अनाथका पिता कामेको संस्थाले सातौ बार्षिकोत्सव भब्य रुपमा मनाउने
पर्यटकको भारी बोक्दै ६ बर्ष अगाडिदेखि अनाथ बालबालिकाको भविष्य बनाउन लागि परेका कामे मगरको संस्था अहिले ६ बर्ष पुरा गरी सातौ बर्षमा प्रवेश गर्दै छ । उनले ६ बर्ष अगाडी स्थापना गरेको सोलु बाल कल्याण अनाथालय संस्था अहिले गोकर्ण उत्तरबाहीनिमा छ । उक्त संस्थाको भदौ २४ गते भव्य रुपमा बार्षिकोत्सव हुँदै छ ।
बार्षिकोत्सवको अवसरमा संस्थाले विभिन्न कार्यक्रम गर्ने योजना तय गरेको छ । प्रमुख अथितिको रुपमा उपराष्टपति नन्द बहादुर पुन उक्त कार्यक्रममा सहभागी हुने टुंगो लागिसकेको छ । सो कार्यक्रममा संस्थामा सहयोग गर्ने मित्रहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको संस्थाका अध्यक्ष कामे मगरले बताएका छन् । उनले कार्यक्रमको अबसरमा देश विदेशमा भएका मित्रहरुसंग सहयोगको अपिल पनि गरेका छन् । कार्यक्रमबाट उठेको रकम अनाथालयमा नै खर्च गर्ने उनी बताउँछन् ।
पर्यटकको भारी बोक्ने क्रममा बाबा आमा नभएका अनाथ बालबालिकाको दुखद् भविष्य देखेर उनले अनाथालय खोलेका हुन् । उनको अनाथालयमा अहिले २५ जना बालबालिका छन् । ति बालबालिको लागि गाँस, बास, कपास र पढाईको व्यवस्था आफ्नै संस्थामा नै गरेका छन् । ९ जना बच्चा बाट अनाथालयको सुरुवात गरेका उनले सुरुमा धेरै दुख कष्ट भोगेको बताउँछन् । उनी भन्छन् –आज भन्दा एक बर्ष अगाडि घर भाडा तिर्न नसकेर घरबेटीले ताला सम्म लगाईदिए, कुनै दिन चामल किन्न नसकेर पसलबाट उधारो ल्याएर बाल बच्चालाई बनाएर पनि खुवाएँ । तर ति दिन सम्झँदा अहिले धेरै खुसि महसुस हुन्छ । अहिले उनले आफैंले जग्गा लिएर घर बनाएका छन् ।