राज्यको राजस्व माथि चलखेल गरेका आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मालाई गैरकानुनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सर्वोच्च अदालतको बृहद् पूर्ण इजलासले विशेष अदालतको मिसिल मगाउन आदेश दिएको छ ।
न्यायाधीशहरु दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सारदा प्रसाद घिमिरे र अनिलकुमार सिन्हासहितको बृहद् पूर्ण इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मासहित कर फर्छ्यौट आयोगका पदाधिकारीहरुविरुद्ध दायर गरेको भ्रष्टाचारको मुद्दाको मिसिल मगाई सुनुवाईको लागि अर्को मिति तोक्ने आदेश दिएको हो ।
यसअघि कर फर्छ्यौट आयोग अर्ध न्यायिक वा प्रशासनिक निकाय भएको यकिन तथा आयोगका काम कारबाही अख्तियारको क्षेत्रधिकार भए–नभएकोमा संवैधानिक प्रश्न उठेको भन्दै सुनुवाई पूर्ण इजलासले गर्नुपर्ने आदेश न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले दिएको थियो ।सुनुवाई गर्ने क्रममा सर्वोच्च अदालतले विशेष अदालतलाई मुद्दा यथास्थितिमा राख्न आदेश पनि दिएको थियो ।