विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम सुनसहित ४५ जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार २०८३ साउन १ गतेदेखि भदौ ३१ गतेसम्म विमानस्थल हुँदै बाह्य मुलुकबाट नेपाल आउने नेपाली यात्रुलाई प्रयोग गरी अवैध रूपमा सुन ओसारपसार तथा तस्करी गर्ने गतिविधिमाथि निगरानी तथा सुरक्षा जाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट १ किलो ६४३ ग्राम सुन बरामद भएको छ । बरामद सुनको अन्दाजी मूल्य ४ करोड २५ लाख ७३ हजार १८६ रुपैयाँ रहेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा बाह्य मुलुकबाट नेपाल फर्केका केही नेपाली यात्रुलाई ज्यालाको प्रलोभनमा पारी तस्करहरूले सुन नेपाल भित्र्याउने प्रयास गरेको देखिएको कार्यालयले जनाएको छ । बरामद सुन तथा नियन्त्रणमा लिइएका व्यक्तिका सम्बन्धमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी थप अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ ।
भन्सार छलेर ल्याइएका विद्युतीय सामग्रीसहित १० जना पक्राउ
यसैगरी, विमानस्थल सुरक्षा कार्यालयले साउन १ गतेदेखि भदौ ३१ गतेसम्म भन्सार कानून तथा नियमविपरीत भन्सार छली गरी ल्याइएका मोबाइल फोन, ल्यापटप, भेपलगायत विद्युतीय सामग्रीसहित १० जनालाई नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिइएका व्यक्तिहरूबाट करिब ८८ लाख २२ हजार रुपैयाँ बराबरका विद्युतीय सामग्री बरामद भएको कार्यालयले जनाएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ ।
विमानस्थल सुरक्षा कार्यालयले अवैध सुन तथा विद्युतीय सामग्रीको ओसारपसार तथा तस्करी नियन्त्रणका लागि यात्रु तथा सामानको जोखिममा आधारित सुरक्षा जाँच, एक्स–रे स्क्रिनिङ, सूक्ष्म निगरानी, सूचना संकलन तथा सम्बन्धित निकायसँगको समन्वयलाई थप प्रभावकारी बनाउँदै आएको जनाएको छ । विमानस्थल प्रयोग गर्ने यात्रुलाई प्रचलित कानुन तथा भन्सारसम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न र कुनै तस्कर, व्यक्ति वा समूहको प्रलोभन, दबाब वा प्रभावमा परी गैरकानुनी वस्तु ओसारपसार नगर्न पनि कार्यालयले अनुरोध गरेको छ ।



