समानुपातिक सुचिले पार्टी भित्रै भाँडभैलो – झोला उठाउनेदेखि मोबाइल फुटाउनेसम्म, कुन पार्टीमा के भयो ?



राष्ट्रिय मान्यताप्राप्त पाँचवटै पार्टीभित्र समानुपातिकतर्फका प्रदेश सांसद छनोटसँगै भाँडभैलो मच्चिएको छ । विशेष आरक्षणका रूपमा राज्यका नीतिनिर्माण तहमा उत्पीडित जाति, वर्ग, क्षेत्र र लिंगका व्यक्तिको प्रतिनिधित्वको व्यवस्था गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरिए पनि दलहरूले आफ्नै ‘घेरा’ भित्रबाट मात्रै सांसद छानेपछि किचलो बढेको हो ।

निर्वाचन आयोगले दिएको समयसीमाभित्र दलहरूले शुक्रबार प्रदेशसभातर्फका सांसदको नामावली आयोगमा बुझाएका थिए । आयोगले नै बन्दसूचीको क्रमांकलाई तलमाथि नगरी नाम छनोट गरेर बुझाउन आग्रह गरे पनि ‘क्लस्टर’ मिलाउँदा नेताहरूले आफ्नैलाई रोजेपछि भाँडभैलो निम्तिएको हो ।

एमाले माओवादीमा नेताहरूले आफ्नै नातागोता रोजेको र कांग्रेसमा देउवाले पौडेल पक्षलाई बेवास्ता गर्दै आफूपक्षीय नेताहरूलाई मात्रै राखेको भन्दै विवाद बढेको छ भने मधेसकेन्द्रित दल राजपाको केन्द्रीय कार्यालय नै तोडफोड भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले मनोमानी सांसद चयन गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष निर्णय पुस्तिकामा हस्ताक्षरै नगरी बैठक छाडेर बाहिरिएको थियो ।

माओवादी केन्द्रभित्र पनि समानुपातिक सांसद छनोट गर्दा नेताहरूकै बीचमा चर्काचर्की परेको थियो । खासगरी प्रदेश ३ को सांसद छनोटमा विवाद बढेपछि प्रदेश इन्चार्ज हितमान शाक्यको मोबाइल नै फुटेको छ । खस आर्यबाट पुरुषतर्फको १ नम्बर सूचीमा परेका झम्क पराजुलीले आफ्नो नाम काटेर नेताहरूले आफ्नै श्रीमती र छोरीलाई राखेको भन्दै शाक्यको मोबाइल पार्टी केन्द्रीय कार्यालयको छतबाट फ्याँकिदिएका थिए । उनले प्रदेश इन्चार्ज शाक्य, संयोजक झक्कु सुवेदी, कार्यालय सदस्य दिलीप प्रजापतिलगायत नेता बसिरहेको ठाउँमा पुगेर शाक्यको मोबाइल फ्याँक्नुका साथै झोलासमेत टिपेर हिँडेका थिए ।

राजपामा भने विवादका कारण केन्द्रीय कार्यालयमै तोडफोड भएको छ । मधेसी निजामती कर्मचारी मञ्चका पूर्वअध्यक्ष विनोदकुमार सिंहलाई समानुपातिकमा सिफारिस नगरेपछि असन्तुष्ट पक्षले शुक्रबार केन्द्रीय कार्यालयमै तोडफोड गरेका थिए । कार्यालय तोडफोडको घटना छानबिन गरेर कारबाहीका लागि सिफारिस गर्न उसले शनिबार छानबिन समिति नै गठन गरेको छ ।

राजपा अध्यक्षमण्डल संयोजक महन्थ ठाकुरले शुक्रबारको घटना छानबिन गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन समिति गठन गरेको विज्ञप्तिमार्फत जनाएका छन् । समितिमा गोविन्द चौधरी, सत्यनारायण मण्डल र केशव झा छन् । यो समितिले शनिबारदेखि नै काम थालिसकेको राजपाले जनाएको छ ।

– कांग्रेस सभापति शेरबहादुर देउवाले मनोमानी सांसद चयन गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको विरोध । निर्णय पुस्तिकामा हस्ताक्षरै नगरी बैठक बहिष्कार ।

– माओवादी केन्द्रले प्रदेश ३ को सांसद छनोटमा नपारेको भन्दै खसआर्यको १ नम्बर सूचीमा रहेका झम्क पराजुलीद्वारा प्रदेश इन्चार्ज हितमान शाक्यको मोबाइल फुटाइयो ।

– राजपाले मधेसी निजामती कर्मचारी मञ्चका पूर्वअध्यक्ष विनोदकुमार सिंहलाई समानुपातिकमा सिफारिस नगरेपछि असन्तुष्ट पक्षद्वारा केन्द्रीय कार्यालय तोडफोड । छानबिन गर्न समिति गठन ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्