राजपाका नेता भन्छन- एमाले एक नम्बरी र कांग्रेस माओबादी दुई नम्बरी हुन्,अझ माओबादी त ठग हो



–राकेश मिश्र

सहमहामन्त्री, राष्ट्रिय जनता पार्टी नेपाल

नेपाल तथा भारतको सञ्चारमाध्यममा लामो समयसम्म काम गरेर राजनीतिको अनुभव लिनु भएका राकेश मिश्र अहिले पूर्णकालिन राजनीतिमा लाग्नु भएको छ ।
दोस्रो सविधानसभा चुनावपछि महन्थ ठाकुरको तत्कालिन तराई मधेश लोकतान्त्रिक पार्टीमा सक्रिय हुनुभएका एकवर्ष अगाडि भएको पार्टी महाधिवेशनबाट सहमहामन्त्रीको जिम्मेवारी पाउनु भएका राकेश मिश्र छोटो समयमा आफ्नो राजनीतिक पहिचान बनाउन सफल हुनुभएको छ ।
राजनीतिकलाई समाजको विकाससँग जोडेर हेर्ने राकेश मिश्रले वर्तमान राजनीतिक विषयमा के सोचिरहनु भएको् छ, प्रस्तुत छ उहाँसँग सहारा टाइम्सले गरेको कुराकानीको मुख्य अंश हामीले सान्दर्भिक ठानेर प्रस्तुत गरेका छौ।

सरकारसँग वार्ता जारी रहेकै अवस्थामा आन्दोलनमा जाने बाध्यता कसरी आइ लाग्यो ?
–आन्दोलन हाम्रो बाध्यता हो रहर होइन । हामी पनि चाहन्छौ कि सरकारले माग पूरा गरि दियोस् र हामी पनि चुनावमा भाग लिऔं । हामी लोकतन्त्रमा विश्वास गर्ने संसदीय राजनीति गर्ने राजनीतिककर्मी हौं । हामी चुनावबाट टाढा रहन सक्दैनौ । तर राज्यले जानी जानी हामीलाई चुनावबाट टाढा राख्ने षड्यन्त्र गरिरहेको छ । म धेरै टाढा जान चाहन्न । २०७३ साउन १९ गतेको कुरा मात्र कोट्याउन चाहन्छु ।

माआवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बन्नुथियो । माओवादी र काँग्रेस गठबन्धनका नेताहरुले हामीसँग तीन बुँदे सम्झौता गर्नुभयो । त्यो सम्झौता अनुसार सविधान संशोधन गर्ने, सहिद घोषणा गर्ने, बन्दी रिहाय, मुद्दा फिर्ता, क्षतिपूर्ति, छानविन आयोग बनाउने जस्ता कार्य तत्कालै गर्ने थियो । प्रचण्डले त यहाँसम्म भन्नुभएको थियो यी सबै माग एक महिनाभित्र पूरा गर्छु । तर उहाँ १० महिनासम्म सरकारमा बस्नुभयो ।

‘केही गरे जस्तो देखाउनुभयो तर गर्न सक्नुभएन । उहाँले त सविधान संशोधन नभएसम्म कुनै पनि चुनाव नहुने कुरा सार्वजनिक रुपमै भन्नुभएको थियो तर आज गर्छु भोली गर्छु भन्दा भन्दै उहाँले आफ्नै कार्यकालमा एकचरणको चुनाव पनि सम्पन्न गर्नुृभयो तर सविधान संशोधन त के सहिद घोषणा, मुद्दा फिर्तालगायतका कार्य पनि गराउन सक्नु भएन । अहिले त्यही माग पूरा गर्ने भन्दै शेरबहादुर देउवा सरकारको नेतृत्व लिनुभएको छ । उहाँले पनि विभिन्न कमेन्टमेन्ट गरेर प्रधानमन्त्री बन्नु भएको छ । कमिन्टमेन्ट पुरा गर्छु भन्नुभएको छ । तर उहाँले पनि केही गर्नुहुन्छ भने विश्वास छैन, त्यसैले हामी आन्दोलनमा जाने निर्णय गरेका छौ ।

