नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईलाई ज्ञान भएको तर बुद्धि नभएको नेताको संज्ञा दिएका छन् ।
नयाँ शक्ति र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई आइतबार पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले भने– ‘रामचन्द्र झा ज्ञान र बुद्धि दुवै भएको नेता हुनुहुन्छ । त्यसैले उहाँ फेरि माओवादीमा फर्किनुभयो । हाम्रो देशमा धेरै विद्वान नेता छन् तर उनीहरुसँग बुद्धि छैन, बाबुराम भट्टराई विद्वान हुनुहुन्छ तर, उहाँको बुद्धि छैन ।’
माओवादीबाट विभाजन भए पनि विभाजित सबै नेता आउनुपर्ने र नआए उनीहरुको केही बाँकी नहुने प्रचण्डले दाबी गरेका छन् ।
‘बाबुरामले पनि ढिला छिटो माओवादी पार्टीमा आउनुपर्छ । उहाँ आउनुहुन्छ तर, नआए उहाँको केही बाँकी रहँदैन । वैद्यजी पनि यहाँ आउनुपर्छ । ढिला छिटो उहाँ आउनुहुन्छ तर, आउनु भएन भने उहाँको पनि केही रहँदैन । अनि विप्लवजी पनि यहाँ आउनुपर्छ, । उहाँ आउनुहुन्छ तर, उहाँ पनि आउनु भएन भने उहाँको पनि केही रहदैन । यो विज्ञान हो,’ प्रचण्डले भने ।