नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् सांसद गगन थापाले एमालेका जनप्रतिनिधि र निर्वाचन आयोगका कर्मचारीहरूको मिलोमतोमा बुढानीकण्ठमा शनिबार राति मतदाता नामावली संकलनको ल्यापटपसहितका सामग्रीसहित रङ्गेहात पक्राउ परेको भन्दै कारबाहीको माग गरेका छन ।
संसदको आइतबारको बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले एमालेबाट वडाध्यक्षमा निर्वाचन जनप्रतिनिधिबाट भएको यस्तो खालको अपराधलाई ढाकटोप गर्न खोजिएको भन्दै आपत्ति समेत जनाए ।
‘बुढानीलकण्ठ नगरपालिकास्थित एमालेबाट निर्वाचित वडाध्यक्षको घरमा शनिबार राति हाम्रा साथीहरूले मतदाता संकलन गर्न आएका कर्मचारीहरूलाई ल्यापटपसहितका सामग्रीसहित नियन्त्रणमा लिएर आयोगमा बुझाएका छौँ’, उनले भने , ‘एमालेको यस्तो क्रियाकलापले निर्वाचनको पवित्रतामा प्रश्न चिन्ह उठेको छ । यस्ता अपराधीलाई कारबाही गर्नुपर्छ । यदि कारबाही भएन भने यसको मूल्य चुकाउनु पर्नेछ ।’
नियन्त्रणमा लिएर निर्वाचन आयोगमा बुझाइएका कर्मचारीलाई आयोगले केही गर्न नसक्ने भनेर दिएको अभिव्यक्तिको पनि कांग्रेस सांसद थापाले आक्रोश व्यक्त गरे ।
‘एमालेले निर्वाचन आयोगले तोकेको समयभित्र कार्यालयमा भिड जम्मा गराउने अनि मध्यरात आफ्नो निवासमा कर्मचारीलाई लगेर मतदाता परिचयपत्र बनाउने’, उनले भने , ‘निर्वाचन आयोगमाथि यस्ता कार्यले प्रश्न उब्जिएको छ । निर्वाचनलाई अपवित्र बनाउने आयोग र कर्मचारीमा प्रश्न उब्जिएको छ ।’
शनिबार राति बुढानीलकण्ठमा स्थानीयले एमालेबाट निर्वाचित वडाध्यक्ष र निर्वाचन कार्यालयका कर्मचारीलाई मतदाता परिचयपत्र धमाधम भरिरहेको अवस्थामा नियन्त्रणमा लिएर निर्वाचन आयोगमा बुझाएका थिए । उनीहरूलाई कारबाही गर्न सांसद थापाको माग थियो ।