हस्तलिखित पत्रपत्रिका पढ्ने ‘विद्यामन्दिर’ अब विद्युतीय पुस्तकालय
पुस्तकालय कक्षमा छिरेर दायाँपट्टि लागेपछि केही पुराना दराज देखिन्छन् । रंगरोगनले चम्किला देखिए पनि ती वर्षौं पुराना हुन् ।
स्थापनाकालीन पुस्तक लेखिएको दराज उघार्दा भित्र जीर्ण पुस्तक र हस्तलिखित पत्रिका भेटिन्छन् । भारतबाट ल्याइएका पुस्तक राखेर संस्थापकले विसं २००३ मा विद्यामन्दिर पुस्तकालय खोलेका हुन् । नेपालका धेरै कम पुराना पुस्तकालयमध्ये यहाँको विद्यामन्दिर पुस्तकालय पनि एक हो ।
हस्तलिखित पुस्तक, पत्रपत्रिकाको संग्रह हुँदै पुस्तकालयले अहिले आफूलाई विद्युतीय पुस्तकालयको रुपमा विकसित गर्न सकेको छ । पुस्तकालय खुल्दा ताका ज्यादाजसो हिन्दी भाषाका पुस्तक संग्रहित थिए । त्यसबेलाका सिर्जनशील पुस्ताले हातैले लेखेका साहित्यिक र समसामायिक पत्रिका निकाल्थे । तिनै पुस्तक, पत्रपत्रिका पुस्तकालयमा आउने पाठकलाई उपयोगी पठन सामग्री बन्थे । तिनै मूल्यवान् सामग्री अहिले इतिहासका साक्षी र आगन्तुकका लागि आकर्षणको वस्तु बनेका छन् ।
बागलुङको पहिलो हस्तलिखित पत्रिका मानिने ‘सही बाटो’ पनि पुस्तकालयमै संग्रहित छ जसलाई यहाँको पत्रकारिता जगत्ले आस्थाको प्रिय पत्रिका मान्ने गरेको छ । पुस्तकालयका प्रधान संरक्षक ओमकारप्रसाद गौचनको सम्पादनमा विसं २००८ मा प्रकाशित उक्त पत्रिकाको मुख्य समाचारको शीर्षक छ – ‘वामीटक्सारमा गुल्मी माल सार्न दिँदैनन् भन्दै बागलुङमा भीषण जुलुस’ । यतिमात्र होइन, तत्कालीन समयका ज्योति, मञ्जरी, सरोज, मुनालगायतका हस्तलिखित पत्रिका पुस्तकालयमा सुरक्षित छन् ।
“शुरु ताका पुस्तकालयमा नेपाली, हिन्दी भाषाका पुराना पुस्तक र हस्तलिखित पत्रिका मात्रै थिए” – पुस्तकालयका पूर्व अध्यक्ष लालचन्द्र राजभण्डारीले भन्नुभयो । समय क्रममा पुस्तक, सन्दर्भ सामग्री थपिँदै गएपछि पुस्तकालय हालको अवस्थामा आएको उहाँको भनाइ छ । निरंकुश राणाको शासनकालमा खुलेको यस पुस्तकालय यस क्षेत्रकै शैक्षिक, सामाजिक विकासको अग्रणी संस्था मानिन्छ । स्व ओमप्रसाद गौचन र मेघकुमार वैद्यले स्थापना गरेको पुस्तकालय अहिले ‘नमूना’ बन्दै गएको छ ।
प्रतिकूल समयमा जन्मेर पनि समाजमा स्थापित हुन पुस्तकालय र त्यसको नेतृत्व सफल देखिन्छ । शुरुमा हालको विद्यामन्दिर माध्यमिक विद्यालयको सानो कोठामा खुलेको पुस्तकालय २०२८ सालमा बागलुङ नगरपालिका–३ भूपिचोक ९तत्कालीन बटुवा बस्ने पौवा० मा सरेको थियो । सो पौवा र जग्गा त्यसबेलाका प्रधानपञ्च टोपबहादुर बिजुक्छेले पुस्तकालयलाई दिएपछि पुस्तकालयले दिगोरुप लिन शुरु गरेको हो । अहिले चारतल्ले सुविधासम्पन्न भवनबाट पुस्तकालय सञ्चालित छ ।
