दश जोड दुई कक्षा सञ्चालनार्थ देउसी खेलेर रकम संकलन



हाम्रो इकोनोमि

तातोपानी गाउँपालिका–८ टोप्ला ताम्तीका बासिन्दाले १० जोड दुई कक्षा सञ्चालनका लागि देउसी भैलो खेलेर रु २५ लाख १२ हजार संकलन गरेका छन् ।

जुम्लाकै अति दुर्गम क्षेत्रमा अवस्थित साविकको प्रस्तावित कालिका माध्यमिक विद्यालयलाई १० जोड २ मा स्तरोन्नति गर्न विद्यालयको नेतृत्वमा त्यहाँका समुदायले सामूहिक देउसी भैलो खेलेका हुन् । तिहारमा खेलिएको देउसीबाट रू २५ लाख ४२ हजार संकलन भएको साविकको ताम्ती गाविस वडा नं ७ का स्थानीय समुदायका अगुवा मानबहादुर शाहीले जानकारी दिनुभयो ।

दुर्गम बस्तीका विद्यालयलाई १० जोड दुई कक्षा सञ्चालन गर्न अनुमति नदिएकले विद्यार्थीले उच्च शिक्षाका लागि अन्य गाविस÷गाउँपालिका चाहार्नुपर्ने बाध्यताबाट मुक्त गराउन देउसी खेलेर रकम संकलन गर्नुपरेको देउसी संयोजन समितिका संयोजक जीवन शाहीले जानकारी दिनुभयो । “शिक्षा क्षेत्रमा सबैलाई सहयोग गर्न अनुरोध गरेपछि समुदायबाट पनि सहयोग भएको छ”, उहाँले भन्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरतबहादुर शाहीले १० कक्षासम्म अनुमति पाएको विद्यालयमा हालसम्म मावि दरबन्दी नरहेकाले समुदायले नै छजना निजी शिक्षकलाई तलब खुवाउँदै आएको बताउनुभयो । दश जोड दुई कक्षा सञ्चालन गर्ने उद्देश्यले देउसी खेल्ने कुरा सार्वजनिक गरेपछि स्थानीयवासीले दिल खोलेर रू ११ हजार र सोभन्दा माथि दान दिएको उहाँले बताउनुभयो ।

“यत्रो रकम उठ्ला भन्ने सोँचेकै थिइएन, गाउँका सामान्य मान्छेले हजारौँ रुपैयाँ दिएपछि म आफैँले पनि रू एक लाख ११ हजार १११ दिएँ”, अध्यक्ष शाहीले भन्नुभयो । स्थानीयवासी धनबहादुर शाहीले सबैभन्दा बढी रकम रू एक लाख १३ हजार दान दिनुभएको थियो ।

शिक्षाका लागि सर्वसाधारण सक्रिय हुँदा राज्यका निकाय जिल्ला शिक्षा कार्यालय र गाउँपालिकाले बेवास्ता गरेको गुनासो गर्दै अध्यक्ष शाहीले समुदायसँग सहकार्य गरेर विभिन्न सार्वजनिक कामबाट विद्यालय सञ्चालन गर्नु परेककाले दुर्गमका बासिन्दाको समस्या बुझ्न राज्यको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

प्रधानाध्यापक मानबहादुर शाहीले शिक्षा क्षेत्रका लागि समुदायका व्यक्तिले मनै खोलेर सहयोग गरेको जनाउनुभयो । उहाँका अनुसार देउसीमा नगद मात्र नभएर जिन्सी पनि प्राप्त भएको छ । जसमा २१ भेडा, छ लिउ र चार कम्बल रहेको उहाँको भनाइ छ । उक्त विद्यालयमा हाल ४४२ विद्यार्थी अध्ययनरत छन् ।

 

प्रतिक्रिया दिनुहोस
नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

व्याक नहुने अडानमा कन्सल्टेन्सी व्यवसायीका स्वतन्त्र समुह

    सरकारले ल्याएको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा...

शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...