भरतपुरमा प्रचण्डपुत्री रेणु दाहाललाई महानगरको मेयर बनाउन मत पत्र च्यातेर गजबको काम गरेबापत उनको पार्टी माओवादी केन्द्रले त्यहाँका होनहार कार्यकर्ता मधु न्यौपानेलाई पुरस्कृत गरेको छ । उनलाई जिल्ला अध्यक्षको हैसियतले मतपत्र च्यातेको अपराधमा हिरासतमा राखेर छोड्दा नै अविर माला लगाएर योगदानको कदर गरिएको थियो ।
तर, त्यतिले नपुगेर यसै साता सम्पन्न युवा दस्ता वाइसिएलको महाधिवेशनबाट केन्द्रीय समिति सदस्यमा मनोनीत गरी पार्टी र नेतृत्वप्रति अटुट निष्ठाको सम्मान गरिएको हो । गणतन्त्र दिवसको अघिल्लो दिन जेठ १४ गते मध्यराति मतपत्र च्यात्ने अनुपम काम गरेका कारण उनलाई वाइसिएलको केन्द्रीय सदस्य बनाइएको माओवादी सम्बद्ध नेताहरु बताउँछन् ।
जम्मा ५७० जना प्रतिनिधि उपस्थित वाइसिएल महाधिवेशनमा जीवन घिसिङ, रविन महतोलगायत ५०–६० जनाले पदको कुरामा असहमति जनाउँदै हल छाडेको जानकारी प्राप्त भएको छ ।
महाधिवेशन आयोजक समितिको २७ सदस्यीय कार्यालयमध्ये २४ जना बिदा भएका छन्, बाँकी ३ जनामध्ये दीपशिखा अध्यक्ष, सुबोधराज शेर्पाली महासचिव र पुजा कार्की उपाध्यक्षको युवा उमेर नकटेको कारण नयाँ कार्यसमितिमा छानिएका छन्, खबर जनआस्थामा उल्लेख छ ।
लक्ष्मी चौलागाई ‘शैलेन्द्र’, युवराज दुलाल ‘शरद’ र दीपक देवकोटा अध्यक्षको प्रतिस्पर्धामा थिए । यो महाधिवेशनपछि वाइसिएलले फौजी गतिविधि छाडेर अब राजनीतिक काममा बढी केन्द्रित हुने रणनीति तय गरेको छ । अहिले सबै दलका युवा संगठनहरुको भूमिका खुम्चिएको देखिन्छ । एमालेको युवा संघ, कांग्रेसको तरुण दलमा पनि सुस्तता छाएको छ ।