के कमिन्टमेन्ट गर्नुभएको छ उहाँले ?
–सविधान संशोधन, जनसँख्याको आधारमा स्थानीय तहको सँख्या थप्ने, जनसँख्याको आधारमा राज्यसभा गठन गर्ने, नागरिकताको विषय, समावेशी समानुपातिकलगायतका विषय पुरा गर्ने कमिन्टमेन्ट उहाँहरुले पटक पटक गर्नुभएको छ । ती कमिन्टमेन्टहरु पूरा होस् भनि हामी चाहन्छौ । तर उहाँहरुले टार्ने र सार्ने काम मात्र अहिलेसम्म गर्नुभएको छ ।

उहाँहरुले गरेको कमिन्टमेन्टमध्ये लगभग लगभग सबै पुरा गरेको जस्तो देखिन्छ, सबैमा केही नकेही गरेको देखिन्छ, सविधान संशोधनका लागि विधेयक पेस भएको छ, स्थानीय तहको सँख्या थप्ने पनि निर्णय गरेको छ, सहिद घोषणा, क्षतिपूर्ति, घाइतेलाई उपचार तथा मुद्दा फिर्ताको बारेमा पनि सरकारले निर्णय गरेको छ, त्यसलाई कार्यान्वयन गर्न कही प्राविधिक समस्या त कहि राजनीतिक समस्या देखिएको छ भने तपाईहरु कसरी भन्नुहुन्छ कमिन्टमेन्ट पूरा भएको छैन ?
–हो, त्यो कुरा सही हो कि उहाँहरुले कमिन्टमेन्ट गरेको हरेकमा टच गर्नुभएको छ । तर कम्पलिट कुनै गर्नुभएको छैन । सहिद घोषणा गर्नुभयो तर हामीले दिएको लिस्ट अनुसार सबैलाई गर्नुभएन । मुद्दा फिर्ता लिने निर्णय गर्नुभयो तर कार्यान्वयनमा ल्याउनु भएन । क्षतिपूर्ति दिने कार्य गर्नुभयो तर सबैलाई गर्नुभएन । घाइतेलाई उपचार खर्च दिने काम भयो तर सबैले पाएको छैन । स्थानीय तहको सँख्या बढाउने काम भएको हो तर जनसँख्याको आधारमा गर्नुभएको छैन । सविधान संशोधन विधेयक संसदमा लगिएको छ तर पास गराइरहनु भएको छैन । अब तपाई नै भन्नुस् हाम्रो कुन माग पूरा भएको छ । एउटा पनि माग पूरा गरेर हाम्रो हातमा दियोस् न कि ल लिनुस् यो तपाईहरुको माग पूरा भयो । जनतालाई भ्रमित पार्नका लागि माहिर उहाँहरुले माग पूरा गरेको जस्तो देखाउने अनि पछि यो भयो त्यसैले त्यो माग पूरा गर्न सकिएन, त्यो भयो त्यही भएर यो माग पूरा गर्न सकिएन भनि बहाना बनाउनु हुनेछ र बनाई पनि रहनु भएको छ ।

हामी वार्तामा जाँदा उहाँहरुले हामीले त गर्न खोजेको हो सर्वोच्चले रोकिदियो भने के गर्ने ? हामीले त गर्ने खोजेको हो प्रतिपक्षि दलले मानेनन भने के गर्ने ? हामीले त गर्न खोजेको हो त फलानो दलले मानेन भने के गर्ने ? भनि भनिरहनु भएको छ । तर हाम्रो एउटै जवाफ हुन्छ त्यो त तपाईहरुको समस्या हो तपाईहरुले हाम्रो माग कसरी पूरा गर्नुहुन्छ गर्नुस् ।

आन्दोलनकारीले राखेको कुनै पनि माग शतप्रतिशत पूरा हुँदैन, दुई पक्षबाट कहि नकही कम्परमाइज गर्नुपर्छ होइन ?
–नयाँ सविधानमा ८६ ठाउँमा त्रुटीहरु छन् । ती सबैलाई सच्याउन हामीले भनेका छौं तर अहिले ती सबै सम्भव नभएको कारणले मुख्य मुख्य मागमा हामी आएका छौ । यो भन्दा बढी कम्परमाइज अरु के गर्नु तपाई नै भन्नुस् त । तपाईहरुलाई थाह छ हामीले आत्मनिर्णयको अधिकारसहित एकमधेश एक स्वायत्त प्रदेशको माग गर्दै आन्दोलन गरेका थियौं । पहिलो मधेश आन्दोलनमा त्यसलाई स्वीकार गरेको थियो । अन्तरिम सविधानमा पनि उल्लेख गर्यो तर पछि त्यही ठूला दलका नेताहरुले त्यसलाई अस्वीकार गरेपछि हामी एक मधेश प्रदेशबाट दुईटा प्रदेशमा झर्यौं ।

