३९ औँ पुष्पलाल स्मृति दिवस शनिबार



नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुप्पलाल श्रेष्ठको ३९ औँ स्मृति दिवस शनिबार मनाइँदै छ ।

दिवसका अवसरमा पुष्पलालको सम्झनामा विविध कार्यक्रम गरिने नेकपा (एमाले)का कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी गराउनुभयो । उहाँका अनुसार पुष्पलाल स्मृति प्रतिष्ठानको आयोजनामा शनिबार कीर्तिपुरस्थित पुष्पलाल स्मृति उद्यानमा रहेको पुप्पलालको शालिकमा माल्यार्पण गरिने छ ।

विसं १९८१ असार १५ गते पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठको कोखबाट रामेछाप जिल्लाको भँगेरी गाउँमा जन्मिनुभएका पुष्पलालको निधन २०३५ साउन ७ गते भारतको नयाँ दिल्ली अस्पतालमा भएको थियो । तत्कालीन निरंकुश पञ्चायती व्यवस्थाले उहाँका शवसमेत नेपाल ल्याउन दिएको थिएन । विसं १९९७ मा दाजु गंगालाललाई राणाशासन फाल्न लागेको आरोपमा गोली हानी हत्या गरिएपछि दाजुको अभियानलाई पूरा गर्नका लागि उहाँले राजनीतिक यात्रा शुरु गर्नुभएको थियो ।

नेपालमा कम्युनिस्ट पार्टी स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पुष्पलाललाई नेपालभरिका कम्युनिस्ट पार्टीले सम्झने गरेका छन् । उहाँले स्थापना गरेको नेकपा अहिले एमाले, नेकपा(माओवादी केन्द्र), नेकपा(माले), नेकपा(संयुक्त), नेमकिपा, नेकपा(क्रान्तिकारी माओवादी), नेकपा, नेकपा(माक्र्सवादी), नेकपा(मसाल) लगायत पार्टीमा विभाजित छ ।
पुष्पलालले आफू कम्युनिस्ट बन्नुभन्दा अगाडि बनारस स्थापित नेपाली राष्ट्रिय काँग्रेस पार्टीको कार्यालय सचिव भएर काम गर्नुभएको थियो । पुष्पलालले विसं २००६ मा निरंजनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास (पुष्पलालको भनाइ अनुसार दुर्गादेवी (मोतीदेवीसमेत)सित मिली नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नुभएको थियो ।

काँग्रेस छाडेपछि चीनमा भइरहेको क्रान्ति र सफलता, विश्वका देशमा भइरहेको मुक्ति आन्दोलन र दोस्रो विश्व युद्धबारे समेत उहाँले अध्ययन गरेपछि नेपालमा पनि कम्युनिस्ट पार्टीको स्थापनाको आवश्यकता महसुस गरी नेकपा स्थापना गर्नुभयो । विसं २००५ मा माक्र्स एंगेल्सद्वारा लिखित ‘कम्युनिस्ट पार्टीको घोषणापत्र’को पहिलो पटक उहाँले नेपाली भाषामा अनुवाद गर्नुभयो । पुस्तकमा नेपाली समाजको वर्ग विश्लेषण गरिएको छ ।

त्यसको भूमिकामा उहाँले पूँजीवादी पार्टी सम्झौतापरस्त हुनाले प्रजातान्त्रिक क्रान्तिको नेतृत्व श्रमिक वर्गले गर्नुपर्ने र प्रजातन्त्रको चरित्र पनि चीनको जस्तो नयाँ खाले हुनुपर्छ भन्ने स्पष्ट रुपले उल्लेख गर्नुभएको छ । पार्टीको घोषणापत्रमा पुष्पलालले नेपाली क्रान्ति नयाँ प्रजातन्त्रको बाटाबाट अघि बढ्नुपर्ने कुरा अघि सार्नुभएको छ ।

नेपालको इतिहासलाई ऐतिहासिक–भौतिकवादी दृष्टिकोणले अध्ययन–अन्वेषण गर्न उहाँको योगदान रहेको छ । नेपाल कम्युनिस्ट आन्दोलनमा पटक पटक कारागार पर्नुभएका उहाँको सैद्धान्तिक दृढता, दूरदर्शिता, सिर्जनशीलता, क्रान्तिकारिता र व्यावहारिक नीति–निर्माण भुल्न सकिँदैन ।

प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्नुभएका उहाँ विसं २००० मा घरबाट भागेर निस्की पाल्पा र भैरहवा क्षेत्रमा पुगेर राणाशाही विरोधी प्रचारप्रसार गर्नमा जानुभएको थियो ।

विसं २००७ को जनक्रान्तिमार्फत सामन्तवादको पूर्ण उन्मूलन गर्नुपर्ने अभियानमा लाग्नुभएका पुष्पलाल क्रान्तिलाई अधुरै राखी काँग्रेस, राजा, राणा र भारतबीच दिल्ली सम्झौता भएपछि निराश बन्नुभएको थियो । विसं २०१५मा भएको निर्वाचनबाट स्थापित संसद्को हत्या गरिएपछि त्यसको पुनःस्थापनामा लाग्नुभएका पुष्पलाल प्रजातन्त्रवादी र साम्यवादीको संयुक्त जनान्दोलनबाट प्रजातन्त्र पुनःस्थापना गर्न सकिने मान्यता राख्नुहुन्थ्यो ।

संगठन कमजोर भए तापनि राजाको निरंकुशता सामु कहिल्यै झुक्नु नभएका उहाँ विसं २०३३ मा ‘राष्ट्रिय मेलमिलाप नीति’ भन्दै नेपाली काँग्रेसले नेपाल फर्कन आग्रह गर्दा त्यसको विरोध गर्नुभयो । नेपालको कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक संघर्ष, सामाजिक मुक्ति एवं राष्ट्रिय स्वाधीनताको आन्दोलनमा नेता पुष्पलालका योगदान अविस्मरणीय छ ।

राष्ट्रिय काँग्रेसमै हँुदा पुष्पलालले माक्र्सवादी साहित्यको अध्ययन थाल्नुभएको थियो । त्यस बेला नै उहाँले कम्युनिस्ट घोषणापत्र, सोभियत रुसमा व्यक्ति र समाज, माक्र्सवाद के हो, चिनियाँ क्रान्ति र चिनियाँ कम्युनिस्ट पार्टी, गाउँका गरिबलाई अपिलजस्ता पुस्तक नेपाली भाषामा उल्था गर्नुभएको छ । उहाँका नेपाली इतिहास, नौलो जनवाद, नेकपासम्बन्धी कृति प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्