सर्वोच्च अदालत परिसरमा सोमबार सबै जसो कर्मचारी हातमा फूल माला लिएर मुख्य प्रवेशद्धार अगाडि लामबद्ध थिए । केही क्षणमा देशको सर्वोच्च न्यायिक निकायले आफ्नो २७ औँ प्रमुख अर्थात प्रधानन्यायाधीशलाई कार्यलयमा स्वागत गर्दै थियो । त्यसैले सबै तहका कर्मचारी चर्को घामका बाबजुत पनि लाममा लागेका थिए ।
अदालतलाई प्राप्त पूर्व सूचनामा राष्ट्रपति कार्यलयमा शपथ सकेर कार्यभार सम्हाल्न नवनियुक्त प्रधानन्यायाधीश रामशाहपथतर्फ निस्किसकेका थिए । सबै कर्मचारी अदालतको मुख्य प्रवेशद्धारबाट नवनियुक्त प्रधानन्यायाधीशको सवारी कति बेला आउला भन्दै हेर्दै थिए ।
एउटा गाडी फुत्त अदालत परिसरमा छि-यो । सबैजना प्रधानन्यायाधीश आए झै गरी झसङ्ग भएर गाडी तिर हेरे तर गाडीबाट निश्किए चूडामणि शर्मा । प्रधानन्यायाधीशको स्वागतमा बसेका अदालतका कर्मचारीहरुमा एकाएक हाँसोको फोहरा छुट्यो तर कसैले केही बोलेनन् ।
भ्रष्ट्राचार अभियोगमा अख्तियारको हिरासतमा रहेका चूडामणि शर्मालाई बन्दी प्रत्यक्षीकरण पेसी बहसकालागि अख्तियार टोलीले सोमवार अदालत पु-याएको थियो । तर संयोगले नयाँ प्रधानन्यायाधीश कुरी रहेका बेलामा शर्मा लिएर अख्तियार सर्वोच्च पुगेको थियो ।
अख्तियार हिरासतमा दुर्व्यवहार भएको भन्दै चूडामणि शर्मा पत्नी कल्पना शर्मा उप्रेतीद्धारा दायर बन्दीप्रत्यक्षीकरण रिटको आज सर्वोच्चमा पेशी बहस तोकिएको थियो । न्यायाधीशद्वय चोलेन्द्र शम्शेर ज.ब.रा र प्रकाशमान सिंह राउतको संयुक्त इजलाशमा बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाई हुँदैछ ।