अहिले मधेशमा दुईटा प्रदेश दिन पनि मानेका छैन । अहिले नै हेर्नु हुन्छ भने चुनावमा भाग लिनका लागि सविधान संशोधन पछि गरेपनि हुने भो अहिले चुनावको वतावरण बनाउनका लागि सहिद घोषणा, मुद्दा फिर्ता, बन्दी रिहाय, क्षतिपूर्ति, घाइते तथा अपाङ्गलाई व्यवस्थापन गर्ने जस्ता कार्य गर्न भनेका छौ, के यो कम्परमाइज होइन ? त्यत्रो हाइटमा पुगिसकेको आन्दोलनलाई रोकेर सहमतिमा आउन हामी बाध्य भयौं के त्यो कम्परमाइज होइन ? हामी कति कम्परमाइज गर्ने, त्यसको कुनै साइज छ भन्ने भन्नुस् ।

कम्परमाइज गर्दा गर्दै अब त भाँचिने बेला भइसकेको छ । हामी कम्परमाइज गर्न तयार नभएको भए बोलाउने वित्तिकै वार्तामा जाने थिएनौ सायद । तर हामी जस्तोसुकै आन्दोलनमा भएपनि सधै वार्तामा सहभागि हुन्छौं यो पनि एक प्रकारको कम्परमाइज नै हो ।

सविधान संशोधन बाहेक अरु मागहरु पूरा भयो भने तपाईहरु चुनावमा भाग लिनुहुन्छ ?
–त्यो त हामीले भनि नै सकेका छौ । यदि हाम्रा न्युनतम माग पूरा गरि चुनावको वतावरण बनायो भने हामी चुनावमा जान तयार छौ । तर हामी सविधान संशोधनको विषयलाई छाडेका छैनौ । स्थानीय तहको चुनावमा भाग लिनका लागि त्यससँग सम्बन्ध राख्ने मागहरु पूरा गर्नुपर्छ । स्थानीय तहको सँख्या बढाउने, सहिद घोषणा, मुद्दा फिर्ता, बन्दी रिहाय, क्षतिपूर्ति, घाइते तथा अपाङ्गलाई व्यवस्थापन गर्ने जस्ता कार्य तत्काल गर्नुपर्छ किनभने यो स्थानीय तहसँग जोडिएका विषय हुन् । हाम्रा कतिपय नेता तथा कार्यकर्ता थुनामा छन्, हामी कुन मुख लिएर चुनावमा भाग लिन्छौं, हाम्रा स्थानीय तहमा उम्मेदवार हुने खालका कतिपय नेता तथा कार्यकर्तामाथि मुद्दा लागेका छन् उहाँहरु भागि भागि हिड्नुहुन्छ, हामी उहाँहरुलाई छाडेर चुनावमा कसरी भाग लिनसक्छौं । आन्दोलनमा घाइते भएकाहरु उपचार नपाएर छटपटाइरहेका छन् हामी चुनावमा कसरी भाग लिन्छौ । त्यसैले हामी भनेका छौ यो चरणमा यी मागहरु पूरा गर्नुस् हामी चुनावमा भाग लिन्छौ अरु माग अर्को चरणमा गर्नुहोला किनभने केन्द्रीय तथा प्रदेशको चुनाव बाँकी नै छ । त्यो बेला त्यससँग सम्बन्धित मागहरु पूरा गर्नुपर्छ ।

