रहर हँुदाहुँदै विद्यालय जान नपाएकाहरु



हाम्रो इकोनोमि

म्याग्दी सदरमुकाम बेनीमा दैनिकजसो भेटिने १२ वर्षका अजय नेपालीलाई पढेर ठूलो मान्छे बन्ने रहर छ ।

म्याग्दीसँग सिमाना जोडिएको पर्वतको उत्तरी जलजला गाउँपालिका–४ धाइरिङको सल्यान स्थायी घर भएका अजय घरपरिवारमा उचित वातावरण नहुँदा विद्यालय जान छाडेका हुन् ।

पर्वत बेनीमा बस्दै आएका नेपालीका बुबा पम्फे विदेशमा छन् भने आमाले गत वर्ष अर्कैसँग बिहे गरेर गएपछि उनले विद्यालय जान छाडेका हुन् । बिहान बेलुका पकाएर खानेको समेत टुंगो नभएपछि अजयले बेनीस्थित प्रकाश माविमा कक्षा ५ सम्मको अध्ययन गर्दागर्दै विद्यालय जान छाडेको बताए ।

बस्नका लागि सानो छाप्रो भएपनि बिहान बेलुका के खाने टुंगो नभएपछि अजयसँगै उनका भाइ शक्तिले समेत विद्यालय जान छाडेका हुन् । १० वर्षका शक्तिले कक्षा ३ मा अध्ययन गर्दै गरेको समयमा विद्यालय जान छाडेका हुन् ।

आफन्तकामा खाना खाँदै आएका उनीहरुले अहिले सडकमा खेलेर दिन बिताउने गरेका छन् । “आमाको अर्कैसँग बिहे भएपछि बस्ने र खाने ठाउँ भएन, बाबा विदेशमा हुनुहुन्छ, पढेर ठूलो मान्छे बन्ने रहर छ, तर विद्यालय जान छाडेको पनि धेरै भयो, अब त सरहरुले पनि गाली गर्नुहुन्छ होला,” अजयले भने ।

अजयजस्तै पढेर ठूलो बन्ने चाहना हुँदाहुँदै विद्यालय जान छाडेका अर्का बालक हुन सुमित नेपाली । उनीहरु सहोदर दुई भाइका छोराहरु हुन् । आफ्नै गाउँ धाइरिङकै स्थानीय विद्यालयमा अध्ययन गर्दागर्दै १४ वर्षका उनले पनि केही वर्ष अगाडिदेखि पढाइ छाडेका हुन् ।

कक्षा ४ सम्मको अध्ययन गरेका उनले पनि बजारमा कम्युटर चलाएर जागिर खानेजस्तै ठूलो मान्छे बन्ने रहर रहेको बताए । तर अध्ययन छाडेको वर्षौं भइसकेकाले फेरि विद्यालय गएर पढ्ने उचित वातावरण उनको घरपरिवारको पनि छैन । उनकी आमाले बजारमा मजदुरीको काम गर्छिन् भने बाबाले हार्डवेयर काम गर्छन् । उनका बुबाले दुईवटा बिहे गरेका छन् ।

दिनभरि डुलेरै समय खेर फाल्दै आएका यी केही प्रतिनिधिमूलक उदाहरण मात्रै हुन् । घरपरिवारको उचित वातावरण नहुँदा पढ्ने रहर हुँदाहुँदै पनि विद्यालय छाडेका थुप्रै बालबालिका छन् ।

तर सडकमा दिनभर धुलोसँगै खेलेर समय खेरफालेका यस्ता बालबालिकालाई संरक्षण गरी उनीहरुलाई अध्ययनबाट वञ्चित नगराउनका लागि सम्बन्धित निकायबाट कुनै पहल भएको देखिँदैन ।

 

प्रतिक्रिया दिनुहोस
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी

  माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी गरिएको छ...

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

    आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको निर्णयअनुसार हरेक वैशाख...

कक्षा १२ को परीक्षा सुरु

    कक्षा १२ को परीक्षा सोमबारदेखि सुरु भएको छ । माध्यमिक तहको...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...