फिलिपिन्समा आँधी र आगलागीमा २३७ को मृत्यु, राष्ट्रसंघद्वारा दुःख व्यक्त



हाम्रो इकोनोमि

फिलिपिन्समा भएका दुई ओटा ठूला घटनामा परी तीन दिनमा कम्तीमा पनि २३७ जनाको मृत्यु भएको समाचार छ ।

शुक्रबार आएको ‘टेमबिन’ नामक आँधीमा परी मृत्यु हुनेहरुको सङ्ख्या अहिले सम्म २०० पुगेको छ भने शनिबार दावाओ सिटीमा रहेको एउटा सपिङ मलमा भएको आगलागीमा परी ३७ जनाको मृत्यु भएको छ ।

शनिबार बिहान भएको आगलागीमा परी हराइरहेकामध्ये उनीहरुको मृत्यु भएको हुन सक्ने अधिकारीहरुले बताएका छन् ।

अग्नि नियन्त्रक र उद्धारकर्ताले झण्डै १६ घण्टासम्मको लगातारको प्रयासपछि आइतबार बिहान मात्र आगो नियन्त्रणमा लिन सफल भएका छन् ।

राष्ट्रपति रोड्रिगो डुतेर्तेले स्थानीय समयअनुसार विहान तीन बजेतिर आगलागीमा परी ज्यान गुमाएकाका आफन्तलाई सहानुभुति व्यक्त गर्नुभएको छ ।

उहाँले उक्त दुर्घटनाबाट भएको क्षतीप्रति दुःख व्यक्त गर्दै पीडितलाई धैर्यधारण गर्न आग्रह गर्नुभयो । पीडितका परिवारलाई सरकारले सहयोग गर्ने घोषणा पनि उहाँले गर्नुभयो ।

“अधिकारीले भनेका छन्– अहिले पनि घटनास्थलमा कोही व्यक्ति जीवितै होलान् भन्ने विश्वास गर्न धेरै गाह्रो छ, उनीहरु जीवितै हुने सम्भावना शुन्य छ,” ।

क्याथोलिक विसप कन्फेरेन्सका अर्चबीसप रोमुलो भालिजलाई उद्धृत गर्दै राष्ट्रपति डुतेर्तेले हराएकाको जीवितै रहने सम्भावना नरहेको बताउनुभयो । आफन्त गुमाएकालाई उहाँले नजिकैको एउटा रेष्टुरेन्टमा भेट्नुभएको थियो ।

स्थानीय समयअनुसार आइतबार बिहान ०५ बजेसम्म आगलागीबाट ध्वस्त भएको एनसीसीसी मलमा कम्तीमा ३७ जना बेपत्ता भएको राष्ट्रपतिका छोरासमेत रहेका सिटिका मेयर पाउलो डुतेर्तेले जानकारी दिनुभयो ।

आँधीमा परी मृत्यु हुनेको संख्या २०० पुग्यो

त्यसैगरी फिलिपिन्सको दोस्रो ठूलो टापूका रुपमा चिनिने मिन्दानाओमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या शनिबार अबेररातिसम्म २०० पुगेको छ । अरु कैयौँ अझै पनि बेपत्ता भएका प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

फिलिपिन्स प्रहरीका प्रान्तीय प्रमुख लेमुएल गोन्डाले उत्तरी मिन्डानाओमा मात्रै आँधीका कारण १३५ जना र जाम्बोङ पेनिन्सुलामा ४७ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

मिन्डानाओ स्वायत्त क्षेत्रका एकजना सांसद जिआ अलोन्टो अडिओङले आफ्नो क्षेत्रमा १८ जनाको मृत्यु भएको बताउनुभएको छ ।

उत्तरी मिन्डानाओमा मृत्यु भएका १३५ जनामध्ये १२७ जना लानाओ डेल नोर्ते, छ जना बुकिड्नोन, एक जना इलिगान र अर्का एक जना मिसामिस ओक्सीडेन्टलमा मृत्यु भएको हो ।

प्रहरीले अरु झण्डै ७२ जना हराइरहेकाले खोजीकार्य जारी रहेको जनाएको छ । राष्ट्रिय प्रकोप खतरा न्यूनीकरण तथा व्यवस्थापन परिषदले आँधी प्रभावित क्षेत्रबाट विवरण उपलब्ध गराउन आग्रह गरिएको जनाएको छ ।

परिषद्का प्रवक्ता रोमिना मारासिगानले आफूलाई ७५ जनाको मृत्यु भएको र ५८ जना अझै पनि हराइरहेको अनौपचारिक विवरण विभिन्न निकायबाट प्राप्त भएको बताउनुभयो ।

“यीनीहरु समग्रमा संकलन भएका विवरणहरु हुन्, तर पूर्णरुपमा पुष्टी हुन अझै बाँकी छ,” उहाँले भन्नुभयो ।

यस आँधीका कारण ५० हजारभन्दा बढी नागरिक विस्थापित भएका छन् । सयौँ घर ध्वस्त भएका छन् भने कतिपय गाउँ नै बाढीले बगाएको छ ।

राष्ट्रसंघद्वरा दुःख व्यक्त

यसैबीच फिलिपिन्समा आँधीका कारण ठूलो संख्यामा मानवीय क्षति भएकोप्रति संयुक्त राष्ट्रसंघले गहिरो दुःख व्यक्त गरेको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनिओ गुथ्रेसले आँधी र आगलागीका कारण फिलिपिन्सका धेरै नागरिकले ज्यान गुमाउनु परेको र ठूलो मात्रामा भौतिक क्षति भएकोमा दुःख व्यक्त गर्नुभएको हो ।

उहाँका प्रवक्ताले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा पीडितका परिवारप्रति सहानुभूति व्यक्त गर्नुकासाथै घाइतेको सिघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

उहाँले प्रकोपको समयमा साहसपूर्वक उद्धारकार्यमा खटिएका उद्धारकर्ता तथा स्वयम्सेवीलाई उच्च सम्मान व्यक्त गर्नुभएको प्रवक्ताले सो विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

महाराष्ट्रका उप-मुख्यमन्त्री चढेको विमान दुर्घटना

    भारत महाराष्ट्रको बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड...

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

    जापानका प्रधानमन्त्री साने ताकाइचीले शुक्रबार संसद्को तल्लो सदन विघटन गर्दै फेब्रुअरी...

गायक प्रशान्त तामाङको निधन

    गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । उनी निकट...