बिरुवा बेचेर लाखौँ कमाइ



म्याग्दी। जिल्लाका कृषकले फलफूल र वन पैदावारका बिरुवा बेचेर लाखौँ आम्दानी गरेका छन् ।

सुन्तला, टिमुर, डालेघाँस र काष्ठ पैदावार बिरुवाको किनबेच फस्टाउँदै गएकाले कृषकको आम्दानी बढेको हो । सुन्तला र टिमुरका बिरुवा प्रतिवटा रु २० मा तथा अन्य वन पैदावारको प्रतिबिरुवा रु पाँचमा बिक्री हुन्छ ।

धौलागिरि गाउँपालिका– ७ हिलापोखरीका समबहादुर थापाले १५ हजार ४०० टिमुरका बिरुवा बेचेर रु तीन लाख आठ हजार आम्दानी गर्नुभयो । उहाँ एक दशकदेखि बिरुवा उत्पादन गर्दै आउनुभएको छ ।

बेनी नगरपालिका– ६ का मनकुमारी घर्तीले चार हजार ५००, चन्द्रबहादुर कुँवरले आठ हजार र रघुगंगा– ४ दग्नामका वीरबहादुर गर्वुजाले तीन हजार ९०० टिमुरका बिरुवा बिक्री गर्नुभयो । चारैजनाको निजी नर्सरीमा उत्पादन भएको ३१ हजार ८०० टिमुरका बिरुवा जिल्ला वन कार्यालयले खरिद गरेर सामुदायिक वन उपभोक्ता समूह र कृषकलाई वितरण गरेको छ ।

तोरीपानीका सागर बानियाँ र गुमानसिंह बानियाँले यसपाली निजी नर्सरीबाट दश हजार टिमुरका बिरुवा बिक्री गर्नुभयो । वन कार्यालयले ३० भन्दा बढी टिमुरका बोट रोप्ने नौजना कृषकलाई प्रतिबोट रु ४० का दरले रु एक लाख ९६ हजार प्रोत्साहन अनुदान उपलब्ध गराएको छ ।

खेर गईरहेको सामुदायिक वन र निजी खाली पाखो खरबारीमा टिमुर खेती विस्तार अभियान चलाएको सहायक वन अधिकृत राजकुमार ठाकुरले बताउनुभयो । टिमुरले बजार पाएका कारण उत्पादन बढाउन बिरुवा रोप्ने अभियान चलाइएको हो । यस वर्ष जिल्लाभर करिब तीस हेक्टर क्षेत्रफलमा टिमुरका नयाँ बिरुवा रोपिएको छ ।

बेनी नगरपालिका –९ तोरीपानी, नेप्टेचौर, धौलागिरि गाउँपालीका– ७ ताकम, रघुगंगा– २ भगवती, अन्नपूर्ण– ४ नारच्याङ, मालीकाको दरवाङ क्षेत्रमा टिमुर खेती विस्तार भएको छ । यस याममा विभिन्न सातजना कृषकको निजी नर्सरीबाट साधारण बिजु जातका २२ हजार ५०० सुन्तलाका बिरुवा प्रतिबोट रु २० मा बिक्री भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्लाको २८६ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हुने गरेको छ । यस वर्ष कार्यालयले २२ हजार ५०० बिरुवा अनुदानमा वितरण गरेको छ । कृषकले आफ्नै लागतमा थप तीन हजार बिरुवा रोपेका छन् ।

प्रतिक्रिया दिनुहोस
‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

बागमती प्रदेश अधिवेशन निर्वाचन सुरु

  नेकपा एमाले बागमती प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम बुधबारदेखि सुरु भएको छ ।

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको

चीन गए क्रिकेटर सन्दीप लामिछाने

  क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागेका छन् ।