१०३ बर्षीय वृद्धको भयो हिप प्रत्यारोपण



हाम्रो इकोनोमि

उमेरले एक सय ३ वर्ष पुगे चितवनका परमानन्द न्यौपाने। तर, उनले अझै जीवनप्रतिको आशा कमजोर बनाएका छैनन्। केही दिनअघि घरमै लडेर बायाँ हिप भाँचिएर थलिएका उनी पुरानै अवस्थामा आइपुग्ने रहर बोकेर ट्रमा सेन्टर आइपुगे। आफ्नो बुवाको अझै धेरै बाँच्ने आशालाई सन्तानले मर्न दिएनन् र हिप प्रत्यारोपणका लागि तयार भए।

केही दिनअघि मात्रै ट्रमाका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. श्रीकृष्ण गिरी नेतृत्वको टोलीले न्यौपानेको हिप प्रत्यारोपण गरिदियो। अहिले उनी पुनः उभिएर यताउति सर्ने अभ्यास गरिरहेका छन्। केही दिनमै डिस्चार्ज भएर घर फर्किंदैछन्।

शल्यक्रिया गर्दा उच्च जोखिम रहने उमेरका न्यौपानेको हिप प्रत्यारोपण पछि डा. गिरीले सोधे, ‘कत्तिको दुःखेको छ तपाईंलाई?’ कान कम सुन्ने उनले जवाफ दिए, ‘दुख्न त दुःखेको छ तर म मर्दिनँ।’

एक शताब्दी पार गरेर पनि जीवनप्रति यति सकारात्मक देखिएका न्यौपानेको हिप प्रत्यारोपण सफल भएकोमा ड. गिरीको टिम खुसी छ।

१०३ वर्षको उमेरमा पनि उनलाई अन्य रोगले थलाएको छैन। ‘उमेर पाको भएकाले मुटु, छाती, किड्नी सबैतिर जोखिम त छ, तर तिनका कारण थलिनुभएको रहेनछ,’ डा. गिरीले भने।

न्यौपानेको लोभलाग्दो दीर्घजीवनको सूत्र के होला त? उनकी जेठी छोरी इन्द्रदेवी अधिकारीले भनिन्, ‘सात्विक र थोरै भोजन।’ उनले घरपरिवार मात्रै होइन, गाउँभरिका मान्छेलाई भनिरहेका हुन्छन् रे, ‘८ गाँस खानाले मान्छेलाई प्रसस्त हुन्छ ।’ बेला–बेला खाने र सकेसम्म भात मात्रै होइन, सागपात, दाल, दहीजस्ता कुरा सँगै मिसाएर खाने उनको बानी रहेको छोरी अधिकारीले बताइन्। न्यौपानेका सात छोरा र दुई छोरी छन्।

न्यौपानेले आँखा कम देख्ने र कान कम सुन्ने भएपछि एक वर्षअघि देखि बाहिरफेर हिँडडुल गर्न छाडेका छन्। सत्संगमा लामो समयदेखि सक्रिय उनी त्यसअघि प्रवचन दिँदै गाउँ–गाउँ पुग्ने गरेका थिए।

उमेरमा कामधन्दामा निकै फुर्तिला न्यापानेले उमेर ढल्के पनि आफ्नो सक्रियता घटाएनन्। खानपानमा विशेष सावधानी उनको दीर्घजीवनको रहस्य रहेको अनुमान उनका माइला छोरा धर्मनाथ न्यौपानेको छ।
स्वस्थखबर

प्रतिक्रिया दिनुहोस
सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

इरानले युएई र कतारमा हान्यो ड्रोन र मिसाइल

    इरानले युएई र कतारमा हवाई आक्रमण गरेको छ । इरानी मिसाइल...