अहिले आन्दोलनको जुन राप र ताप देखिएको छ त्यसलाई आन्दोलनको रुपमा सदुपयोग गर्दा हुँदैन ?
–हो हामी चाहन्छौ कि जुन रापताप आन्दोलनको छ त्यसलाई चुनावमा सदुपयोग गरौं तर राज्यले त्यो चाहेको छैन । राज्यले मधेशवादी दल चुनावमा भाग नलियोस् भने चाहेका छन् । हामीले भनिरहेका छौ कि हाम्रो न्युनतम माग पूरा गर्नुस् हामी चुनावमा भाग लिन्छौ तर राज्यले त्यो माग पूरा गर्न चाहेका छैन । चुनाव त आइरहने गइरहने चिज हो । महत्वपूर्ण कुरा त मधेशको माग, मधेशको अधिकार हो । हामीलाई त्यो प्राप्त भयो भने मात्र चुनावमा जाने कुरा हुन्छ ।

भन्छन्, पहिलाको जस्तो यसपालीको आन्दोलन सजिलो छैन, राजपा नेपालबाहेक अरु सबै दल चुनावमा सहभागि हुने भएकाले आन्दोलनको शक्ति बाँडिनेछ र त्यसले आन्दोलनमा असर गर्नेछ भनि टिप्पणी भइरहेको छ, यसको बारेमा के धारणा छ ?
–अहिले पनि अधिकारकै लागि आन्दोलन भइरहेको छ, कोही चुनावमा लड्ने वा उम्मेदवारी दिनका लागि गर्ने आन्दोलन होइन । त्यसैले यसमा सम्पूर्ण मधेशी जनताको सहभागि हुने विश्वास हामीले लिएका छौं । को कुन पार्टीमा छ, कसले कहाँ मत हाल्छन् त्यो ठूलो कुरा होइन तर अधिकारका लागि हुने लडाईमा सबै सडकमा हुन्छ त्यो कुरा मधेशले पटक पटक प्रमाणित गरिसकेका छन् । यसपटक पनि हेर्नुहोला । निर्वाचनमा भाग लिने दलका नेता तथा कार्यकर्ताहरु पनि यो अधिकारका लागि हुने आन्दोलनमा सहभागि हुनेछ । बरु चुनावमा भोट खसाल्न किन नजाओस् तर लडाईमा राजपा नेपालका साथ हुनेछ भनि विश्वास हामीलाई छ । आन्दोलनको समयमा मधेशी जनता जति सडकमा हुन्छ, त्यो अनुसारका मत मधेशी दलले पायो भने सबभन्दा ठूलो दल बन्नेछ तर आन्दोलनमा साथ दिएका, सहादत दिएकाहरु पनि मधेशी दललाई मत दिएका हुँदैन । यसबाट पनि पुष्टि हुन्छ कि आन्दोलनका नाममा सबै मधेशी एक हुन्छ । हामी चुनाव हुन नदिनका लागि सबै शक्ति प्रयोग गर्छौ ।

यत्रो विरोधका बावजुद पनि चुनाव भयो भने त्यसपछिको रियाक्सन के हुन्छ ?
–हामी शान्तिपूर्ण आन्दोलन गरिरहेका छौं । चुनाव रोकेर भएपनि हाम्रो समस्या समाधान होस् भनि भनिराखेका छौं । सरकारले जवर्जस्ती चुनाव गराउन खोजे त्यसको जिम्मेवारी स्वयं सरकार नै हुन्छ । यस्तो नहोस् कि अहिले महाभारतमा पाण्डले पाँच गाउँ मागेका थिए पछि पुरै हस्तिनापुर गाउँ नै गुमाउनु परेको थियो । अब पहिलोको जस्तो मधेश रहेन । मधेशले यो राज्यमा बराबरीको हिस्सेदारी खोजेका छन् ।

विगत १० वर्षदेखि तपाईहरुले यस्तै आन्दोलन र यस्तै वार्ता गर्दै आउनु भएको छ तर हालसम्म केही हात नलागेको दावीहरु भइरहेको छ, यस्तै आन्दोलन गर्दै मान्छे मार्ने काम कहिलेसम्म हुन्छ ?
–हामीले लोकतान्त्रिक तरिकाले माग पूरा गराउन चाहेका छौ । त्यसैले यति समय लागेको छ । जुन दिन हाम्रो विश्वास टुट्छ, यो लोकतान्त्रिक पद्धतिबाट हाम्रो माग पूरा हुँदैन भनि हामी लाग्छ त्यो दिन मधेशी जनताले अर्कै तरिकाले अर्कैै आन्दोलन गर्छ । तर त्यो अवस्था नआवोस् भनि चाहेका छौ । हामीलाई विश्वास छ कि शान्तिपूर्ण आन्दोलनबाट नै हाम्रो माग पूरा हुनेछ ।

