शनिबारदेखि दिउँसो ६ घण्टा नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने



रातको समयमा सवारी रोकेर काम गरिएको भए पनि नारायणगढ–मुग्लिन सडकखण्डको कामको प्रगति हुन नसकेपछि भोलि शनिबारदेखि दिउँसो सवारी रोकेर काम गरिने भएको छ ।

रातको समयमा भन्दा दिउँसोमा कामको प्रगति हुनसक्ने भन्दै स्थानीय प्रशासन, नारायणगढ–मुग्लिन सडक आयोजना, परामर्शदाता र ठेकेदार कम्पनीले यस्तो निर्णय गरेका हुन् । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म एक महिना सवारी रोकेर काम गरिने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनुभयो ।

गत पुस १८ गतेदेखि सडक विस्तारको कामलाई तीव्रता दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको थियो । आज राति भने सडक नरोकिने आयोजनाका इञ्जिनियर शिव खनालले बताउनुभयो ।

गत वर्ष दिउँसो १० बजेदेखि ४ बजेसम्म सवारी रोकेर काम गरिएको थियो । त्यतिबेलाको काम प्रभावकारी भएको भन्दै ठेकेदार कम्पनी, नारायणगढ–मुग्लिन सडक आयोजना र परामर्शदाता कम्पनीले स्थानीय प्रशासनलाई दिउँसो नै सडक रोकेर काम गर्न माग गर्दै आएका थिए । यसअघि परीक्षणको रुपमा रातिमा सवारी रोकेर काम गर्न स्थानीय प्रशासनले दबाब दिएको थियो ।

रातिको समयमा सवारी रोकिँदा त्यसको असर दिउँसो पर्ने हुँदा उक्त सडक खण्ड पार गर्न घण्टौँ लाग्ने गरेको छ जसका कारण दिनको काम पनि प्रभावित भएको छ ।

आयोजनाका प्रमुख चन्द्रनारायण यादवले राति सवारी रोक्दा राति र दिउँसो दुवै समयमा काम हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो “रातमा सवारी रोक्दा दिउँसोको पनि काम प्रभावित भयो जसले गर्दा प्रगतिमा चार गुणा कमी आयो ।” त्यसैले शनिबारबाट गत वर्षझैँ दिउँसो सवारी रोकेर काम गर्ने बताउनुभयो ।

सो सडकको घुमाउने, १६ किलो र चेपाङ डाँडामा भित्तो काट्ने काम बाँकी रहेको छ । घुमाउनेमा २०० मिटर, चेपाङ डाँडा र १६ किलोमा ३०० मिटर भित्तो काट्ने काम बाँकी रहेको छ ।

हालसम्म उक्त सडकखण्डको ७२ प्रतिशत काम सम्पन्न र १४ दशमलव ७ किलोमिटर सडक कालोपत्रे भएको आयोजनाले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिउँसो सवारी रोक्ने ठाउँ तय गरेको छ ।

कार्यालयका प्रमुख सन्तोष पन्तका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने ट्रकलाई भतेरी र रामनगरमा रोकिनेछ भने बस र साना सवारीलाई जुगेडी र दाशढुंगामा रोकिने छ ।

काठमाडौँबाट नारायणगढतर्फ आउने बस र साना सवारीलाई मुग्लिनमा र ट्रकलाई लेवाटारमा रोकिने छ । पोखरातर्फबाट आउने बस र साना सवारीलाई बेनिटार र ट्रकलाई आँबुखैरनीमा रोकिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
रवि प्रतिको अमानवीय र प्रतिशोधपूर्ण व्यवहार रोक्न प्रचण्डको आग्रह

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा

तपाईँहरूको नाम विश्वमा राख्ने गरी काम गर्छु : प्रधानमन्त्री ओली

 प्रधानमन्त्री केपी शर्मा ओलीले गृहजिल्ला पुगेर विश्वमा नाम राख्ने गरी काम गर्ने बताएका

राजनीति विचौलियाको हातमा छ : पुष्पकमल दाहाल प्रचण्ड

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार राष्ट्रिय कर्मचारी महासंघको स्थापना

काभ्रेबाट आधा किलो सुनसहित २ जना पक्राउ

  काभ्रेको बनेपा नगरपालिका–१३ साँगा चोकबाट ५ सय ५८ ग्राम सुनसहित २ जनालाई