जागिर नपाएपछि मौरीपालन



हाम्रो इकोनोमि

पोखरा । पढाइ सकेपछि जागिर खोज्दा कतै नपाएपछि कास्कीको पोखरा–लेखनाथ महानगरपालिका– ३१ बेगनासतालका एक युवा मौरीपालन व्यवसायमा लागेर उदाहरणीय कृषक बन्नुभएको छ ।

सो ठाउँका कृषक सूर्यप्रसाद लामिछानेले बेगनास मौरीघार उद्योग सञ्चालन गरी मौरीपालन व्यवसायबाट वार्षिक रु १८ लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । उहाँले अहिले ९० वटा घारबाट मह उत्पादन गर्दै आउनुभएको छ ।

मह र मौरीका घार बेचेर ११ वर्षमै कमाएको पैसाले घर खर्च गरेर अहिले बेगनास तालचोकमा करिब रु एक करोड पर्ने घर घडेरी जोडेको लामिछाने बताउनुहुन्छ । दाजु टंक लामिछानेले मौरीको मह काडी खाँदै गरेको देख्दा मह खाने तथा मौरीपालन व्यवसायमा लाग्ने प्रेरणा जागेको उहाँको भनाइ छ । दाजुबाट दुई गोला मौरी किनेर उहाँले मौरीपालन थाल्नुभएको हो ।

विसं २०६३ देखि व्यवसायमा लाग्नुभएका लामिछानेले अहिले मौरीका घार निर्माण, मौरीजन्य सामग्री, झोला, टोपी, पञ्जा, मह निकाल्ने मदानी बिक्री तथा तालीम दिएबापत सेवा शुल्क लिने गर्नुहुन्छ । वार्षिक २० किलो मह उत्पादन हुने गरेको लामिछानेले बताउनुभयो ।

उत्पादनभन्दा बजारको माग बढी भएकाले बिक्री गर्न समस्या छैन । लामिछानेले पोखरा, लमजुङ, तनहुँ, बागलुङ, स्याङ्जा, काठमाडौँसम्म मह बिक्रीका लागि पठाउने गर्नुभएको छ । एक वर्षमा रु ३० लाखदेखि रु ३५ लाखको कारोबार हुन्छ । उहाँकी श्रीमती लक्ष्मीले रु १५ लाखको लागतमा मौरी किचन कर्नर व्यवसाय सञ्चालन गर्नुभएको छ ।

अध्ययन अवलोकन गर्नका लागि लामिछाने अमेरिका, जर्मनी, नेदरल्याण्ड, बेल्जियम, फ्रान्स, पोर्चुगल, स्पेन, भियतनाम, चीन र भारत पुगिसक्नुभएको छ । लामिछानेले आफ्नो अनुहारमा मौरीको गोला राखेर आनन्द लिने गर्नुभएको छ । शुरुमा लेखनाथ उद्योग वाणिज्य संघको सहयोगमा सामान्य तालीम लिनुभएका लामिछानेलाई उत्कृष्ट मौरीपालक कृषकका रुपमा गत वर्ष युवा परिषद्ले रु ५० हजार राशिको राष्ट्रिय पुरस्कारबाट पनि सम्मान गरेको थियो ।

स्नातक तह उत्तीर्ण गरेका ३३ वर्षीय लामिछाने मेहनत र परिश्रम गर्न सके आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने एक उदाहरणीय युवा उद्यमी कृषक बन्न सफल हुनुभएको छ । उहाँले अहिले पाँचजनालाई रोजगारी दिनुभएको छ ।

जिल्लामा वार्षिक पाँच मेट्रिक टन मह उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत स्तुति आचार्य बताउनुहुन्छ । जिल्लामा अहिले चार हजार मौरीका आधुनिक घार रहेका छन् । बाह्य तथा आन्तरिक पर्यटक आउने हुनाले यहाँको उत्पादनले नपुग्ने र करिब २० देखि २५ प्रतिशत मह अन्य जिल्लाबाट आयात गरिँदै आएको उहाँको भनाइ छ ।

जिल्लाका ढिकुरपोखरी, ल्याङ्घलेल, सैमराङ, भाचोक, भरतपोखरी, बेगनास, थुमाकोडाँडा, पुम्दीभुम्दी, निर्मलपोखरी, किस्तीनाच्नेचौर, भदौरेतमागी, लामाचौर र घाचोक मह उत्पादनका पकेट क्षेत्र हुन् । जिल्लामा करिब रु एक करोड २० लाख बराबरको मह उत्पादन हुने गरेको बाली संरक्षण अधिकृत आचार्य बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...