पर्यटकीयस्थल भालुढुंगाको संरक्षणमा जुट्दै युवा



हाम्रो इकोनोमि

सदरमुकाम नजिकै रहेको पर्यटकीयस्थल भालुढुंगाको संरक्षण अभावमा ओझेलमा परेपछि स्थानीय युवा जुट्न थालेका छन् ।

ऐतिहासिक चियाबारी, दृश्यावलोकन स्तम्भभन्दा पृथक् गन्तव्य बोकेको भालुढुंगा संरक्षणका लागि स्थानीय गढीथुम्काका युवक हरि गुरुङको अगुवाइमा युवाहरु भालुढुंगालाई पर्यटकीयस्थलका रूपमा विकास गर्न लागिपरेका हुन् ।

सदरमुकामबाट चियाबारी हुँदै एक किमी दूरीमा अवस्थित भालुढुंगा इलाम नगरपालिका–६ गढीगाउँमा छ । यस क्षेत्रबाट विभिन्न पर्यटकीयस्थल माईपोखरी, जसवीरे र पुवाखोला दृश्यावलोकन गर्न सकिन्छ । यस क्षेत्रको संरक्षण र प्रचार जरुरी छ भन्दै स्थानीयवासी युवा सक्रिय सहभागी संरक्षणमा जुटेका हुन् । भालुढुंगा क्षेत्र विकास समितिका स्वयंसेवक कपिल कोइरालाले करिब १४ हेक्टर क्षेत्रफलमा फैलिएको पुरानो वन क्षेत्रको संरक्षणमा समेत जोड दिइने बताउनुभयो ।

यस क्षेत्रमा चिडियाखानासमेत स्थापना गरी पर्यटन प्रवद्र्धन गर्न स्थानीयस्तरमा पाइने जीवजन्तुको संरक्षण गर्ने युवाको लक्ष्य छ । आफूहरुले भर्खरै काम शुरू गरेको हुनाले स्रोत तथा साधन अभाव भएको संरक्षणकर्मी हरि गुरुङ बताउनुहुन्छ । योजना र कामको शुरूआतसँगै पर्यटकीयस्थलको विकासका लागि सरोकार भएका निकायको महत्वपूर्ण सहयोग हुने अपेक्षा रहेको उहाँले बताउनुभयो ।

स्थानीय क्षेत्रको पर्यटनलाई ध्यानमा राखी विश्रामस्थलका रूपमा विस्तार गरिनाका साथै वनभोजस्थलका रूपमा विकसित गरिने बताइएको छ । भालुढुंगा आन्तरिक तथा बाह्य पर्यटकलाई थप मनोरञ्जनका लागि उपयुक्त गन्तव्यसमेत रहेको छ । दैनिकजसो १० भन्दा बढी युवा यसको संरक्षणमा जुटेका छन् ।

मेची पहाडी पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशवकुमार धौरालीले सदरमुकामको नजिक अवस्थित भालुढुंगाबाट विभिन्नस्थलको दृश्यावलोकन गर्न सकिने भएकाले मेची पहाडी पर्यटनमा सहयोग पुग्ने बताउनुभयो ।

भालुढुंगा संरक्षण शुरू हुनेबित्तिकै तेस्रो मुलुकबाट इलाम आउने पर्यटक सो क्षेत्रमा पुग्न थालेका छन् । नेपाल आफ्नो दोस्रो घर बताउने इटालेली पर्यटक टोलीका नेता पाउलो पाइचेलेकोले आफ्नो टोलीका साथ भालुढुंगा अवलोकनका क्रममा बाँसघारी, सिंहदेवीको मन्दिर, अलैँचीबारी, सिरुबारी, परम्परागत शैलीको नाली धारा, झ्याउँकिरीको आवाजले आफूहरुलाई आकर्षित गरेको बताउनुभयो ।

यस क्षेत्रको विकासमा सरोकार भएकाहरुले सहयोग गर्न सके विदेशी पर्यटक भित्र्याउन सजिलो हुने सञ्चारकर्मी सन्तोष नेम्वाङको भनाइ छ । जिल्लाका विभिन्न स्थानमा पाँच दर्जनभन्दा बढी पर्यटकीयस्थल रहे पनि उचित प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

नयाँ ट्र्याक निर्माणपछि कृष्णभीरमा दुईतर्फ नै सञ्चालनमा

   सडक भास्सिएर काठमाडौँसँग सडक सञ्जाल नै टुटेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा...