै हुनसक्छ अहिले माधव नेपाललाई दिइने आश्वान पनि’, माधव नेपाल निकट एमालेका एक नेताले भने।

उस्तै परे झलनाथ राष्ट्रपति
खनाल पहिला माधव नेपालको विश्वास जित्ने प्रयासमा रहनुको कारण हो, नेपालले सहयोग गरे एमालेको स्थायी समितिमा आफ्नो पक्षमा बहुमत पुग्न सक्ने अवस्था।

नवौँ महाधिवेशनमा ओलीलाई अध्यक्ष जिताउन निर्णायक भूमिका निर्वाह गरेका उपाध्यक्ष वामदेव गौतमसँग पनि हालै भेटेर खनालले सहयोगका लागि याचना गरेका छन्। खनाल निकट नेताहरूले आन्तरिक बैठकहरूमा वामदेव गौतमले सहयोग गर्ने बचन दिएको बताउन थालेका छन्।

गौतमको भनाइ उद्धृत गर्दै खनाल निकट एक नेताले भने, ‘माधव कमरेडले स्थायी समितिमा तपाईंको प्रस्ताव ल्याउनुभयो र मतदानमा जाने स्थिति बनाउनुभयो भने म तपाईंको पक्षमा उभिन्छु।’

ओलीले पूर्वसहमति अनुसार आफूलाई पार्टीको कार्यबाहक अध्यक्ष र संसदीय दलको नेतामध्ये कुनै पनि नदिएको तथा आफू निकट नेता किरण गुरुङलाई प्रदेश ४ को मुख्यमन्त्री बन्नबाट रोकेको घटनाले गौतम असन्तुष्ट छन्। झन् ओली निकट नेताहरुले निर्वाचनमा आफूलाई हराउन माथिबाटै षड्यन्त्र गरेको मुद्दा उनले थपेका छन्।

एमालेको स्थायी समितिमा गौतम निर्णायक छन्। उनीसँग आफू र किरण गुरुङ गरी दुई मत छ। नेपाल, खनाल र गौतम एक ठाउँमा उभिएमा ओली अल्पमतमा पर्छन्।

स्थायी समितिमा मताधिकार भएका २१ सदस्यमध्ये भण्डारीका पक्षमा १० जना (केपी ओली, ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, शंकर पोखरेल, छविलाल विश्वकर्मा, मुकुन्द न्यौपाने, सुवास नेम्वाङ र सत्यनारायण मण्डल) हुन्छन् भने खनालका पक्षमा ११ जना (माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे) छन्।

तर यस्तो ‘नेक टु नेक’ प्रतिस्पर्धा हुने अवस्थामा अध्यक्ष ओलीले मतदानमा लैजाँदैनन् भन्ने आशंका धेरैमा छ।

शीतल निवासको सन्देश
दुई वर्ष शीतल निवासमा बस्दा एमालेको गुट राजनीतिमा समेत सक्रिय रहेको आरोप खेपिरहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो कार्यकाल पनि शीतल निवासमा बस्न अन्तिम अस्त्र प्रयोग गर्न लागेको बुझाइ माधव नेपाल गुटमा देखिन्छ। एमालेभित्र के टिप्पणी गरिन्छ भने ओलीको गुट व्यवस्थापनमा भण्डारी अब्बल मानिन्छिन् र हालै मात्र उनले माधव नेपालसमक्ष आफूलाई समर्थन गर्न प्रस्ताव पठाएकी छिन्।

नेपाल निकट स्रोत भन्छ, ‘यदि राष्ट्रपतिमा समर्थन नगरिए आगामी नेतृत्वमा आउन समस्या पर्न सक्छ भनिएको छ।’

नेपाल पक्षधरले केही दिनअघि राष्ट्रपतिमा निरन्तरता नपाए ‘सबै सेवा–सुविधा त्यागेर पार्टी राजनीतिमा सक्रिय हुने’ भन्दै शीतल निवासबाट बाहिर ल्याइएको सन्देशलाई पनि भण्डारीको आग्रहसँग जोडेर हेरेका छन्। आगामी महाधिवेशनमा नेपाल पनि अध्यक्षका आकांक्षी हुन्, र भण्डारीले आफु पार्टीमा फेरि सक्रिय हुने सन्देश दिएर मनोवैज्ञानिक प्रभाव पार्न खोजेकी हुनसक्छिन्।

राजदूत नियुक्ति, मन्त्री चयनदेखि राष्ट्रियसभा सदस्यमा समेत भाग लिने गरेकी राष्ट्रपति भण्डारीले पछिल्ला दिनमा ओली निकट नेताहरुलाई शीतल निवासमा भेटेर आफ्नो पक्षमा वातावरण बनाउन निर्देशन दिइरहेको नेपाल पक्षीय नेताहरूले बताउने गरेका छन्।

