‘इन्द्रध्वजोत्थान’ गरी इन्द्रजात्रा शुरु



हाम्रो इकोनोमि

भाद्र शुक्ल द्वादशीका दिन आज हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएको छ ।

‘इन्द्रध्वजोत्थान’का क्रममा लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । लिङ्गो ठड्याइएपछि वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी मनाइने परम्परागत इन्द्रजात्रा पर्व शुरु हुन्छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्रजात्रा पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, दोलखालगायत स्थानमा मनाइन्छ । यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउन प्रचलन रहिआएको छ ।
पौराणिक कथानुसार स्वर्गलोकका इन्द्र आफ्नी आमाले सुरु गरेको तिलाव्रतलाई आवश्यक पालिजाःस्वाँ ९पारिजातको फूल० टिप्न मत्र्यलोक आएका हुन्छन् । एक मालीको बगैंचामा फुलेको फूल चोरेर लैजानै लाग्दा स्थानीय बासिन्दाले इन्द्रलाई चोरको आरोपमा सिँल्यं सतः ९काष्ठमण्डप निर्माणपछि बचेको काठबाट निर्मित सत्तल० अगाडि सजायँस्वरुप बाँधेर राख्छन् । पछि राजा र स्थानीय बासिन्दाले उनी इन्द्रदेव भएको थाहा पाउँछन् र ससम्मान जात्रा गरी स्वर्ग फकाईदिन्छन् । त्यसै बेलादेखि इन्द्रजात्रा शुरु भएको किंवदन्ती छ ।

भाद्र शुक्ल द्वितीयाका दिन तान्त्रिक विधिसहित पूजा गरी काभ्रेको नालास्थित जङ्गलमा छाडिएको बोकाले छोएको रूख काटिन्छ । रुख काटिएपछि काठमाडौँ उपत्यका भित्र्याउन साइत हेरिन्छ । उपत्यका भित्र्याइएपछि एक रात भोटाहिटीमा राखी भाद्र शुक्ल एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पारिन्छ । लिङ्गो तयार पार्नेलगायत जात्रा व्यवस्थापनको काम गुठी संस्थानले गर्छ । लिङ्गो ठड्याउने काम भने मानन्धरको समूहले गर्ने परम्परा छ ।

इन्द्रजात्रा आजदेखि शुरु भए पनि यो पर्वको मुख्य दिन भने भाद्र शुक्ल चतुर्दशी अर्थात् अनन्त चतुर्दशी हो । इन्द्रध्वजाको लिङ्गो ठड्याइएपछि शुरु हुने जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।

इन्द्रध्वजाको लिङ्गो ठड्याइएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । “भरणी नक्षत्रको रातमा लडाउने शास्त्रीय व्यवस्था छ, ‘भरण्यां निशि पातयेत्’ भनी उल्लेख गरिएको छ”, उहाँले भन्नुभयो ।

इन्द्रजात्रा पर्वका अवसरमा भाद्र शुक्ल चतुर्दशीका दिन राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथयात्रा नजर गर्ने परम्परा छ । राजतन्त्र रहुञ्जेल राजाबाट ती रथयात्रा नजर गर्ने परम्परा थियो । चतुर्दशीका दिन काठमाडौँको पश्चिम भेगमा पर्ने दहचोकमा रातभर जाग्राम बसी इन्द्र दहमा स्नान गर्ने चलन छ ।

 

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...