आन्दोलन जेजस्तो कारणले भएपनि मधेशमा हुने क्षतिको जिम्मेवारी तपाईहरुले लिनु हुन्छ कि लिनु हुन्न ?
–मधेशको आधिकारका लागि सहादत दिएकाहरु सबै हाम्रो लागि पुजनीय नै हुनुहुन्छ । मधेशका लागि उहाँहरुले दिएको सहादतको सम्मान जति गरेपनि कम हुन्छ । उहाँहरुको सम्मानको कदर मधेशले जहिले पनि गरिरहने छ । उहाँहरुको सम्पूर्ण जिम्मेवारी हामीले लिनै पर्छ । अहिले आन्दोलन चलिरहेको कारणले सहिदहरु प्रति केही ध्यान नपुगेको होला त्यो छुट्टै कुरा हो तर हामी उहाँहरुप्रति अभारि छौ ।

अहिलेसम्म मधेशमा जतिपनि आन्दोलन भएका छन् ती सबै काँग्रेसको पालामा भएको हो, जेजति सम्झौताहरु भएका छन् ती सबै काँग्रेससँग मात्र भएको छ भने मधेशवादी दलले एमालेलाई नै किन प्रधानशत्रु मानिरहेका छन् ?
–हाम्रो प्रधानशत्रु कोही पनि होइन । हाम्रो लागि तीनटै दल उस्तै हो । तर एमालेको मधेशी नीति र मधेशी प्रतिको व्यवहारले एमालेप्रति एमाले चिढिएको हो । एमाले क वर्गको बेइमान हो भने काँग्रेस ख वर्गको बेइमान हो, माआवादी केन्द्र ख वर्गको बेइमान हो । बेइमान तीनटै हो । आन्दोलन उत्कर्षमा रहेको एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेशीलाई होच्याउने खालका शब्दहरु प्रयोगहरु गर्नुभयो । शब्दवाणले मधेशलाई छियाछिया बनाएको छ । त्यसैले मधेश एमालेप्रति चिढिएको हो । तर काँग्रेस पनि कम दोषी होइन । विगतदेखि काँग्रेसले एमालेलाई झुलाएकै हो भुलाएकै हो । पछिल्लो समय माओवादी केन्द्रले पनि मधेशसँग राम्रो व्यवहार गरेको देखिएन । मधेशीलाई ठग्न र झूठो आश्वासन दिने काम माओवादी केन्द्रको तर्फबाट भएकै हो । त्यसैले मधेशका लागि तीनटै खतरनाक हुन् ।

एमाले क वर्गको बेइमान हो भन्नुभयो तर ख वर्गको बेइमान काँग्रेसलाई लालन पालन तथा पोषण गर्ने काम त तपाईहरुबाट नै भइरहेको छ अर्थात पटकपटक मत दिएर प्रधानमन्त्री बनाएकै हो नि ?
–यो कुरा ठिक भन्नुभयो । तर कहिले काही युद्धमा एक दुश्मनलाई हराउन अर्को दुश्मनलाई प्रयोग गर्न सक्नु पनि युद्ध रणनीति हो । यदि ख लाई सहयोग गरेर क लाई हराउन सकिन्छ भने त्यो गर्नु सही हो । किनभने बेइमानलाई परास्त गर्न अरुसँग सहयोग लिनुपर्छ कहिले काही राजनीतिकमा यस्तो परस्थिति आउँछ ।

प्रतिक्रिया दिनुहोस
माथिल्लो तामाकोशी १ अर्ब ३९ करोड नोक्सानीमा

  माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले साउनदेखि चैत मसान्तसम्म ९ महिनाको अवधिमा ६ अर्ब

समानीकरण अनुदान बढाउदै लैजान्छौँ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले वित्तीय समानीकरण अनुदान घटाउने पक्षमा सरकार नरहेको बताएका छन्। प्रदेश

प्रधानमन्त्री लाई विश्वासको मत नदिन कांग्रेसको निर्देशन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिन आफ्ना

सभापति देउवा भन्छन गठबन्धनमा समस्या छैन

  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्तागठबन्धन दलबीच कुनै समस्या नरहेको बताउनुभएको छ