झलनाथ खनाल प्रधानमन्त्री भैसकेका नेता हुन्। कार्यकारी प्रमुख भैसकेका नेताले आलंकारिक राष्ट्रपतिका लागि आकांक्षा देखाउनु स्वभाविक नहुने तर्क ओली पक्षका नेताहरूको छ।

एमाले–माओवादी पार्टी एकताअघि नै राष्ट्रपति भण्डारीले माओवादी अध्यक्ष पुष्पकमल दाहालको मन पगालिसकेकी छन्। कहिले ओली र दाहाललाई सँगै त कहिले दाहालको परिवारलाई अलग्गै बोलाएर भोज दिँदै उनले मनोवैज्ञानिक रुपमा आफ्नो पक्षमा लबिङ गर्दै आएकी छिन्। हालै उनले पार्टी एकतामा बल पु¥याउन भन्दै माओवादीका केही र एमालेका ओली निकट केही नेताहरुलाई बोलाएर शीतल निवासमा डिनर दिएकी थिइन।

नेपाल समूहमा फाटो
गुट चलाउन झन्झट मान्ने माधव नेपालको गुटमा पनि राष्ट्रपति प्रकरणले फाटो ल्याएको छ। महाधिवेशनमा खनालले आफ्ना मान्छेलाई नेपालको गुटबाट टिकट दिलाए पनि आफूले चाहिँ राष्ट्रपतिको लोभमा ओलीलाई सघाएको नेपाल पक्षको भित्री बुझाइ छ। त्यही भएर पनि व्यक्तिगत रुपमा खनालप्रति नेपाल सकारात्मक देखिँदैनन्।

तर, नेपाल गुटका घनश्याम भुसाल, योगेश भट्टराई, युवराज ज्ञवालीलगायतका नेताहरु भने नेपालले निःशर्त रुपमा खनाललाई अघि सार्नुपर्ने पक्षमा छन्। केही नेताहरूको विचारमा ‘यही प्रकरणले नेपालको गुट संकटमा पर्न सक्छ।’

मुख्यमन्त्रीको निर्वाचनमा बरिष्ठ नेता नेपालले आफ्नो समूहका नेताका पक्षमा प्रभावकारी पहल नगरेको बुझाइ उनको समूहमा छ। प्रदेश ३ मा बहुमत नभएको थाहा पाउँदापाउँदै अष्टलक्ष्मी शाक्यलाई निर्वाचनमा होम्नु र प्रदेश १ मा आफू निकट रहेका जीवन घिमिरे, राजकुमार ओझा, राजन राईलगायतलाई भीम आचार्यका पक्षमा उभ्याउन नसक्नुलाई नेपालको कमजोरीका रुपमा उनकै समूहमा आलोचना भइरहेको छ।

ओलीले निर्ममतापूर्वक आफ्ना समूहका नेताहरुलाई किनारा लगाइरहेको बेला नेपालले ओलीसँग ‘हिमचिम बढाएको’ प्रति पनि नेताहरु सन्तुष्ट छैनन्। उनी निकट एक युवा नेताले भने, ‘माधव कमरेडले थेग्न सक्नुहुन्छ कि सक्नुहुन्न भनेर हेरिरहेका छौँ।’

राष्ट्रपतिका लागि ओली र नेपालबीच केही भित्री सम्झौता हुन सक्ने धेरैको आकलन छ। विगतदेखि नै प्रायः एकै ठाउँमा हुने गरेका यी दुई नेताले नवौँ महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गरेपछि दुरी बढेको थियो।

ओली निकट केही नेता ‘ओली र नेपाललाई पुनः एक ठाउँमा ल्याउने’ भन्दै सक्रिय देखिएका छन्। माओवादीसँग एकता भएपछि पुरानो गुटगत संरचना भत्किने र नयाँ बन्ने भएकाले यी दुई नेता एक ठाउँमा उभिने उनीहरुको तर्क छ।
ओली र नेपाल फेरि एक ठाउँ उभिए भने विद्या भण्डारीको शीतल निवास बसाइ पाँच वर्ष सहजै लम्बिनेछ।

प्रतिक्रिया दिनुहोस
रुपन्देहीमा सहकारी पीडितको प्रदर्शन

     सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको मंगलबार जिल्ला सरकारी वकिल

धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ विरुद्ध रेड नोटिस जारी गर्ने तयारी

     नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड

ग्लोबल आइएमई बैंकद्वारा मुलुककै ठुलो सौर्य विद्युत परियोजनामा कर्जा लगानी सम्बन्धी सम्झौता

  ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा

माओवादीले कात्तिक १० गते काठमाडौंमा प्रदर्शन गर्ने

    नेकपा (माओवादी केन्द्र)ले कात्तिक १० गते काठमाडौंमा प्रदर्शन र खबरदारी सभा