प्रधानमन्त्रीले माओवादी केन्द्रका मन्त्रीहरुलाई हटाउनु हुँदैनः महत



नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. रामशरण महतले तत्काल नेकपा माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गर्न नहुने स्पष्ट पारेका छन्।

शुक्रबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले मुलुक अहिले चुनावको मुखमा भएकोले यस्तो बेला सरकार फेरबदल र मन्त्रीहरु हटाउने वा थप्ने काम गर्न नहुने बताएका हुन्। महतले भने,‘चुनावको मिति घोषणा भैसकेको छ, अहिले सरकार तलमाथि गर्नहुन्न, यसले अस्थिरता निम्तिन्छ।’

उनले भने, ‘सत्तारुढ दल नेकपा माओवादी केन्द्रले यसरी विपक्षी दलसँग चुनावी तालमेल र वाम गठबनधन बनाउने निर्णय गरेपछि मन्त्रीहरु हटाउनुपर्ने विषयमा आवाज उठेको छ, तर कांग्रेसमा अहिले मन्त्रीहरुलाई बर्खास्त गर्नेबारे छलफल नै गरेको छैन, कुनै निर्णय भएको छैन, हामीले अहिले त्यतातिर ध्यान दिएका छैनौं, यदि त्यसो गरियो भने झनै जटिल समस्या आउँछ, चुनावलाई असर पर्छ।’
उनले मन्त्रीहरु हटाउने वा नहटाउने भन्नेबारे प्रधानमन्त्रीले निर्णय गर्ने कुरा भएको समेत बताए।

नेता महतले एमाले–माओवादी केन्दवीच भएको पछिल्लो चुनावी तालमेल र वाम एकताको प्रयास अस्वभाविक, अनैतिक र अप्राकृतिक भएको संज्ञा दिए। उनले भने, ‘यो गठबन्धन छद्य्म भेषमा आएको छ, गोप्य रुपमा आएको छ, दुई पार्टीहरुवीचको तालमेल नै विवादस्पद छ।’ एमाले संविधान संशोधनको नाम नै सुन्न नचाहने र माओवादी केन्द्र जसरी पनि संशोधन गर्नुपर्छ भन्ने शक्ति भएकोले यी दुई दलमा यसबारेमा पनि विवाद भएको उनको भनाइ थियो ।

उनले माओवादी केन्द्रलाई खुशी, सन्तुष्टि तुल्याउनको लागि कांग्रेसले धेरै गल्ती गरेको समेत गुनासो पोखे। उनले भने, ‘स्थानीय तहकै निर्वाचनमा भरतपुरमा कांग्रेसले माओवादीलाई साथ दिनुहुँदैन थियो, साथ दिएर गम्भिर भुल गरेकै हो।’

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले जति नै ठूला कुरा गरेपनि एक्लै चुनाव लड्न डराएर अहिले आएर माओवादीसँग तालमेल गर्ने निर्णय गरेको आरोप लगाए । महतले थपे, ‘उहाँको ‘टल–टक’ पनि देखियो, एक्लै चुनाव लड्न नसकेर वाम दललाई साथ लिनुभयो, यो उहाँको बाध्यकारी कदम होला।’ महतले दोहोर्याएर ओलीलाई कांग्रेससँग एक्लै चुनाव लड्ने तागद, आत्मबल नभएर नै वाम गठबनधनतर्फ लागेको संज्ञिन आरोप लगाए ।

मुलुकलाई समृद्धिको मार्गमा डोर्याउन, सुदृढ लोकतन्त्रको पक्षमा उभार ल्याउन, संविधान कार्यान्वयन गर्न, प्रगतिशिल एजेण्डालाई आत्मसात् गर्दै अघि बढ्नको लागि पनि राष्ट्रवादी शक्तिहरु एक ठाउँमा आउनुपर्ने उनको भनाई थियो । उनले भने,‘हुन त अहिले यसको लागि वार्ता तथा छलफल सुरु भैसकेको छ, चुनावलाई ध्यानमा राखेर हामीले ६ दलीय बृहत्त लोकतान्त्रिक मोर्चा गठन गरेका छौं, त्यही अनुसार चुनावी तालमेल पनि हुन्छ।’

वाम गठबन्धनसँग भीड्नको लागि आफूहरु तयारी अवस्थामा रहेको महतको खुल्ला चेतावनी थियो । उनले भने,‘हामी वाम गठबन्धनसँग चुनावमा भीड्नको लागि तयारी अवस्थामा छौं, अब कांग्रेस एक भएर जान्छ।’ यद्धपी उनले कांग्रेस एक्लै बलियो भएपनि चुनावमा अर्को गठबन्धन बनिसकेकोले आफूहरु पनि एकजुट भएर जानको लागि लोकतान्त्रिक मोर्चा बनाएको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्