गाउँ गाउँमा प्राविधिक शिक्षाको आकर्षण बढ्दो



हाम्रो इकोनोमि

स्वरोजगार सिर्जना गर्ने उद्देश्यले गाउँ गाउँमा सञ्चालनमा आएको प्राविधिक तथा व्यावसायिक शिक्षामा विद्यार्थी र अभिभावकको आकर्षण बढ्दो छ ।

हिजोआज सिटिइभिटीबाट मान्यता प्राप्त गरी माध्यमिक तह सञ्चालन गरेका विद्यालयले प्राविधिक शिक्षा सञ्चालनमा ल्याएपछि सर्वसुलभरुपमा घरमै बसेर विद्यार्थीलाई अध्ययन गर्न सहज भएको छ ।

माध्यमिक तह पूरा गरेपछि उच्च शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि आजभन्दा १० वर्ष अगाडिसम्म पूर्वी पाल्पाका विद्यार्थीलाई शहर पस्नुपर्ने बाध्यता थियो । अहिले भने घरदैलोमै उच्च शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालनमा आएपछि शहर पस्ने विद्यार्थीको संख्यामा कमी आएको छ ।

पूर्वी पाल्पाकै शैक्षिक धरोहर मानिएको रामपुर नगरपालिकामा अवस्थित रामतुलसी माविमा विगत तीन वर्षदेखि प्राविधिक धारअन्तर्गतको तीन वर्षे डिप्लोमा तहसम्मका लागि कृषि बाली विज्ञान पठनपाठन शुरु भइरहेको छ भने यसै शैक्षिक सत्रदेखि आधारभूत माविमा कक्षा ९ देखि १२ सम्मका लागि पशु विज्ञान शिक्षा र दरैठाँटी माविमा तीन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ पठनपाठन सञ्चालनमा आएको छ ।

शैक्षिक क्षेत्रको विकास हुँदै जाँदा रामपुर क्षेत्रमा अहिले राजधानीसहित पूर्वदेखि पश्चिमसम्मका विद्यार्थी भित्रिन थालेका छन् । रामपुरबाट बुटवल, पोखरा, काठमाण्डौँ अध्ययनका लागि बाहिर जाने विद्यार्थीको क्रम अहिले न्यून अवस्थामा रहेको छ भने अन्यत्र ठाउँबाट रामपुरमा विद्यार्थी आउने क्रम बढ्दो रहेको छ ।

जिल्ला सदरमुकामदेखि करिब ६५ किमी पूर्वमा अवस्थित रामपुर नगरपालिकामा बस्ती बढ्दै जानु र यहाँका मानिसमा चेतनाको विकास र शैक्षिक क्षेत्रको उन्नतिका लागि अथक प्रयासका कारण यहाँ प्राविधिक धारअन्तर्गतका विभिन्न विषय सञ्चालनमा ल्याउन सफल भएको हो ।

अन्य स्थानमा भन्दा रामपुरमा सुलभ दरमा अध्यापन हुने भएकाले पनि प्राविधिक शिक्षाका लागि अधिकांश विद्यार्थी बाहिरी जिल्लाबाट आउने गरेको रामतुलसी माविका प्रधानाध्यापक बालकृष्ण लम्साल बताउनुहुन्छ । कृषि बाली विज्ञानका लागि ४० जना विद्यार्थीको मात्र सीमित कोटा रहेको रामतुलसी माविमा अहिले विद्यार्थी खोज्न भौँतारिनु पर्ने अवस्था नरहेको लम्सालले बताउनुभयो ।

दरैठाँटी माविमा तीन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ शिक्षामा ४८ जना विद्यार्थी कोटामध्ये हाल २८ जना विद्यार्थी भर्ना भएका छन् । हालैमात्र सञ्चालनमा आएको यस विद्यालयमा अधिकांश विद्यार्थी बाहिरी जिल्लाका रहेको पाइएको छ । सस्तो र सुलभरुपमा गुणस्तरीय शिक्षा सञ्चालनमा ल्याएका कारण अन्यत्रबाट यहाँ पठनपाठनमा आउने विद्यार्थीको आकर्षण बढेको प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटा बताउनुहुन्छ ।

तोकिएको कोटामध्ये चारजना गरिब जेहेन्दार विद्यार्थीका लागि मासिक शुल्क नलिने विद्यालयले व्यवस्था गरेको छ । आधारभूत माविमा पनि कक्षा ९ देखि १२ सम्मका लागि जिल्लामै पहिलोपटक पशु विज्ञान शिक्षा सञ्चालनमा आएको छ ।

घरमै बसेर स्वरोजगारमूलक शिक्षा आर्जन गर्न पाउँदा यस क्षेत्रका विद्यार्थी खुशी भएका छन् । गाउँ गाउँमै फरक फरकखालका प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालनमा आएपछि अन्यत्र पढ्न जाने झन्झटबाट यहाँका विद्यार्थी मुक्त भएका छन् । अभिभावकलाई पनि आर्थिक भार कम परेको छ ।

 

प्रतिक्रिया दिनुहोस
बजेट नछुट्याएकाले ९ बुँदे सहमति कार्यान्वयन हुन्न : मन्त्री पुन

  शिक्षामन्त्री महावीर पुनले अघिल्लो सरकारले शिक्षक महासंघसँग ९ बुँदे सहमति गरे पनि...

अबदेखि बेलायतमा पीआर लिन कम्तीमा १० वर्ष लाग्ने

    बेलायती गृहमन्त्री शबाना महमुदले बिहीबार संसदमा अनिश्चितकालीन आवासीय अधिकार (आइएलआर–इन्डिफिनेट लिभ...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

निजी विद्यालय सञ्चालकले आन्दोलन चर्काउने

    निजी तथा आवासीय विद्यालय सञ्चालकहरूले आन्दोलनलाई थप चर्काउने भएका छन् ।...