चार सन्तान दृष्टिविहीन बन्दाको पीडा
‘के सोचँे मैले के भयो अहिले’ भन्ने गीत झँै इटहरी–२ तामाङ टोल निवासी लक्ष्मण र मनमाया तामाङले जिन्दगीमा त्यस्तै अपत्यारिलो दैनिकी भोग्नु परिरहेको छ ।
“छोराछोरी बढ्लान्, पढ्लान् र बूढेसकालको जीवनमा सुख पाइएला भन्ने सोच्दा सोच्दै लक्ष्मण र मनमायाको जीवन कष्टकर बन्न पुग्यो । चार सन्तान जन्मेर बाँसको तामा झैँ हुर्कँदै गए । पढ्नका लागि विद्यालय जान थाले । पढ्दै गए । पढाइमा पनि अब्बल बन्दै थिए तर नौ वर्षको उमेर पुगेपछि जेठी छोरी अस्मिताको आँखा एकाएक बन्द भयो । ऊ दृष्टिविहीन बन्न पुगी । ऊ देख्न नसक्ने भई घरको कोठामा कैदी जीवन बिताउन बाध्य बनी । तामाङ दम्पतीका लागि यो कम्ती पीडादायी घटना भएन ।
लक्ष्मण भन्नुहुन्छ, “यस्तो पीडा अरु कसैलाई नपरोस् ।” हुर्केर पढ्न थालेकी छोरीका लागि तामाङ दम्पतीले धेरै अस्पताल धायो, धामीझाँक्री लगायो थुप्रै दौडधूप र खर्च भयो तर अहँ केही उपाय लागेन । अहिले मनमाया र लक्ष्मणका लागि चार सन्तानको हेरचाह र स्याहार चुनौतीपूर्ण बनिरहेको छ ।
अर्को सन्तानका रुपमा जन्मिएको जेठो छोरो सरोज पनि स्कुल जान थाल्यो । दिदीको त्यो अवस्था भए पनि छोरो त सद्दे होला भन्ने आमाबाबुको सपना सरोज नौ वर्ष पुगी कक्षा २ मा पढ्दै गर्दा आँखाको दृष्टि एकाएक गुम्यो । जेठी छोरी अस्मितापछि जन्मिएको सरोज पनि दृष्टिविहीन बनेपछि आमाबाबु निराश भए ।
जेठी छोरी र छोराको त्यो हाल भएपछि हुर्कँदै, बढ्दै र पढ्दै गरेकी अर्की छोरी सुस्मिता पनि विद्यालय पढ्दापढ्दै नौ वर्ष पुग्नासाथ उनको पनि दृष्टि गुम्यो । उनले पनि दिदी र दाजु झैँ घरको एउटा कोठामा कष्टकर जीवन बिताउनुपरेको छ ।
मनमाया र लक्ष्मणको कान्छो सन्तानका रुपमा जन्मिएका सन्दीप पनि अन्य सन्तान सरह नौ वर्ष पुगेर दृष्टिविहीन भए । ऊ पनि कक्षा– २ मा राम्रोसँग पढ्दा पढ्दै दृष्टिविहीन बन्न पुग्यो । जीवनको उत्तराद्र्धतिर पुग्दै गरेका आमाबाबुको जीवन झनै कष्टकर र कहालीलाग्दो बन्यो ।
तामाङ समुदायले पनि उनीहरुको आँखाको रोगको उपचारका लागि धेरै दौडधूप ग¥यो तर जहाँ लगे पनि उनीहरुको उपचार सम्भव नहुने भन्ने चिकित्सा विज्ञानका विज्ञले तामाङ दम्पतीलाई निराशाजनक उत्तर दिए । अहिले कान्छो सन्दीप १२ र जेठी छोरी अस्मिता २६ वर्षका तथा अरु दुई जना २५ र १७ वर्षका छन् । सबै दृष्टिविहीन सन्तानको स्याहारमा संलग्न मनमाया र लक्ष्मणको दैनिकी पनि ज्यादै कष्टकर छ ।
तामाङ दम्पतीमा परेको यस पीडामा थोरै भए पनि मल्हमपट्टी लगाउन नेपाल तामाङ घेदुङ युवा समिति र इटहरी मल्टिमिडिया समूहले ‘१० रुपियाँको चिया पिऔँ, मनमाया र लक्ष्मण तामाङको दृष्टिविहीन सन्तानमा सघाउ पु¥याऔँँ’ भन्ने तीनदिने अभियान चलाएकाछन् । मानवीय सहयोग जुटाउने अभियान थालेको चन्द्र गोम्देनले जानकारी दिनुभयो ।