पुस्तकालयमा अहिले विभिन्न भाषा र विधाका १४ हजारभन्दा बढी पुस्तक संग्रहित छन् । पुस्तकालयले बदलिँदो समयको मागबमोजिम डेढ वर्षअघिदेखि विद्युतीय पुस्तकालय ९इ–लाइब्रेरी० पनि सञ्चालनमा ल्याएको छ जसमा १० हजार पुस्तक र एक लाख उपयोगी सामग्री सुन्दै, हेर्दै पढ्न सकिने व्यवस्था छ । पुस्तकालयलाई यो अवस्थामा ल्याउन सर्वसाधारण व्यक्तिदेखि संघसंस्था र सरकारी निकायको पनि भूमिका छ । विसं २०६० मा पुस्तकालयको आधुनिक भवन बनाउन ‘रुम टु रिड’ ले रु १६ लाख सहयोग गरेको थियो । बाँकी रकम पुस्तकालय व्यवस्थापनले जुटाएको हो ।
सामुदायिक पुस्तकालय भएकाले सबैको सहज पहुँचमा पुस्तकालय रहेको पुस्तकालयका पूर्व अध्यक्ष महेशचन्द्र प्रधानले बताउनुभयो । उहाँका अनुसार पुस्तकालयले पुस्तकका अतिरिक्त अखबार र ‘म्यागेजिन’ पनि पाठकका लागि उपलब्ध गराउने गरेको छ । विद्यामन्दिर पुस्तकालय राजनीतिक चेतनाको पनि जग रहेको उहाँको अनुभव छ । पुस्तकालय प्रगतिशील पुस्तक, चिन्तन, छलफल नरुचाउने तत्कालीन सत्ताको तारोसमेत बनेको उहाँले बताउनुभयो ।
जुनसुकै परिस्थितिमा पनि अविछिन्न रुपमा सेवा दिएर पुस्तकालयले समाजमा ठूलो योगदान पु¥याउँदै आएको छ । न्यून शुल्कमा साधारण सदस्य बन्ने पाठकले पुस्तक घरमै लगेर आलोपालो पढ्न पाउने व्यवस्था छ । पुस्तकालयमा संरक्षक र आजीवन सदस्यको संख्या १०० नाघेको छ । पुस्तकालयले चलाउने हरेक गतिविधिमा देशविदेशमा रहेका नेपालीको उत्साहजनक सहभागिता रहने गरेको छ ।
विद्युतीय पुस्तकालय खोल्न विदेशमा रहेका नेपालीले लाखौँ रुपैयाँ सहयोग गरेका थिए । नेपाल लाइब्रेरी फाउण्डेशनका युरोप संयोजक सोम सापकोटाको विशेष पहलमा विद्युतीय पुस्तकालय सञ्चालनमा आएको हो । सबैको सकारात्मक सहयोगमा पुस्तकालय यो अवस्थामा आएको पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीले बताउनुभयो । “पुस्तकालयलाई आर्थिक, भौतिक र कार्यक्रमिक रुपमा सम्पन्न बनाउने अभियानमा छौँ,” उहाँले भन्नुभयो – “४ नं प्रदेशकै नमूना पुस्तकालय बनाउने अठोट लिएका छौँ ।”
अहिलेको व्यवस्थापन समितिले पुस्तकालयको कोषलाई बढाएर रु सात लाख पु¥याएको र छिट्टै रु १० लाख पु¥याइने भएको छ । गत वर्ष कोष वृद्धिका लागि चलाइएको ‘एक व्यक्ति एक हजार’ अभियानबाट करिब रु चार लाख जुटेको थियो । पुस्तकालयसँगै अन्य सेवा र गतिविधि सञ्चालन गर्दै आएको पुस्तकालयका सचिव राम थापा ‘अविरल’ ले बताउनुभयो । उहाँका अनुसार पुस्तकालयले बाल विकास केन्द्र पनि सञ्चालन गर्दै आएको छ । पुस्तकालयले नियमित काव्यगोष्ठीलगायत सिर्जनशील काम पनि गर्दै आएको छ ।
एक पुस्तकाध्यक्षसहित चार जनालाई रोजगारी दिएको यो पुस्तकालयले सार्वजनिक बिदाबाहेकका दिनमा बिहान १० देखि साँझ ५ बजेसम्म सेवा दिँदै आएको छ । पुस्तकालयको थप स्तरवृद्धि गर्ने योजनामा व्यवस्थापन पक्ष लागिपरेको छ ।
स्थानीय तहले पनि पुस्तकालयको विकास र प्रवद्र्धनमा सघाउने प्रतिबद्धता जनाएको छ । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले विद्यामन्दिर पुस्तकालय समाजको धरोहर रहेको प्रतिक्रिया दिनुभयो । पुस्तकालयको विकासमा नगरपालिकाले आवश्यक सबै सहयोग उपलब्ध गराउने उहाँको भनाइ छ ।