म्याग्दीमा नेपालमै पहिलो रामायण पार्क बन्ने



हाम्रो इकोनोमि

बेनी नगरपालिकालाई नेपालकै नमूना नगरपालिका बनाउने अभियानअन्तर्गत म्याग्दीको बेनी नगरपालिकामा रामायण पार्क बनाई रावणको पनि मूर्ति राखिने भएको छ ।

रामायणमा बहुचर्चित खलपात्रका रुपमा चिनिएका रावणको जन्मस्थान पौलस्त्य पुलहाश्रम क्षेत्रमा सो पार्क बनाइने भएको हो । रामायण पार्क निर्माणका लागि नगरपालिकाले चालु आर्थिक वर्ष ०७४÷७५ का लागि नगर सभाबाट स्वीकृत गरिएको बजेटमा रु १० लाख विनियोजन गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न रामायण पार्क बनाइने नगरपालिकाले जनाएको छ ।

नेपालकै पहिलो र नयाँ तथा बहुचर्चित योजनाका रुपमा समेत चिनिएको पार्क बनाउन वडा नम्बर ६, ७ र ८ भित्र पर्ने बराहपाखो र आपारुख सामुदायिक वनअन्तर्गत हुलाकचोकबाट अर्थुङे जाने पुरानो खानेपानीको धारा रहेको स्थान प्रस्ताव गरिएको छ । प्रस्ताव गरिएको स्थानको स्थलगत अनुगमन तथा आवश्यक पूर्वाधार विस्तारका लागि प्रक्रिया अगाडि बढाउने नगरपालिकाले जनाएको छ ।

आन्तरिक तथा भारत र श्रीलंकाका हिन्दू धर्माबलम्बीलाई आकर्षित गर्न पार्कको अवधारणा ल्याइएको बेनी नगरपालिकाका कार्यकारी अधिकृत विश्वमित्र कुइँकेलले बताउनुभयो ।

“धार्मिक पर्यटकलाई आकर्षित गर्न सकिन्छ, बजेटअनुसार काम अगाडि बढ्छ”, उहाँले भन्नुभयो । बेनी नगरपालिका–५ पुलाचौरको पुलाहा आश्रम लंकाका राजा रावणको जन्मस्थान मानिन्छ । श्रीमद्भागवत, मत्स्य पुराण लगायतका ग्रन्थमा समेत पौलस्त्य क्षेत्रको वर्णन गरिएको म्याग्दीका पं नीलकण्ठ आचार्यले बताउनुभयो ।

पौलस्त्य ऋषिको तपोभूमिसमेत रहेको पुलाहाआश्रमको प्रवेशद्वारका रुपमा पार्कलाई विकास गर्ने योजना रहेको छ । विश्वका हिन्दू धर्मावलम्बीका पाँच ठूला धार्मिकस्थलमध्ये पुलाहा आश्रमसमेत पर्ने भएपनि प्रचारप्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको छ ।

पुलाहाआश्रम क्षेत्र विकास कोषले महायज्ञमार्फत मन्दिरको निर्माण गरेको भएपनि थप पूर्वाधारको अभाव देखिएको अवस्थामा रामायण पार्कले हिन्दू धर्मावलम्बीलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले नगर क्षेत्रलाई नमूना बनाउने बताउनुभयो । उहाँले नगरपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीयस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको भ्रमण लम्ब्याउने गरी पूर्वाधार निर्माणलाई प्राथमिकता दिइनेछ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...